२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्तला उत्पादन बढ्यो, किसान उत्साहित



अ+ अ-

धरान । सुन्तलाको उत्पादन बढेसँगै पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा उत्पादन बढे पनि बजारमा मूल्य गतवर्षकै जस्तो छ । यतिबेला धनकुटाका खोकु, बुधुक, भोजपुरलगायत ठाउँबाट किसानले धरानस्थित कृषिउपज बजारस्थलमा सुन्तला ल्याइरहेका छन् ।

कात्तिक १५ यतामात्र दुई हजार मेट्रिकटन सुन्तला बिक्री भइसकेको छ । अझ पुसमा सबैभन्दा धेरै सुन्तला आउने अनुमान गरिएको छ । किसानले यसपटक बारीमा सुन्तला धेरै फलेकाले पुसमा ठूलो परिणिाममा सुन्तला बजारमा आउने बताएका छन् ।

धरान बजारमा अहिले सुन्तलाको मूल्यप्रतिकेजी रु एक सयदेखि रु एक सय २०सम्म छ । मौसमअनुसार सुन्तलाको मूल्य घटबढ हुने गर्छ । घाम लागेको बेला सुन्तलाको मूल्य वृद्धि हुने र नलागेको दिन घट्ने व्यापारीको भनाइ छ । यसपटक केही दिनअघि घाम नलाग्दा कृषिबजारमा प्रतिकेजी रु ८० सम्ममा किनबेच भएको थियो । यसपटक पनि बजारमा गत वर्षकै हाराहारी मूल्यमा सुन्तला किनबेच भइरहेको छ ।

कृषिउपजबजार स्थलको तथ्याङ्कअनुसार गत वर्ष पूर्वी पहाडका विभिन्न जिल्लाबाट धरानमा सात हजार मेट्रिकटन सुन्तला खरिद बिक्री हुँदा रु ७० करोड हाराहारीको कारोबार भएको थियो । यसपटक पहाडी क्षेत्रमा सुन्तलाको उत्पादन बढेकाले साढे आठ हजार मेट्रिकटन कृषि बजारमा आइपुग्ने र त्यसबाट करिब रु एक अर्बबराबरको कारोबार हुने अनुमान गरिएको कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो ।

पूर्वी पहाडको धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर र खोटाङसम्मका सुन्तला धरानको कृषिउपज बजारस्थल आइपुग्छन् । धनकुटा क्षेत्रका सुन्तला प्राय:किसान आफैँले बजारसम्म ल्याए पनि अन्य क्षेत्रका एजेन्टले बजारसम्म ल्याउने गरेका छन् । उनीहरुबाट थोक व्यापारी र त्यहाँबाट खुद्रा व्यापारी हुँदै उपभोक्तासम्म सुन्तला पुग्ने गरेको छ ।

धरानबाट व्यापारीले पूर्वी तराईका बजारहरु इटहरी, इनरुवा, विराटनगर, विर्तामोड, दमकदेखि मधेस प्रदेशका विभिन्न जिल्लासम्म पुर्‍याउने गरेका छन् । पूर्वी पहाडका रसिला सुन्तला अनौपचारिकरुपमा व्यापारीले भारतका बजारसम्म पनि पुर्‍याउने गरेका छन् तर औपचारिकरुपमा भारत लैजाने बाटो खुलेको छैन । त्यसका लागि भारतस्थित महावाणिज्यदूतावासको सहयोग लिएर भारतीय बजारमा सूचीकृत गर्नसके पूर्वी पहाडका किसानले राम्रो आम्दानी गर्नसक्ने कृषिबजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “हालसम्म सूचीकृत गर्ने काम भएको छैन । त्यसका लागि व्यापारी व्यवसायी र सरकारले पनि चासो दिनसके देशलाई फाइदा हुन्छ ।” रासस