११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

केराखेतीको केन्द्र बन्दै टीकापुर, खेती विस्तारका लागि ६० लाख विनियोजन

केराखेतीको केन्द्र बन्दै टीकापुर, खेती विस्तारका लागि ६० लाख विनियोजन
अ अ+ अ-

भजनी । कैलालीको टीकापुर केराखेतीबाट निकै परिचित छ । अन्य उत्पादनभन्दा केराखेतीबाट आकर्षक आम्दानी हुने र बजारीकरणको समस्या नहुँदा टीकापुर केराखेतीको केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।

टीकापुरमा केराखेतीको सुरुआत ज्ञानी शाह र थोमस बर्गिजले गरेको स्थानीय बुढापाका बताउँछन् । त्यसलाई व्यावसायिकरूपमा २०४० सालदेखि कालु हमालले निरन्तरता दिनुभयो । उहाँले थोमस बर्जिजबाट १० बोट हरिखाल जातको केराबाट व्यवसाय सुरु गरेको व्यवसायी हमाल बताउनुहुन्छ । केराका लागि सुहाउँदो माटो भएपछि हमालसँगै यतिबेला सयौँ किसानले व्यावसायिक केराखेती गरेका छन् ।

“व्यवसायको सुरुआत १० बोट केराबाट भएको हो । त्यसपछि त्यसलाई विस्तार गर्दै लगियो । बीचको समयमा अन्य व्यवसाय गरेँ । त्यसबाट सोचेजस्तो लाभ लिन नसकेपछि त्यो छाडेँ । अन्तिममा केरालाई नै निरन्तरता दिएको हुँ”, हमाल भन्नुहुन्छ, “त्यो बेला म केरा व्यवसाय गर्ने एक्लो थिएँ । अहिले मभन्दा कैयौँ किसान केराखेतीमा अब्बल भएर लाग्नुभएको छ ।” हमालले केराखेतीलाई पर्यटन व्यवसायसँग जोड्नुभयो । केराको मात्रै परिकार पाइने ‘बननाज रिसोट’ टीकापुरमा प्रसिद्ध छ । यहाँ उत्पादन भएको केराको चिप्स देशभर निर्यात हुन्छ । त्यतिमात्र होइन, टीकापुर आएको व्यक्ति उहाँको बननाज रिसोर्ट नपुगी फर्कदैनन् ।

“मैले लगाउने केरा आफ्नै रिसोर्टका लागि मात्र हो । फेरि मैले स्थानीय जातका केरा लगाउँछु”, हमाल भन्नुहुन्छ, “अहिले खेतीभन्दा पर्यटन प्रवर्द्धनमा टेवा पुग्न सक्ने काममा मेरो ध्यान छ । उहाँ राष्ट्रपतिबाट उत्कृष्ट किसानका रूपमा सम्मानित भइसक्नुभएको छ । टीकापुर क्षेत्रमा हाल एक हजार दुई सय बिघा क्षेत्रफलभन्दा बढी जग्गामा केराखेती हुँदै आएको छ । यो वर्ष दुई सय बिघा केराखेती विस्तार भएको व्यवसायी टेकेन्द्र धामी बताउनुहुन्छ । “किसान केराखेतीमा आकर्षित हुँदै गएका छन् । बजारीकरणको समस्या नहुनु, एकपटक खेती गर्दा तीनपटकसम्म आम्दानी हुने भएपछि नोक्सान हुँदैन”, धामी बताउनुहुन्छ, “टीकापुरमै सहजरूपमा केराको बेर्ना पाइने तथा सरकारी निकायको सहयोग पनि प्राप्त भएपछि केराखेती फस्टाएको छ ।”

किसान धामीले केराको बेर्ना पनि बेच्दै आउनुभएको छ । उहाँले सात वर्षदेखि टिस्युकल्चर प्रविधिबाट केराको बेर्ना हुर्काएर बिक्री गर्दै आउनुभएको हो । केही वर्ष पहिले भारतबाट बेर्ना मगाउने धामी अहिले नवलपरासीबाट बेर्ना ल्याएर त्यसलाई माटो सुहाउँदो हावापानीमा हुर्काएर बिक्री गर्नुहुन्छ । यो वर्ष पनि उहाँले करिब दुई लाख बिरुवा बिक्री गरिसकेको बताउनुभयो । “गत वर्ष तीन लाख बिरुवा बिक्री भएको थियो । यस वर्ष पनि त्योभन्दा बढी बिक्री हुन्छ होला”, व्यवसायी धामी भन्नुहुन्छ, “केराखेती गर्ने सिजन भर्खर सुरु भएकाले खपत कम देखिएको हो, अझै बढ्छ ।”

