२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा धान उत्पादन बढ्यो



अ+ अ-

ढोरपाटन । गत वर्ष धान उत्पादनमा कमी हुँदा निराश भएका बागलुङका किसान यस वर्ष भने खुसी भएका छन् । रोपाइँका बेला समयमै वर्षा भएपछि यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो ।

गत वर्ष करिब १० प्रतिशतभन्दा बढी धान उत्पादनमा कमी आएकामा यस वर्ष एक सय मेट्रिक टन बढी धान उत्पादन भएको छ । बागलुङ मध्यपहाडी क्षेत्र भएको हुँदा थोरै क्षेत्रमा मात्र सिँचाइको व्यवस्था छ । सीमित सिँचाइको सुविधा हुँदाहुँदै पनि यहाँका किसानले धान उत्पादनमा मेहनत गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष छ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भए पनि १८ हजार छ सय ९० मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो । यस वर्ष पाँच हजार सात सय १७ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएकामा २० हजार पाँच सय ५१ मेट्रिक टन उत्पादन भएको छ । जिल्लाको सबैभन्दा बढी जैमिनी नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा धान उत्पादन हुने गरेको छ । यस वर्ष किसानलाई मौसमले साथ दिएको र उन्नत जातका बीउ प्रयोग गरेका कारण धान उत्पादनमा वृद्धि आएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश सिलवालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले पनि बागलुङका धेरै किसानाहरुले रैथाने जातको धानको बीउ प्रयोग गर्ने गरेको पाइन्छ, बिस्तारै नयाँ जातका बीउ प्रयोग गर्न थाल्नुभएको छ, नयाँ प्रविधि पनि अपनाउन थाल्नुभएको छ, पोहोर सालको भन्दा यस वर्ष केही मात्रमा धान उत्पादनमा वृद्धि भएको छ, किसानलाई परम्परागत खेती प्रणालीसँगै आधुनिकतासँग जोड्नका लागि कृषि ज्ञान केन्द्रले पनि नयाँ प्रयासहरु थालेको छ, कृषकहरुले कृषिलाई आधुनिकीकरण गर्नसके अहिलेको भन्दा बढी धान उत्पादन गर्न सक्ने सम्भावना देखिन्छ । ”

उहाँका अनुसार यस वर्ष बर्खे धान पाँच हजार सात सय सात हेक्टरमा र चैते धान १० हेक्टर क्षेत्रफलमा लगाइएको थियो । जैमिनी नगरपालिकाका किसान तिलक सापकोटाले अघिल्लो वर्षभन्दा यस वर्ष ५० प्रतिशतले धान उत्पादन बढी भएको बताउनुभयो । गत वर्ष धान भित्र्याउने बेलाको हावाहुरी र ढिलो भएको वर्षाका कारण उत्पादनमा गिरावट आएको उहाँको भनाइ छ । गत वर्षसम्म रैथाने बीउ लगाएको जनाउँदै यस वर्ष नयाँ प्रजातिको बीउ लगाउँदा उत्पादन बढेको सापकोटाले बताउनुभयो । हरेक वर्ष १० मुरी धान फल्ने गरेकामा यसपालि १५ मुरीभन्दा बढी उत्पादन भएको उहाँको भनाइ ।

बागलुङमा सबैभन्दा बढी मकै बाली उत्पादन हुने गरेको छ । जिल्लाभर मकै २० हजार हेक्टर क्षेत्रफल बढीमा उत्पादन हुन्छ । कोदो १८ हजार हेक्टर र गहुँ सात हजार हेक्टर बढी क्षेत्रफलमा उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । छ हजार एक सय ४८ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । त्यसमध्ये बाह्रै महिना सिँचित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ । रासस