काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी माघ १ गते आयोजना गर्न लागेको सम्यक महादानलाई सफल बनाउन तयारी तीव्र पारेको छ । महानगरपालिकाले महादानको व्यवस्थापन तथा सञ्चालनलाई व्यवस्थित बनाउन ३०१ सदस्यीय मूल समारोह समिति गठन गरी आवश्यक तयारी अघि बढाएको हो ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सम्यक महादानको तयारीलाई तीव्रता दिइएको जानकारी दिँदै कार्यक्रममा सहभागी हुने दीपङ्कर बुद्धको उपस्थिति सुनिश्चित गर्न सम्बन्धित संरक्षक परिवार, समुदाय तथा गुठीसँग छलफल गरिएको बताउनुभयो । उहाँका अनुसार छलफलका क्रममा ती परिवार तथा समुदायले आगामी माघ १ गते आयोजना हुने महादानमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् ।
डंगोलले सम्यक महादानको सबैभन्दा महत्त्वपूर्ण पक्ष नै दीपङ्कर बुद्धहरूको सहभागिता रहेको उल्लेख गर्दै बुद्धको संरक्षण गर्दै आएका परिवार, समुदाय र गुठीहरूसँग समन्वय गरेर कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउने प्रयास भइरहेको बताउनुभयो । सम्बन्धित संरक्षकहरूलाई औपचारिक निमन्त्रणा दिने प्रक्रिया अघि बढाइएको र उनीहरूलाई मूल समारोह समितिको सदस्यका रूपमा मनोनयनसमेत गरिएको उहाँले जानकारी दिनुभयो ।
महादानको तयारीलाई प्रभावकारी बनाउन महानगरपालिकाले अभिलेखीकरण, स्थान व्यवस्थापन, पूजा तथा दान, देवता निमन्त्रणा र सांस्कृतिक गतिविधिका लागि छुट्टाछुट्टै उपसमिति गठन गरेको छ । ती उपसमितिका संयोजक तथा सदस्यहरू मनोनयन गरी आवश्यक छलफलसमेत गरिएको महानगरपालिकाले जनाएको छ ।
कार्यवाहक प्रमुख डंगोलले सम्यक महादान धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको ऐतिहासिक परम्परा भएकाले यससँग सम्बन्धित सम्पूर्ण प्रक्रिया र गतिविधिको अभिलेखीकरण आवश्यक रहेको बताउनुभयो । महादानका क्रममा दीपङ्कर बुद्धहरूलाई ल्याउने तथा लैजाने प्रक्रिया, पूजा, दान, बाजागाजा र अन्य सांस्कृतिक गतिविधिसमेत व्यवस्थित रूपमा अभिलेख गरिने उहाँको भनाइ छ ।
महानगरपालिकाले सम्यक महादानसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पक्ष समेटेर पुस्तक प्रकाशन गर्ने तयारीसमेत गरेको छ । दीपङ्कर बुद्धका संरक्षक परिवार, समुदाय तथा गुठीहरूको आधिकारिक विवरण एकै ठाउँमा उपलब्ध नहुँदा आवश्यक जानकारी संकलन र अनुसन्धानमा धेरै समय खर्चिनुपर्ने अवस्था रहेको डंगोलले बताउनुभयो ।
उहाँका अनुसार हालसम्मको तयारीमा पुराना अभिलेख खोज्ने, सम्बन्धित व्यक्ति तथा समुदायको पहिचान गर्ने र आवश्यक विवरण संकलन गर्ने काममा उल्लेख्य समय खर्चिएको छ । संकलित विवरणलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्न सके आगामी पुस्ताले सम्यक महादानको परम्परा, प्रक्रिया र व्यवस्थापनबारे जानकारी पाउनुका साथै भविष्यमा कार्यक्रम आयोजना गर्दा आवश्यक विवरण खोज्न सहज हुने महानगरको अपेक्षा छ ।
डंगोलले सम्यक महादान बजेटले मात्रै सफल हुने कार्यक्रम नभएको स्पष्ट पार्दै यसमा समुदायको सहभागिता र सामूहिक प्रयास महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सम्यक महादान गर्न धेरै समुदायको महत्त्वपूर्ण भूमिका हुन्छ । सबैजनालाई नछुट्ने गरी समेट्न सकियोस् भनेर हामी प्रयासरत छौँ । हामीले मूल समारोह समिति घोषणा गरेलगत्तै तयारीको काम अघि बढाएका छौँ ।”
उहाँले महादानमा सहभागी हुने दीपङ्कर बुद्धहरूको उपस्थिति सुनिश्चित गर्नु कार्यक्रमको मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै सम्बन्धित संरक्षक परिवार, समुदाय तथा गुठीसँग समन्वय गरिएको जानकारी दिनुभयो । धार्मिक अनुष्ठानसँगै सांस्कृतिक गतिविधि र परम्परागत बाजागाजाको व्यवस्थापनमा पनि विशेष ध्यान दिइएको उहाँको भनाइ छ ।
महानगरपालिकाले पुराना अभिलेख तथा अनुसन्धानका आधारमा सम्बन्धित संरक्षक र समुदायको सूची तयार पारे पनि केही व्यक्ति वा समुदाय छुटेको हुनसक्ने स्वीकार गरेको छ । सूचीमा नाम छुटेको, आफूहरूलाई निमन्त्रणा नगरिएको वा आफ्नो समुदाय समेटिन नसकेको महसुस भएमा महानगरपालिकालाई जानकारी गराउन डंगोलले आग्रह गर्नुभयो ।
उहाँले सम्बन्धित व्यक्ति तथा समुदायलाई काठमाडौं महानगरपालिकाको सभा गृहमा रहेको मूल समारोह समितिको सचिवालयमा सम्पर्क गरी आवश्यक विवरण तथा सुझाव उपलब्ध गराउन अनुरोध गर्नुभयो । सबै सरोकारवालाको सहभागिता सुनिश्चित गर्दै सम्यक महादानलाई सफल बनाउने महानगरको लक्ष्य रहेको उहाँले बताउनुभयो ।
काठमाडौंको बुइखलमा आयोजना हुने सम्यक महादानलाई धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वका साथ हेरिन्छ । महानगरपालिकाले कार्यक्रमको तयारीसँगै यससँग जोडिएका परम्परा, समुदायको भूमिका र ऐतिहासिक विवरणको संरक्षणलाई पनि प्राथमिकतामा राखेको छ ।








