२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो News Polar लागुऔषधसहित छ जना पक्राउ News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता

मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता
अ अ+ अ-

काठमाडौँ । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलले दूतावासका सेवालाई पूर्ण रूपमा डिजिटल बनाउने, नेपाली श्रमिकको सुरक्षा सुनिश्चित गर्ने र आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै खरेलले मलेसियालाई केन्द्र बनाएर थप चार देशको गैरआवासीय कूटनीतिक जिम्मेवारी निर्वाह गर्दा श्रमिकका समस्या तत्काल सम्बोधन गर्ने संयन्त्र निर्माण गर्ने बताएका हुन् ।

उनले विशेषगरी राहदानी वितरणमा देखिँदै आएको झन्झट अन्त्य गर्न डिजिटल प्रणाली लागू गर्ने योजना अघि सारेका छन् । राहदानी तयार भएपछि सुरक्षित कुरियरमार्फत श्रमिकको आवास वा कार्यस्थलमै पुर्‍याउने र मोबाइल सन्देशमार्फत सेवाको अवस्थाबारे जानकारी दिने व्यवस्था मिलाइने उनले बताए ।

नेपाली श्रमिकको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै खरेलले ‘शून्य लागत’ रोजगारी नीतिलाई कूटनीतिक एजेन्डाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । श्रमिकलाई कानुनी सहायता उपलब्ध गराउन स्थानीय अधिवक्तासँग समन्वय गरी निःशुल्क कानुनी परामर्श सेवा सञ्चालन गर्ने तथा मलेसियाका जेलमा रहेका नेपालीको अवस्थाबारे उनीहरूका परिवारलाई नियमित जानकारी दिने संयन्त्र बनाउने उनको योजना छ ।

मलेसियाको कानुनी प्रक्रियाको सम्मान गर्दै श्रमिकमाथि हुने शोषणका घटनामा दूतावासले प्रभावकारी हस्तक्षेप गर्ने पनि उनले बताए ।

“मलेसियाली रोजगारदातासँग लिखित प्रतिबद्धता गराएर स्वास्थ्य बिमा, सामाजिक सुरक्षा र बस्ने व्यवस्था सुनिश्चित गर्नेछु,” खरेलले भने, “साथै, पीडित श्रमिकलाई तत्काल राहत दिन दूतावासको पहलमा अस्थायी आश्रयस्थल सञ्चालन गरिनेछ ।”

आर्थिक कूटनीतितर्फ उनले नेपाली अर्गानिक उत्पादन कफी, चिया र जडीबुटीको मलेसियाली बजार विस्तार गर्ने तथा जलविद्युत् र पूर्वाधार क्षेत्रमा मलेसियाली लगानी भित्र्याउने लक्ष्य प्रस्तुत गरे ।

खरेलले आफ्नो कार्यकालभित्रै मलेसियामा नेपाल सरकारको स्वामित्वमा रहेको जग्गामा अत्याधुनिक दूतावास भवन निर्माण सम्पन्न गर्ने योजनासमेत अघि सारेका छन् । श्रमिकको हित संरक्षण, सेवा प्रवाहमा सहजता र आर्थिक सम्बन्ध विस्तारलाई उनले आफ्नो कार्यकालका प्रमुख प्राथमिकताका रूपमा प्रस्तुत गरेका हुन् ।