एजेन्सी । एसिया कप क्रिकेट प्रतियोगिता भोलि अर्थात सप्टेम्बर ३० देखि सुरु हुँदैछ । ७ पटकको च्याम्पियन टोली भारत र २ पटकको विजेता पाकिस्तान उपाधि जित्ने प्रबल दावेदार हुन् ।
भारत विश्वकप २०१९ पछि एकदिवसीय खेल जित्ने सबैभन्दा सफल टोली हो भने पाकिस्तानले आफ्ना घातक फास्ट बलरसँगै बलियो शीर्ष क्रमको साथ उपाधि दाबेदारी प्रस्तुत गरेको छ ।
डिफेन्डिङ च्याम्पियन श्रीलंका, बंगलादेश र अफगानिस्तान डार्क हर्स बनेर प्रतियोगितामा प्रवेश गर्नेछन् । अर्कोतर्फ पहिलो पटक यस प्रतियोगितामा हिस्सा बनेको नेपाली टोली पनि राम्रा खेलाडीले भरिपूर्ण छन् । आत्मविश्वास र सन्तुलित टिमका साथ नेपाल उद्घाटन खेलमा आयोजक पाकिस्तानविरुद्ध उत्रनेछ ।
यसैबीच आज यहाँ एसिया कपमा सहभागि सबै टोलीहरुको बलियो र कमजोर पक्ष केलाउने प्रयास गरौँ ।
नेपालः पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले सन् २०१९ को एकदिवसीय विश्वकपपछि ५१ खेल खेलेको छ । जसमा २७ जित हात पारे पनि एसिया कपका बाँकी ५ टोलीसँग नेपालले एउटा खेल पनि खेलेको छैन । टोलीले पहिलो पटक भारत र पाकिस्तानसँग एकदिवसीय खेल खेल्दैछ ।
नेपालको बलियो पक्षः
२ ब्याट्सम्यानले एक हजार माथि रन बनाएका छन्, ३ बलरले ५० माथि विकेट लिएका छन्ः २०१९ को एकदिवसीय विश्वकपपछि नेपालका २ ब्याट्सम्यानले ११ सयभन्दा बढी रन बनाएका छन् भने ३ बलरले ५० भन्दा बढी विकेट लिएका छन् । कप्तान रोहित पौडेलले एक हजारभन्दा बढी रन बनाएका छन् । बलिङमा सन्दीप लामिछानेले ९६ विकेट लिएका छन् । टोलीका करण केसी र सोमपाल कामीले पनि पछिल्लो ४ वर्षमा ५० भन्दा बढी विकेट लिएका छन् ।
नेपालको कमजोर पक्षः
ठूला टोलीविरुद्ध अनुभवको कमीः नेपालसँग ठूला टोलीसँग खेल्ने अनुभव कम छ । टोलीका खेलाडीले जति पनि प्रदर्शन गरेका छन् ती एसोसिएट टोलीविरुद्ध रहेका छन् । यस्तो अवस्थामा ठूला टोलीविरुद्ध प्रदर्शन गर्नु नेपालका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ ।
भारतः एसिया कपको सबैभन्दा सफल टोली भारत ७ पटक प्रतियोगिताको च्याम्पियन बनेको छ । केएल राहुल, श्रेयस अय्यर र जसप्रित बुमराह जस्ता खेलाडी चोटबाट फर्किएर टोलीमा स्थान बनाएका छन् । कप्तान रोहित शर्माले २०१८ मा एकदिवसीय एसिया कपको उपाधि टोलीलाई जिताइसकेका छन् । तर २०२२ मा भने सुपर–४ चरणमा श्रीलंका र पाकिस्तानसँग पराजित भएपछि टोली फाइनलमा पुग्नबाट रोकिएको थियो । यस पटक विराट कोहली, रवीन्द्र जडेजा र हार्दिक पाण्डेयजस्ता अनुभवी खेलाडीसँगै युवा खेलाडीको पनि टोलीलाई च्याम्पियन बनाउने जिम्मेवारी हुनेछ ।
