२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा विदेश पलायन हुँदा भेडापालन पेसा सङ्कटमा



file photo
अ+ अ-

रुकुम । रुकुमपूर्वको तकसेराका करबहादुर बुढा यतिबेला भेडा लिएर रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ को ठूलीदहमा पुग्नुभएको छ । कात्तिक लागेसँगै पाटनबाट झरेका भेडा ठूलीदहमा छन् । करबहादुरसँगै तीन घरपरिवारले ठूलीदहमा भेडा ल्याएर बसेका हुन् । रुकुमपूर्वको मगर समुदायको मुख्य पेसा भनेकै भडापालन हो ।

करबहादुरले १५ वर्षको उमेरमा आफ्नो बाजेसँगै भेडा गोठालो जाने गरेको बताउनुभयो । उहाँको बाजेपछि बुवाले भेडा पाल्नुभयो । भेडाको बथान लिएर दाङ र सुर्खेतसम्म पनि झर्नुभयो । बाजे, बुवाले धानेको पेसा अहिले करबहादुरले धान्नुभएको छ ।

करबहादुरका छोरा अहिले गाउँमा छैनन् । छोराहरुले बाजे र बुवाले गरेको पेसा छाड्दै गएका उहाँले बताउनुभयो । आफू १५ वर्षको हुँदा बाजेसँग भेडा गोठालो गएको भए पनि छोराहरु आफूसँग कहिले गोठालो नगएका करबहादुरको भनाइ थियो । “कुनै समय १५ सय भेडा हुन्थे । अहिले मुस्किलले चार सय छन्”, उहाँले भन्नुभयो ।

युवाले गाउँ छाड्ने प्रवृत्तिका कारण यहाँको मगर समुदायको भेडापालन पेसा लोभ हुने हो कि भन्ने चिन्ता जेष्ठ नागरिकलाई छ । “हाम्रा बाजे, बाले सुर्खेत, दाङसम्म भेडा झार्नुहुन्थ्यो । त्यहीबाट च्याङ्ग्रालाई नुन, चामल बोकाएर वैशाख, जेठमा फेरि पाटनतिर फर्कनु हुन्थ्यो । अहिले हामीले मुस्किलले यहाँसम्म ल्याएर आएका छौँ । छोरा कोही सहर त कोही विदेश गएका छन्”, उहाँले भन्नुभयो, “अबका युवाले हामीले धानेको यो पेसा छाड्दै गएका छन् ।”

तकरसेराका तेजमाया बुढा पनि भेडा लिएर ठूलीदह पुग्नुभएको छ । उहाँको छोरा पढाइ गर्न भर्खरै अमेरीका जानुभयो । उहाँ पनि सानै उमेरदेखि भेडा गोठालो जाने, पाटनमा रमाउन सिक्नुभयो । अहिले पनि भेडा पालन व्यवसाय छोड्न सक्नुभएको छैन ।

“कात्तिकमा ढोरपाटन पाटनमा रहेका भेडा रोल्पाको थवाङ हुँदै यहाँ ल्याएका हाँै । सधैँ म भेडाको पछिपछि हिँड्छु । छोराछोरी भेडाको गोठालो गर्न मान्दैनन् । मेरो छोरो भर्खर पढन् भनेर अमेरीका गएको छ”, तेजकुमारीले भन्नुभयो । भेडापालनबाट मनग्य आम्दानी नभए पनि आफ्नो गुजारा चलाउन सकिने उहाँको भनाइ छ ।

“भेडाहरु छुट्टै बिक्री गर्ने भन्ने हँुदैन । भेडाको ऊन निकालेर केही सामग्री बनाउँछौँ । त्यही सामग्री बचेर आम्दानी गर्ने गरेका छौँ”, तेजकुमारीले भन्नुभयो, “कुनै समय तरसेराबाट १५ घरपरिवार भेडा लिएर रुकुमपश्चिमको ठूलीदहसम्म पुग्ने गर्दथ्यो । अहिले भने तीन घरपरिवार मात्रै भेडा लिएर ठूलीदह आएका छन् ।”

अधिकांश युवा विदेश पलायन हुँदा भेडापालन व्यवसाय लोभ हुने चिन्ता भेडापालक किसानको छ । गाउँमा पछिल्लो पुस्ताले भेडा गोठालो गर्न मान्दैनन् । सरकारले पनि भेडा पाल्दै आएका किसानका लागि प्राथमिकता नदिएको उनीहरुको गुनासो छ ।

भेडापालनका लागि फर्म दर्ता गरेको भए पनि किसानले व्यावसायिकरुपमा भेडापालन नगरेको कलम बुढाको भनाइ छ । “सरकारले भेडापालन व्यवसायलाई व्यवस्थित गर्ने भनेको छ । किसानले परम्परागत शैलीमा भेडापालन गर्दै आएका छन्”, उहाँले भन्नुभयो ।

अहिले पनि भेडालाई जङ्गल डुलाउने, रैथाने जातका पालन गर्ने, भेडाको ऊन काट्दा परम्परागत औजारको प्रयोग गरेको पाइन्छ । रासस