२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’

छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’
अ अ+ अ-

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–३ छेपारेका १६ वर्षीय पुजन र १४ वर्षीय जीवन विश्वकर्माको आँखाबाट आँसु ओभाएका छैनन् ।

यही असोज ११ गते बिहान घरसँगै पहिरोमा पुरिएर बेपत्ता भएकी आमा कुमारी वली विश्वकर्माको सम्झनाले उनीहरूलाई दिनरात पिरोलिरहेको छ । आमाको शवसमेत फेला नपरेपछि २६ असोजमा कुशको शव बनाएर दाहसंस्कार गरियो । अहिले दुवै दाजुभाइ आमाको किरियामा छन् ।

परिवारको सुखद भविष्यको सपना बोकेर दुई वर्ष छ महिना प्रयासपछि दुई महिनाअघि मात्रै रोजगारीका लागि ग्रिस पुग्नुभएका कुमारीका श्रीमान् ओमबहादुर विकले पत्नीको अन्तिम अनुहारसमेत देख्न पाउनुभएन । दुई छोराले आमाको माया गुमाए । परिवारको सहारा बनेकी कुमारीको निधनले घरपरिवारलाई मात्रै होइन, सिङ्गो बस्तीलाई शोकमा डुबाएको छ ।

बेनीको कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत पुजन र जीवनका लागि आमाको अभाव जीवनकै ठूलो पीडा बनेको छ । कलिलो उमेरमै आमाको काख गुमाएका उनीहरूको भविष्यमा परेको यो चोट शब्दमा व्यक्त गर्न कठिन छ ।

कुमारीका ससुरा जीतबहादुर र सासू जीतमायाले पहिरोले घरबाससँगै परिवारको सहारा पनि खोसेको बताउनुभयो । “बुहारीसँगै घर र दुईवटा गोठ पहिरोले बगायो”, आँसु झार्दै जीतबहादुर दम्पतीले भन्नुभयो, “घर धानेकी बुहारी रहिनन् । वर्षौँको मिहिनेत र पसिनाले बनाएको घरगोठ पनि रहेन ।”

असोज ८ गतेदेखि परेको अविरल वर्षापछि छेपारे बस्तीमाथिको पाखोबाट पहिरो खस्न थालेको थियो । बेनीमा बस्दै आएकी कुमारी १० गते साँझ छोराहरूसँग गाउँ पुग्नुभएको थियो । भोलिपल्ट बिहान घरका सामान निकालेर सुरक्षित स्थानमा सार्ने क्रममा अचानक ठूलो पहिरो खस्यो । सामान जोगाउने प्रयासमा रहनुभएकी कुमारी त्यसैमा पुरिनुभयो ।

“सानो पहिरो खस्न थालेपछि अघिल्लो दिनदेखि नै सामान सारिरहेका थियौँ”, आफन्तसमेत रहनुभएका छिमेकी जगबहादुर विकले भन्नुभयो, “१६ दिनसम्म भेटिन्छिन् कि भनेर दिनहुँजसो खोज्यौँ । नभेटिएपछि धार्मिक विधिअनुसार कुशको शव बनाएर दाहसंस्कार गर्यौँ ।”

पहिरोबाट भागेर कुमारीका दुवै छोरा र सासू जीतमायाले ज्यान जोगाउनुभयो । कुमारीकी छिमेकी मनमाया घर्तीको घरगोठ पनि पहिरोले नामनिसान नरहनेगरी बगाएको छ । कुमारीकी दिदी मनिषा सुनारको घर आधा भत्किएको छ । घरमा बस्न सक्ने अवस्था छैन ।

“घर नभए पनि पछि बनाउन सकिन्छ”, मनिषाले भन्नुभयो, “तर साहारा र साथ दिने बहिनी नै गुमाउनुपर्दा मन थाम्न सकेकी छैन ।” श्रीमान् विदेशमा रहेकाले दुई भतिजको अभिभावकत्वसमेत आफैँले लिएर उनीहरूलाई पढाउने मनिषाको योजना छ ।

पहिरोका कारण जगबहादुर छन्त्याल र जीतबहादुर विकको परिवार पनि विस्थापित भएको छ । वडाध्यक्ष पदम पुनका अनुसार बस्तीमाथिको पाखोमा नयाँ पहिरो सृजना भएको छ । पहिरोबाट विस्थापित परिवारलाई हाल खाली घरमा राखिएको र पुनःस्थापना तथा पुनर्निर्माणका लागि राज्यको नीति र कार्यक्रमअनुसार सहजीकरण गरिने उहाँले बताउनुभयो ।

पहिरोले घरगोठसँगै सडक, खेतीयोग्य जमिन, सुन्तला बगैँचा र खानेपानीका पाइप लाइनमा समेत क्षति पुर्याएको छ । स्थानीय बासिन्दा विनोद विश्वकर्माका अनुसार दीर्घकालीन रूपमा पहिरो नियन्त्रण गर्न नसके छेपारे बस्ती नै विस्थापित हुने जोखिम छ ।

“सुन्तलाखेती विस्तार गरेर समृद्धितर्फ अघि बढिरहेको गाउँको यात्रामा पहिरो बाधक बनेको छ”, उहाँले भन्नुभयो, “पहिरो नियन्त्रण र बस्ती संरक्षण गर्न नसके अहिले बसोबास गरिरहेका १०–१५ घरपरिवारले पनि गाउँ छाड्नुपर्ने अवस्था आउन सक्छ ।”

छेपारेमा पहिरोले भत्काएका घर फेरि बनाउन सकिएला, पुरिएको जमिन पनि कुनै दिन फर्किएला । तर, आमाको काख गुमाएका पुजन र जीवनले गुमाएको माया र परिवारले गुमाएको सदस्यको रिक्तता कसरी पूर्ति होला ? गाउँलेका मनमा यही प्रश्नसँगै पहिरोको त्रास र पुनःस्थापनाको चिन्ता बाँकी छ । रासस