भारतको बलियो पक्षः
उत्कृष्ट फर्ममा रहेको टोलीः भारतले २०१९ एकदिवसीय विश्वकपपछि ५७ ओडीआई खेलेको छ । उसले ३४ खेलमा जित हासिल गरेको छ जुन सबै टोलीहरूमध्ये सबैभन्दा धेरै हो । भारतले हालै वेस्ट इन्डिज, श्रीलंका र न्युजिल्याण्ड जस्ता बलिया टोलीलाई एकदिवसीय शृंखलामा हराएको छ ।
बलियो ब्याटिङ अर्डरः विराट कोहली, रोहित शर्मा र शुभमन गिलजस्ता खेलाडीका साथ अनुभवी श्रेयस अय्यर र केएल राहुल टोलीमा फर्किएका छन् । तल्लो क्रममा हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले ब्याटिङ लाइनलाई बल दिइरहेका छन् ।
बलिङमा विविधताः जसप्रित बुमराहको पुनरागमनसँगै मोहम्मद सिराज र मोहम्मद शामी अहिले उत्कृष्ट फर्ममा छन् । २०१९ विश्वकपपछि सर्वाधिक विकेट लिने खेलाडी शार्दुल ठाकुर पनि टोलीमा छन् । जडेजासँगै कुलदीप यादवले पनि स्पिन पक्षलाई मजबुत बनाइरहेका छन् ।
भारतको कमजोर पक्षः
घाइते खेलाडीको फर्मः अय्यर, राहुल र बुमराह चोटपछि फर्किरहेका छन् । बुमराहले आयरल्यान्ड सिरिजमा ४ विकेट लिएर राम्रो लयको संकेत देखाए पनि बाँकी २ खेलाडीको फर्म टोलीका लागि समस्या सावित हुन सक्छ ।
तल्लो क्रमको कमजोर ब्याटिङः ७ नम्बरमा रहेका जडेजापछि टिमका बाँकी ४ खेलाडीको ब्याटिङ निकै कमजोर छ । कुलदीप, बुमराह, शमी र सिराज कुनै पनि ब्याट्सम्यानले अन्तिम १२ बलमा १५ रन बनाउने जिम्मेवारी लिन सक्नेछैनन् ।
लेफ्ट आर्म पेसरः टीमका धेरैजसो ब्याट्सम्यान बायाँ हाते पेसरहरूविरुद्ध समस्यामा पर्छन् । पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकासँग एक न एक बायाँ हात तेज बलर छन् जसले भारतीय टोलीका लागि समस्या खडा गर्न सक्छ । अर्कोतर्फ, भारतसँग एउटा पनि बायाँ हाते फास्ट बलर छैन ।
पाकिस्तानः पाकिस्तान आईसीसीको एकदिवसीय वरियतामा नम्बर १ टोली हो । एसिया कप भन्दा ठीक अघि, टोलीले श्रीलंकामा अफगानिस्तान विरुद्धको एकदिवसीय शृंखला ३–० ले जितेको थियो । टोलीका शीर्ष ३ ब्याट्सम्यान इमाम–उल–हक, फखर जमान र बाबर आजमले २०१९ एकदिवसीय विश्वकपपछि १६ शतक बनाएका छन् । जुन यस अवधिमा बाँकी देशको टप–३ को तुलनामा सबैभन्दा बढी हो ।
पाकिस्तानको बलियो पक्षः
शीर्ष क्रमले ३१ खेलमा १६ शतक बनाएः पाकिस्तानी कप्तान बाबर आईसीसी एकदिवसीय ब्याट्सम्यान वरीयतामा नम्बर १ मा छन् । ओपनर इमाम उल हक र फखर जमान पनि शीर्ष ५ ब्याट्सम्यानमा परेका छन् । साथै, तीन जनाले २०१९ विश्वकप पछि ३१ खेलहरूमा १६ शतक बनाए, जुन सबै देशका शीर्ष–३ ब्याट्सम्यानहरूमध्ये सबैभन्दा धेरै हो ।
