काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २१.५८ अंकले ओरालो लागेको छ । यो दिन ०.८६ प्रतिशत घटेर २ हजार ४८५ .०९ विन्दुमा पुगेको छ ।
यो दिन २ सय ११ वटा कम्पनीको १ करोड १७ लाख ७८ हजार ८२० कित्ता शेयर ५३ हजार ९७० पटकमा रू. ५ अर्ब ५४ लाख ६६ हजार ४८० बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी नेपाल इन्फ्रास्टक्चर बैंकले कारोबारको सर्वाधिक हिस्सा ओगटेको छ । उक्त कम्पनीको रू. ४२ करोड ७८ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
यो दिन सबैभन्दा बढी चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९२ प्रतिशतले वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य आइतबार प्रतिकित्ता रू. ६६५ पुगेको छ । दोस्रोमा नेपाल हाइड्रो डेभलपरको शेयर मूल्य ९.८३ प्रतिशतले वृद्धि भएको छ । उक्त कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्कषण बढेको हो ।
कम्पनीले आइतबार नै १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो दिन कारोबारमा आएका १३ वटा समूहमध्ये जलविद्युत् समूहको परिसूचक ०.९२ प्रतिशत र होटल एण्ड टुरिजम समूहको परिसूचक २.२४ प्रतिशतले वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।
सबैभन्दा बढी व्यापार समूहको परिसुचक ४.६८ प्रतिशतले घटेको छ । शेयर मूल्य सबैभन्दा बढी घट्नेमा नेशनल हाइड्रोपावर कम्पनीको ५.५२ प्रतिशत घटेको हो । त्यसैगरी दोस्रोमा साल्ट टेड्रिङ कर्पोरेशनको शेयर मूल्य ५ प्रतिशतले घटेको छ ।