काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई आर्थिक साझेदारीको ठोस परिणाममा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकमा आफ्नो चारवर्षे कार्यकालको रणनीतिक कार्ययोजना प्रस्तुत गर्दै झाले पर्यटन, रामायण सर्किट, बौद्ध सम्पदा तथा व्यापार प्रवर्द्धनलाई प्राथमिकतामा राखेकी हुन्।
उनले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पञ्चशीलको सिद्धान्त र साझा सांस्कृतिक सम्पदालाई आधार बनाउनुपर्नेमा जोड दिइन्। जनकपुरको रामायण परम्परा र लुम्बिनीको बौद्ध विरासतलाई श्रीलंकाली जनस्तरसँग जोड्न सके कूटनीतिक सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सकिने उनको भनाइ थियो।
झाले आफ्नो कार्ययोजनामा चारवटा रणनीतिक स्तम्भ अघि सारेकी छन्। पहिलो स्तम्भमा पर्यटन सम्पर्क र हवाई सञ्जाल विस्तारलाई राखिएको छ। यसअन्तर्गत लुम्बिनी विमानस्थललाई लक्षित गरी श्रीलंकाबाट तीर्थयात्री ल्याउन सिधा वा चार्टर उडान सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने योजना उनले प्रस्तुत गरेकी छन्।