ब्याटिङ र बलिङ दुवै गर्न माहिर ४ खेलाडीः पाकिस्तानको सम्भावित प्लेइङ–११ मा ४ जना खेलाडी ब्याट र बल दुबै पक्षबाट जित्ने क्षमता राख्छन् । जसमा शादाब खान, फहीम अशरफ, मोहम्मद नवाज र मोहम्मद वसीम रहेका छन् ।
१४५ किमी गति बल फ्याँक्ने ३ खेलाडीः पाकिस्तानको सामूहिक पेस बलिङ आक्रमण हाल विश्वको सबैभन्दा छिटो बलिङ आक्रमण हो । शाहीन खान, नसिम शाह र हरिस रौफ तीनै जनाले १४५ किलोमिटर प्रतिघण्टाभन्दा बढीको गतिमा बलिङ गर्न सक्छन् । उनीहरुको अतिरिक्त गतिले टोलीलाई फाइदा पुर्याउन सक्छ ।
पाकिस्तानको कमजोर पक्षः
कमजोर मध्यक्रमः पाकिस्तानमा शीर्ष ३ ब्याट्सम्यान उत्कृष्ट छन् तर मध्यक्रममा निरन्तरता कमजोर देखिन्छ । इफ्तिखार अहमद, मोहम्मद रिजवान र आगा अली सलमान धेरै प्रतिभाशाली छन् तर ठूला एकदिवसीय प्रतियोगितामा उनीहरुले त्यति उल्लेख्य प्रदर्शन गरेका छैनन् । पाकिस्तानले सुरुमै दुई–तीन विकेट गुमायो भने टोली दबाबमा पर्न सक्छ ।
कम खेल खेलेः २०१९ एकदिवसीय विश्वकप यता पाकिस्तानले ३१ ओडीआई खेलेको छ । यो अफगानिस्तान (२४ खेल) पछि सबैभन्दा कम हो । यो अवधिमा भारतले ५७ खेल खेलेको छ । अर्थात् पाकिस्तानी टोलीले पछिल्ला वर्षहरूमा थप एकदिवसीय खेल खेल्न सकेको छैन । ठूला प्रतियोगिताहरूमा यो टोलीका लागि हानिकारक हुन सक्छ ।
खराब फिल्डिङः पाकिस्तानी टोलीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा खराब फिल्डिङ पक्ष मानिन्छ । महत्वपूर्ण अवसरमा क्याच छोड्ने, रनआउटका अवसर गुमाउने पाकिस्तानी टोलीको पहिचान बनेको छ । यो कमजोरीले टोलीलाई अप्ठेरो पर्न सक्छ ।
श्रीलंकाः गत वर्ष टी–२० एसिया कपको फाइनलमा पाकिस्तानलाई हराउँदै एसिया कप जितेको श्रीलंकाले घरेलु खेलमा फाइदा उठाउनेछ । टोलीले पाकिस्तानमा एउटा मात्र खेल खेल्नेछ । यदि श्रीलंका सुपर–४ चरणमा पुग्यो भने तीनवटै खेल घरेलु अवस्थामा मात्र हुनेछ । यस्तो अवस्थामा टोलीसँग लगातार दोस्रो पटक फाइनल पुग्ने अवसर हुनेछ ।
श्रीलंकाको बलियो पक्षः
घरेलु दर्शकको फाइदाः श्रीलंकाले सुपर–४ चरणसम्म घरेलु मैदानमा ५ खेलमध्ये ४ खेल खेल्नुपर्नेछ । टोलीले घरेलु मैदानमा ५८ प्रतिशत खेल जितेको रेकर्ड छ । श्रीलंकाले यस एसिया कपमा यसको फाइदा लिन सक्छ ।
बलियो स्पिन लाइन अपः श्रीलंकाका पिचले स्पिनरलाई फाइदा पुर्याउँछ । टोलीमा वानिन्दु हसरंगा र महिश तिक्षानाजस्ता स्पिनरहरू छन् । सन् २०१९ को विश्वकपपछि हसरंगाले ५८ विकेट लिएका छन् भने तिक्षानाले ३६ विकेट लिएका छन् ।
