४ मंसिर २०८१, मंगलवार
,
Latest
बालेनदेखि कुलमानसम्मलाई एमाले नेता बस्नेतले लगाए भ्रष्टाचारीको आरोप, कसको कर्तुत के ? (भिडिओसहित) माओवादी द्वन्द्वका गम्भीर मानव अधिकार उलंघनको घटनाले आममाफी पाउँदैनः प्रदीप ज्ञवाली एनआरएनए विवादः शेष घलेलाई बद्री केसी पक्षको असहयोग कांग्रेसले सांसद बजगाईंलाई सोध्यो स्पष्टीकरण कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति नेपाल संवत् राष्ट्रिय र मौलिक संवत्ःराष्ट्रपति नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट रास्वपाको आकस्मिक केन्द्रीय समितिको बैठक बस्दै दुर्गा प्रसाईंको म्याद थप आज नहुने ! जलवायु सङ्कट समाधानमा विश्वको ध्यानाकर्षण गराउन सफल भएका छौँः मन्त्री शाही (अन्तरवार्ता)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्तला खेतीबाट दश करोड भित्र्याउँदै इच्छाकामना



अ+ अ-

चितवन । सुन्तला खेतीबाट मात्रै इच्छाकामना गाउँपालिकाका किसानले मनग्य आम्दानी लिने भएका छन् । यहाँ रहेका चार सय ५० भन्दा बढी किसानले यस वर्षमात्रै रु १० करोड आम्दानी लिने भएका हुन् ।

गाउँपालिकाको कृषि विकास शाखाका अनुसार यहाँका किसानले उत्पादन गरेको सुन्तलाले राम्रो मूल्य पाएपछि यस वर्ष आम्दानी धेरै हुने भएको छ । शाखाका प्रमुख आशिष त्रिपाठीका अनुसार अहिले किसानको बारीबाट रु ७५ देखि ९० सम्ममा सुन्तला बिक्री हुने गरेको छ । यहाँ यस वर्ष ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आएको छ । त्यसमध्ये ६० हेक्टर क्षेत्रफलमा सुन्ताला उत्पादन भएको उहाँले बताउनुभयो ।

गाउँपालिकामा लगाइएका २० हजार बोटमध्ये १५ हजार बोटले उत्पादन दिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उत्पादनका हिसाबले अघिल्लो वर्षको तुलनामा कम हो, उत्पादन कम भए पनि किसानले मूल्य भने राम्रो पाएका छन् ।” गत वर्ष कृषि ज्ञान केन्द्रबाट सुन्तला खेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत पाँच हजार एक सय बिरुवा लगाइएको थियो । सो कारणले गत वर्षको तुलनामा क्षेत्रफल बढे पनि उत्पादन हुने क्षेत्रफल विस्तार हुन नसकेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार ६० हेक्टर क्षेत्रफलमा उत्पादन लिँदै गर्दा गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशत उत्पादन घटेको छ । गत वर्ष यहाँ एक हजार छ सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष घटेर एक हजार पाँच सय मेट्रिकटन उत्पादन भएको शाखा प्रमुख त्रिपाठीले बताउनुभयो । जिल्लाको एकमात्र पहाडी क्षेत्र रहेको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ को पहाडी क्षेत्रमा सुन्तला उत्पादन हुँदै आएको छ । रासस