काठमाडौं । साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारविरुद्ध परेको उजुरीमाथि संसदीय सुनुवाइ समितिले छानबिन अघि बढाएको छ। छानबिनका क्रममा ललितपुर प्रहरीले सुनारसँग सम्बन्धित पुरानो घटनामा मिलापत्र भएको अभिलेख पठाएको छ भने जर्मनीबाट डिपोर्ट गरिएको भनिएको विषयमा अध्यागमन कार्यालयले विवरण उपलब्ध नभएको जनाएको छ।
संसदीय सुनुवाइ समितिले असोज २६ गते उजुरीकर्तासँग छलफल गरेपछि आरोपको सत्यतथ्य जाँच गर्न जिल्ला प्रहरी कार्यालय ललितपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसँग विवरण मागेको थियो।
सुनारको एक महिलासँग विवाहेत्तर सम्बन्ध रहेको तथा ती महिलालाई पटक–पटक यातना दिएको आरोप लगाउँदै उनकी साथीले समितिमा उजुरी दिएकी थिइन्। महिलामाथि हिंसा र धम्की दिएको आरोपसमेत उजुरीमा उल्लेख छ।
समितिले मागेको विवरणअनुसार, ललितपुर प्रहरीमा २०७५ माघ २९ गते एक महिलाले निवेदन दिएकी थिइन्। साबिक महानगरीय प्रहरी परिसर ललितपुरअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा परेको उक्त निवेदनमाथि २०७५ फागुन १ गते मिलापत्र भएको प्रहरी अभिलेखमा उल्लेख छ।
प्रहरीले घटनासँग सम्बन्धित कागजात समितिलाई उपलब्ध गराएको समितिका एक सदस्यले जानकारी दिएका छन्।
यस्तै, सुनारलाई जर्मनीबाट डिपोर्ट गरिएको भन्ने उजुरीकर्ताको दाबी पुष्टि गर्न समितिले अध्यागमन कार्यालयसँग विवरण मागेको थियो। तर, कार्यालयले उक्त घटनासम्बन्धी विवरण आफूसँग उपलब्ध नभएको जवाफ पठाएको छ।
अध्यागमन कार्यालयकी प्रमुख अध्यागमन अधिकृत सृजना थपलियाका अनुसार कार्यालयमा सन् २०२० अघिका सबै विवरण उपलब्ध छैनन्। समितिबाट आएको पत्र र त्यसको जवाफबारे भने आफूलाई यकिन जानकारी नभएको उनले बताएकी छन्।
गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले साउदी अरबका लागि सुनारसहित विभिन्न १३ देशका लागि राजदूत सिफारिस गरेको थियो। प्रस्तावित राजदूतविरुद्ध उजुरी परेपछि संसदीय सुनुवाइ समितिले सम्बन्धित निकायबाट विवरण मागेर आरोपको तथ्य जाँच गरिरहेको छ।