लंका प्रिमियर लिगबाट फाइदाः श्रीलंकाका सबै खेलाडी लंका प्रिमियर (एलपिएल) खेलिसकेपछि सिधै एसिया कपमा प्रवेश गर्नेछन् । एलपिएल टी–२० ढाँचामा खेलिएपनि यहाँ खेल्दा खेलाडीहरूलाई पिच र अवस्थाको अनुभूति भएको छ, जसले प्रतियोगितामा टोलीलाई फाइदा पुर्याउँछ ।
श्रीलंकाको कमजोर पक्षः
ब्याट्सम्यान लयभन्दा बाहिरः कुसल मेन्डिसको साथ मध्यक्रममा चरिथ अस्लान्का र अविष्का फर्नान्डो लयमा छैनन् । २०१९ को विश्वकपपछि टिमका कुनै पनि ब्याट्सम्यान रन बनाउने शीर्ष २० खेलाडीमा परेका छैनन् । मध्यक्रमका ब्याट्सम्यान पनि शीर्ष ४० स्कोररको सूचीबाट बाहिर छन् ।
पाँच खेलाडी घाइतेः तीव्र गतिका बलर लाहिरु कुमारा र दुस्मन्थ चमेरा चोटका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्न सकेनन् । योसँगै एलपिएलमा हसरंगा, अविष्का र कुसल परेरा पनि घाइते भएका छन् । पाँचै जना टोलीका प्रमुख खेलाडी हुन्, जसको एसिया कपमा उपस्थितीमा शंका छ ।
भारत, पाकिस्तान र अफगानिस्तानविरुद्ध कमजोर रेकर्डः अफगानिस्तानले गत वर्ष श्रीलंकालाई एकदिवसीय सिरिजमा पराजित गरेको थियो । टोलीले २०१९ विश्वकपपछि भारतविरुद्ध एउटा मात्र खेल जित्न सकेको थियो भने पाकिस्तानविरुद्ध एउटा पनि खेल जित्न सकेको छैन ।
बंगलादेशः सन् २०१८ को एसिया कपको फाइनलमा भारतसँग अन्तिम बलमा पराजित भएको बंगलादेशले गत वर्ष एकदिवसीय शृंखलामा भारतलाई पराजित गरेको थियो । टोलीले गत वर्ष दक्षिण अफ्रिकालाई समेत सिरिजमा पराजित गरेको थियो । तमिम इकबाल घाइते भएपछि शकिब अल हसनले फेरि टिमको कप्तानी गर्ने भएका छन् ।
बंगलादेशको बलियो पक्षः
बलियो मध्यक्रमः लिटन दास, मुस्फिकुर रहिम र युवा खेलाडी मेहिदी हसन २०१९ विश्वकपपछि टोलीका सर्वाधिक रन बनाउने खेलाडी हुन् । अनुभवी शकिबले ठूला टोलीविरुद्ध र ठूला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्छन् । उनी टिमको ब्याटिङ अर्डरको जिम्मेवारी सम्हाल्नेछन् ।
चार बलिया बलरः शकिब, मेहदी, तस्किन अहमद र मुस्ताफिजुर रहमान चारै विश्वस्तरीय बलर हुन् । उनीहरु सन् २०१९ को विश्वकपपछि टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन् । मेहदी हसनले ५३ विकेट लिएका छन् ।
बंगलादेशको कमजोर पक्षः
टप अर्डरमा अनुभवको कमीः मोहम्मद नइम र नजमुल हुसैन शान्तोसँग टप अर्डरमा अनुभवको कमी छ । नइमले ४ र शान्तोले २७ ओडिआई मात्र खेलेका छन् ।
