१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

संसदीय समितिमा मन्त्री गुरुङको आक्रोश: बिना कारण ममाथि नैतिकताको प्रश्न उठाइयो

संसदीय समितिमा मन्त्री गुरुङको आक्रोश: बिना कारण ममाथि नैतिकताको प्रश्न उठाइयो
अ अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफूमाथि नैतिकताको प्रश्न उठाएको भन्दै सांसदहरुसँग आक्रोश व्यक्त गर्नुभएको छ ।

आईतवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिने सांसदहरुको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उहाँले सो टिप्पणी गर्नुभएको हो । बैठकमा समितिका सदस्यहरुले सो विधेयक अपराधीहरुलाई प्रश्रय दिने प्रावधानसहित सरकारले सुटुक्क ल्याएको जिकिर गरेका थिए । त्यसको जवाफ दिने क्रममा मन्त्री गुरुङले विनाकारण आफ्नो नैतिकता र नियतमाथि प्रश्न उठाउने काम नगर्न पनि सांसदहरुलाई चेतावनी दिनुभयो ।

उहाँले पटक पटक छलफल गरेर सो विधेयक संसद र संसदीय समितिमा आउँदा पनि आफूमाथि गलत नियतका साथ किन प्रश्तुत भएको भनि सांसदहरुलाई प्रतिप्रश्न समेत गर्नुभयो । मन्त्री गुरुङले आफूहरुले सांसदहरुको कार्यक्षमतामाथि प्रश्न नगर्ने भन्दै घुमाउरो भाषामा शब्दकोश अध्ययन गर्न पनि सचेत गराउनु भयो । मन्त्री गुरुङले एकले अर्काको नियतमाथि प्रश्न उठाउँदै जाने कामले केही पनि उपलब्धि नहुने पनि बताउनु भयो । त्यसक्रममा मन्त्री गुरुङले आफू मन्त्री भएपनि निष्ठामा कहिल्यै पनि नडगमगाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा कुरामा मेरो गम्भिर प्रश्न पनि छ । यो विधेयक सुटुक्कसँग पास गर्न ल्याएको । अनि यहाँ बीचमा छिराएको आदिइत्यादि ढंगबाट आएको छ । माननीय सदस्यहरुज्युहरुलाई म अत्यन्तै सम्मान व्यक्त गर्दै म भन्न चाहन्छु–माननीय सदस्यहरुज्युको कार्य क्षमतामाथि म प्रश्न उठाउन चाहन्न । माननीय सदस्य त्यसै भएको होइन । जनताले निर्वाचित गरेर पठाइसकेपछि माननीय सदस्यहरुको कार्यक्षमतामा कसैले पनि प्रश्न उठाउन हुँदैन । मलाई त्यो पनि ज्ञान छ । त्यसैले त्यो ज्ञानलाई नोटिसमा राख्दै निवेदन गर्न चाहन्छु कि यो सुटुक्क पास गर्न खोजिएको रहेछ । कति गम्भिर यो कुरा । कसैको नैतिकतामाथि प्रश्न उठाउन पाइन्छ सभामुख महोदय ? नैतिक आचरण गलत गरेको भए नैतिकको प्रश्न उठाउनु । तर विनासितीमा कसैको नैतिकतामाथि प्रश्न उठाउन पाइन्छ ? कसैले नियतमाथि प्रश्न उठाउन पाईन्छ र सभापति महोदय ? एकदम नियत खराव राखेर ल्याउने ।’