केराको बजारीकरणका लागि टीकापुरमा समस्या छैन । टीकापुरबाट सबैभन्दा बढी निर्यात हुनेमा केरा हो । टीकापुरमा उत्पादन भएको केरा कैलाली जिल्लासँगै बर्दिया, बाँके, दाङ, रुपन्देही हुँदै पोखरा, काठमाडौँसम्म निर्यात हुने गरेको छ । “प्राकृतिक विपत्ति नआए केरामा जस्तो राम्रो आम्दानी अन्य क्षेत्रमा छैन । एक बिघामा रु १० देखि १५ लाखसम्मको केरा उत्पादन गर्न सकिन्छ”, व्यवसायी राजकुमार चौधरी भन्नुहुन्छ, “बजारीकरणको समस्या छैन, व्यापारी बारीमै आएर नगदमा केरा लिन्छन् ।”

केराखेतीका लागि राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई सहयोग गर्दै आएको छ । एकाइले केराको बेर्ना खरिद, मलखाद, विषादी, कृषि उपकरण ५० प्रतिशत अनुदानमा सहयोग गर्दै आएको छ । कार्यान्वयन एकाइका सूचना अधिकारी दिलीपजङ्ग रानाले चालु आर्थिक वर्षमा मात्रै केराखेतीका लागि आयोजनाले रु ६० लाख बजेट विनियोजन गरेको बताउनुभयो । “यस वर्ष हाम्रो कमाण्ड क्षेत्रभित्र ६० हेक्टर क्षेत्रफलमा केराखेती विस्तारको लक्ष्य लिएका छौँ । अहिले किसानले केराखेतीका लागि कार्यालयमा आएर सम्झौता गर्ने काम भइरहेकाले कति हुन्छ, यकिन भन्न सकिने अवस्था छैन”, सूचना अधिकारी राना भन्नुहुन्छ ।

कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा विषादीरहित बजारीकरणका लागि केरा पकाउने च्याम्बर पनि निर्माण गरेको छ । जसमा एकाइको रु एक करोड ९० लाख खर्च भएको छ भने उपभोक्ताको रु एक करोड ५० लाख खर्च भएको छ । निर्माण सम्पन्न भएको चार वर्ष हुनलाग्दा पनि च्याम्बर पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । च्याम्बरमा पकाएको केरा बजार पुर्याउँदासम्म महँगो हुन थालेपछि व्यापारीले केरा किन्न छाड्दा केही महिना सुरु भएको च्याम्बर बन्द भएको हो ।

“केरा बजारीकरणमा समस्या भएपछि च्याम्बर बन्द गर्न बाध्य भएका थियौँ । त्यहाँ पकाएको केरा टीकापुर बाहिर पुर्याउन नसकिने, बजारमा बिक्री नहुने भएपछि बन्द भएको हो”, च्याम्बर सञ्चालक शिलाकान्त झा भन्नुहुन्छ, “अब नयाँ विकल्पका साथ केही दिनमै च्याम्बर सञ्चालनमा ल्याउँछौँ ।”

च्याम्बरमा पकाएको केराको बजारीकरण हुन नसके त्यसलाई सुकाएर राख्ने मेसिन च्याम्बर सञ्चालकले जडान गर्न थालेका छन् । सुकाएको केरा छ महिनासम्म राख्न सकिन्छ । त्यसैमा केराका अन्य परिकार तयार गरेर त्यसको बजारीकरणको तयारी भइरहेको झाले बताउनुभयो । केराका अन्य परिकार तयार पारेर बजारीकरण गर्न सके त्यसबाट टीकापुरलाई केराको हबका रूपमा चिनाउन सकिने व्यवसायी बताउँछन् । रासस