३ आश्विन २०८१, बिहीबार
,
Latest
संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे सत्य सूचनाका चार बर्ष मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल संविधान १०औं वर्षमा, हर्षोल्लासका साथ संविधान दिवस मनाइँदै नेपाल ओमानसँग पराजित
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती पुँजी भित्र्याउन लन्डनमा लगानी सम्मेलन



अ+ अ-

काठमाडौँ । नेपाल र संयुक्त अधिराज्यबीच मैत्री सन्धिमा हस्ताक्षर भएको शतवार्षिकीका अवसरमा लण्डनस्थित नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलन आयोजना गरेको छ । नेपालको विकास आवश्यकता पूर्ति गर्न सम्मेलनमा जलविद्युत्लगायत पूर्वाधारका क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको र प्रतिफलको सुनिश्चितता बारे लगानीकर्तासँग छलफल भएको छ ।

सम्मेलनका प्रमुख अतिथि अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको समृद्धि तथा आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेकाले आन्तरिक स्रोत परिचालनसँगै वैदेशिक लगानी अपरिहार्य भएको बताउनुभएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ । लगानीमैत्री वातावरण बनाउन सरकारले आवश्यक ऐन, कानून निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको बजेटमार्फत पनि लगानीकर्तालाई प्रोत्साहन गरिएको बताउँदै अर्थमन्त्रीले अन्तर्राष्ट्रिय वित्त बजारबाट पुँजी परिचालन गर्न आवश्यक कानूनी पूर्वाधार तयार गरिने जानकारी दिनुभयो । नेपालमा लगानीमैत्री वातावरण बनेकाले आगामी दिनमा बेलायतबाट लगानीमा थप वृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा नेपालले बाह्य लगानी भित्र्याउन चाहेको बताउनुभयो । नेपालले विद्युत् व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बङ्गलादेश निर्यात गर्न तयारी गरेको जानकारी दिनुभयो ।

बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले पछिल्ला वर्षहरुमा ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टमार्फत् नेपालको विभिन्न क्षेत्रमा लगानी बढ्दै गएको बताउनुभयो । नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने प्रक्रियालाई सहज बनाउन निरन्तर सहयोग गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले वैदेशिक लगानी स्वीकृति तथा विदेशी कम्पनीको लाभांश फिर्ता लैजाने प्रक्रिया सहज बन्दै गएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी मैत्री वातावरण बनेको हुँदा वैदेशिक लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न निजी क्षेत्रको तर्फबाट आह्वान गर्नुभयो । अध्यक्ष ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह पनि गर्नुभयो ।

लगानी बोर्ड नेपालका सहसचिव अमृत लम्सालले वैदेशिक लगानी स्वीकृति तथा परियोजना कार्यान्वयन अवधिभर विदेशी लगानीकर्तालाई सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव सन्दीप देवले नेपालको ऊर्जा क्षेत्रमा ठूलो पूँजीको आवश्यकता रहेको बताउँदै लगानीकर्ताका लागि यस क्षेत्रमा अथाह अवसर रहेकाले पुँजी परिचालन गर्न अनुरोध गर्नुभयो ।

उक्त दूतावासका अनुसार सम्मेलनमा बेलायती बैंक, निजी लगानीकर्ता, बीमा कम्पनी, अन्य युरोपेली मुलुकका वित्तीय संस्थाका प्रतिनिधि, सरकारी प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो । रासस