‘माननीय सदस्यहरुलाई पनि म प्रश्न गर्न चाहन्छु–यसरी किन बोल्नु हुन्छ ? आफ्नो कुरा राख्न नजानेको, शब्द नपाएको हो भने नेपाली शब्दकोश भण्डारमा मा थुप्रै शब्दहरु छन सभापति महोदय । अनि छिराएको । के भनेको त्यो ? खुसुक्क छिराएछ । सारा पिजनहोलमा राखेर, पढनोस भनेर । सैद्धान्तिक छलफल गरेर दफादफा छलफल गरिरहेका छौ । तैपनि सुटुक्क छिराएको भन्ने ? जस्केलबाट छिराएको छ । हुँदाहुँदा झ्यालबाट छिराएछ । बडो गजव छ बा । यत्रो छलफलको यात्रा पार गरेर हामी यहाँ आइपुग्यौं । त्यसैले मैले शुरुमै भने–माननीय सदस्यज्युहरुको कार्य क्षमतामा म प्रश्न गर्न चाहन्न । तर यी भनाइहरुले, जुन भनाइहरु आए माननीय सदस्यज्युहरुबाट । माननीय सदस्यज्युहरुलाई मसम्मानका साथ भन्न चाहन्छु–सुटुक्क पास गर्न लाग्यो, नियतै खराब राखेर लिएर आयो, सुटुक्क छिरायो, झ्यालबाट छिरायो । जस्केलाबाट छिरायो । के हो यो सभापति महोदय ? कुरो गम्भिर छैन र ? एकले अर्काको नियतमाथि प्रश्न उठाउँदै जाने हो र । ड्राफ्ट कसरी गरिस ? पुरानो बोरामा बाँधेर राखेको रहेछ । थपक्क ल्याएर खोलिदिएको । अघि नै माननीय सदस्यले भन्नु भयो नि–तत्कालिन अवस्थामा विप्लव समूह थियो । त्यसको समस्या सम्बोधन गर्नका लागि पनि र तराई मधेसमा सिके राउतको विखण्डनको नारा बोकेर हिँडेको पार्टी थियो । तत्कालीन अवस्थामा यो ड्राफ्ट ठिकै पनि मानिन्थ्यो होला । तर अब यो काम लागेन भनेर अघि भर्खरै शुरुमै यो पनि बोलेर जानुभएको छ माननीय सदस्यले ।’

‘यति कुरा सुनिसकेपछि त्यसपछि फेरि उही प्रश्न दोहोरिएको छ । त्यसकारणले गर्दाखेरी वास्तवमा यो हामी यो राजनीतिमा यत्तिकै आईहालेको हो कि ? फ्वात्त आकाशबाटै खसेर मन्त्री भइहालेको हो कि ? त्यो ढंगले सोच्न हुन्न । हामीले पनि जनताकै लागि, देशको लागि भनेर कलिलो उमेरबाट रगत बगाउँदै आएका छौ नि । हामीलाई राजनीतिमा लागेर कमाउनु छैन । म प्रष्ट भन्न चाहन्छु । म यो कुरा निवेदन गर्न चाहन्छु । कमाउने धन्दामा को–को लाग्छन मलाई थाहा छैन । लागि रहन्छन् होला । पत्रपत्रिकामा पढिरहन पाईन्छ पनि होला । त्यसतर्फ म धेरै कुरा भन्न चाहन्न । तर म अहिले यो कानूनमन्त्रीको कार्यभार सम्हालेर बसिरहेका बेलासम्म आइपुग्दाखेरी पटक पटक कष्टडीमा पनि परेको हुँ, जेल पनि परेको हुँ । कुखुरा चोरेर परेको होइन । राजनीतिक व्यवस्था परिवर्तन गर्नका लागि नै भनेर प्रजातन्त्र स्थापना गर्नका लागि नै भनेर, देश र जनताकै लागि भनेर मैले रगत पनि बगाए । कष्टडीमा पनि परेँ, जेल पनि परेँ । यतित मैले राख्नै पर्‍यो ।’

‘किनभने मेरो नियतमाथि प्रश्न गरेपछि । मन्त्रीको नियतमाथि प्रश्न गर्ने ? नैतिकतामाथि प्रश्न उठाउने । मैले आज मेरो शरिरबाट रगतको मूल्य खोजिरहेको छैन । देश र जनताको लागि भनेर हिजो पनि जुन अडान थिए, आज पनि त्यही अडान छु । केही माननीय सदस्यहरुले भन्नुभयो–हिजो तपाईको ट्वीट पनि हेरेको हो, स्टाटस पनि पढेको हो । अलि फरक देखियो नि । अहँ तपाईको हेर्ने नजरमा मात्रै फरक पर्न आएको हो । धनराज गुरुङमा कुनै परिवर्तन आएको छैन । म यो पनि निवेदन गर्न चाहन्छु । मन्त्री पद त आउँछ, जान्छ नि । तर मेरो जुन लगाव छ । जुन पदचाप छ । जुन उद्देश्य छ, ध्येय छ । लक्ष्य छ । त्यो भनेको नेपाललाई सुशासन स्थापना गर्दै नेपालका विपन्न जनतालाई सम्पन्न बनाउने लक्ष्य हो मेरो । मेरो यो लक्ष्यबाट म अविचलित ढंगले अघि बढछु, बढिरहन्छु ।’

मन्त्री गुरुङले आफूले मुलुकमा सुशासन स्थापना गर्दै नागरिकलाई सम्पन्न बनाउने लक्ष्य लिएको र त्यसैमा अविचलित भएर अघि बढने पनि बताउनु भयो ।