तल्लो क्रमको ब्याटिङ कमजोरः ७ नम्बरमा मेहदी हसन मिराजपछि टोलीको ब्याटिङ सकिनेछ । नसुम, मुस्ताफिजुर, तस्किन र हसन महमुदको ब्याटिङ क्षमता छैन ।
खराब लयः तमिम इकबाल चोटका कारण एसिया कप खेल्ने छैनन् । उनले हालै सन्यास लिएका थिए जसका कारण टोलीले अफगानिस्तानसँगको एकदिवसीय सिरिज गुमाएको थियो । उनले सन्यास फिर्ता लिए, तर टोलीले २०१९ यता श्रीलंकाविरुद्ध ६ मध्ये २ खेल मात्र जितेको छ । बंगलादेशसँगै अफगानिस्तान र श्रीलंका एकै समूहमा छन् ।
अफगानिस्तानः ७ स्पिन विकल्पसहित एसिया कप खेल्ने अफगानिस्तान टोलीले श्रीलंका र पाकिस्तानको स्पिन पिचमा प्रभाव पार्न सक्छ । टोलीले पाकिस्तानविरुद्धको एकदिवसीय शृंखला ३–० ले गुमाएपनि स्पिनर र रहमानुल्लाह गुरबाजले सिरिजमा आफ्नो छाप छोडेका छन् ।
अफगानिस्तानको बलियो पक्षः
चार विश्वस्तरीय स्पिनर्सः टोलीमा मुजिब उर रहमान, राशिद खान, मोहम्मद नाबी र नूर अहमद गरी ४ विश्वस्तरीय स्पिनर छन् । मुजीब र राशिदले विश्वभरका फ्रेन्चाइज लिगहरूमा विश्वस्तरीय ब्याट्सम्यानलाई समेत आउट गरेका छन् ।
गुरबाज र नाबीको ब्याटिङ लयः ओपनिङ ब्याट्सम्यान रहमानउल्लाह गुरबाजले यसअघि पाकिस्तानविरुद्ध १५१ रनको इनिङ खेलेका थिए । उनी २०१९ विश्वकपपछि टोलीको सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । तल्लो क्रममा मोहम्मद नाबी र राशिद खानमा पनि टोलीलाई ठूलो स्कोरमा पुर्याउने क्षमता छ ।
यस्तै, अफगानिस्तानले जुलाईमा आफ्नै होममा भएको एकदिवसीय सिरिजमा बंगलादेशलाई हराएको थियो । टोलीले गत वर्ष श्रीलंकालाई एकदिवसीय सिरिजमा हराएको थियो । एउटै समूहमा रहेका तीनवटै टोलीमध्ये अफगानिस्तानको सुपर–४ चरणमा पुग्ने सम्भावना बढी छ ।
टोलीको कमजोर पक्षः
ब्याटिङः द्दण्ज्ञढ को विश्वकप पछि, टोलीका कुनै पनि ब्याट्सम्यान शीर्ष ५० स्कोररको सूचीमा पर्न सकेनन्। गुरबाज र नाबी बाहेक अन्य ब्याट्सम्यानसँग अनुभवको कमी छ । कप्तान हशमतुल्लाह शाहिदीको पनि ब्याटिङ निकै कमजोर छ ।
फास्ट बलरको कमीः फजलहक फारुकी बाहेक टोलीका कुनै पनि फास्ट बलर विश्वस्तरीय ब्याटिङको अगाडि प्रभावशाली छैनन् । फारुकीले विश्वकप २०१९ पछि १९ खेलमा ३२ विकेट लिएका छन्, उनी बाहेक कुनै पनि फास्ट बलरले १० भन्दा बढी खेल पनि खेलेका छैनन् ।
ठूला टोलीविरुद्धको अनुभवको कमीः अफगानिस्तानले हालसम्म भारत र पाकिस्तानविरुद्धको खेलमा जित निकाल्न सकेको छैन । टोली सुपर–४ चरणमा पुगे पनि उसको अगाडिको बाटो निकै कठिन हुने देखिन्छ ।