१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

पुस्तकालयका पुजारी ‘फलाहारी बाबा’

पुस्तकालयका पुजारी ‘फलाहारी बाबा’
अ अ+ अ-

झापा । लामा दाह्रीजुँघा पालेर गेरु बस्त्रमा खाली खुट्टा हिँड्ने मेचीनगर–१० का ७४ वर्षीय प्रेमप्रकाश पोखरेल आध्यात्मिक चिन्तक र योगसाधक हुनुहुन्छ । अन्न आहार नगर्ने भएकाले उहाँ आफ्नो नामका पछाडि थरको साटो ‘फलाहारी’ लेख्न रुचाउनु हुन्छ । आम मानिसहरु उहाँलाई ‘फलाहारी बाबा’ पनि भन्छन् ।

सन्त स्वाभावका ‘फलाहारी बाबा’को चिनारी पूजापाठसँग होइन, पुस्तकालयसँग जोडिएको छ । खाली खुट्टा हिँडेर उहाँले मागेका पुस्तक र दानले अहिले मेचीनगरको धुलाबारीमा नेपालकै सबैभन्दा ठूलो त्रिफला राष्ट्रिय पुस्तकालय सञ्चालन भइरहेको छ । पचास हजारभन्दा बढी पुस्तक सङ्ग्रहित सो पुस्तकालयको चार तले भब्य भवन ‘फलाहारी बाबा’ले दानमा मागेर निर्माण गर्नुभएको हो ।

“हरेक दिन बिहानीको ४ बजे उठेर योगाभ्यास गरेपछि सरस्वतीको मन्दिरमा नित्य पूजा गर्छु,” पुस्तकालयको एउटा कोठामा बस्दै आउनु भएको ‘फलाहारी बाबा’ भन्नुहुन्छ–“छ बजिसक्दा शङ्खध्वनी फुकिसकेर पुस्तकालयका कोठाहरुमा कुचो र पोचा लगाइसक्छु । कहिलेकाहिँ त लाग्छ, म यही पुस्तकालय स्थापना र सञ्चालनका लागि नै जन्मिएको हुँ ।”

बिहानदेखि बेलुकीसम्म पुस्तकालयकै काममा व्यस्त रहनुहुने ‘फलाहारी बाबा’को निजी घर पुस्तकालयभन्दा एक किलोमिटर नजिक छ । तर, उहाँ घरको काम गर्नुहुन्न । गत वर्ष पत्नीको देहान्त भएपछि छोराबुहारीले घर व्यवहार सम्हालिरहेका छन् । त्यसअघि पत्नीले नै घरव्यवहार सम्हाल्नु भएको थियो । उहाँले आफ्नो जीवनको सारा समय, श्रम र उमेर त्रिफला पुस्तकालयकै उन्नयनमा व्यतित गर्नु भएको छ ।

नरहरिनाथको प्रेरणा

धरानको पिण्डेश्वर संस्कृत विद्यापीठबाट शास्त्री तहको शिक्षा प्राप्त गर्नुभएको ‘फलाहारी बाबा’ सानैदेखि धार्मिक र त्यागी स्वाभावको हुनुहुन्थ्यो । पढ्ने उमेरमा पहाडको गोठमा छँदा बुबाआमाले विहे भनेर नचिनेकी बेहुलीसँग एकैचोटी जग्गेमा बसाउँदा रिसाएर उहाँ सुहागरात अघि नै भागेर पिण्डेश्वर संस्कृत विद्यापीठ आउनु भएको थियो । घरबाट टाढिएर उहाँले आफ्नो शिक्षा आर्जनको भोक मेटाउनुभएको थियो ।

झापामा बसाई सरेर आएकै बेला २०४२ सालमा योगी नरहरिनाथसँग भेट भएपछि उहाँको जीवन ज्ञान र ध्यानतिर मोडियो । २०४५ सालदेखि २०५० सम्ममा उहाँले खाली खुट्टा नेपालका तत्कालीन ७५ जिल्ला भ्रमण गरेर लागू पदार्थको दूव्र्यसनविरुद्ध अभियान सञ्चालन गर्नुभयो । जीविकाका लागि धुलाबारीमा चलाउँदै गरेको कृषि सामग्रीको पसल बन्द गरेर उहाँ सामाजिक र धार्मिक अभियानमा होमिनु भएको थियो । “ज्ञान, ध्यान र त्यागको कुरा मैले योगीजीबाट सिक्ने मौका पाएँ,” सामाजिक सेवामा समर्पित हुँदाको विगत सुनाउँदै उहाँ भन्नुहुन्छ–“इतिहास, धर्म, काब्य र साहित्यको कुरा पनि मैले उहाँबाटै सिकेँ । त्यसपछि मेरो मनमा के गरौँ के गरौंँ भइरहेका बेला पुस्तकालय खोल्ने विचार आयो ।”

हिन्दू धर्मका प्रकाण्ड विद्धान डा। स्वामी प्रपन्ननाचार्य, प्रा।डा। गोविन्दराज भट्टराई, पूर्व प्रमुख जिल्ला अधिकारी टिकाराम अर्याल, पूर्व जिल्ला शिक्षा अधिकारी उद्धव बिष्ट, अर्जुनधारा जलेश्वर धामका पूर्वप्राचार्य स्व। पुष्पलाल आचार्य, काँकरभिट्टाका समाजसेवी स्व। छत्रबहादुर बस्नेत, सिक्किमका साहित्यकार टीका ढुङ्गेललगायतको संगत र हौसलाबाट उहाँले मेचीनगरको धुलाबारीमा जग्गा, भवन, अक्षयकोष र सयौं आजीवन सदस्यसहितको त्रिफला राष्ट्रिय पुस्तकालय स्थापना गर्न सफलता पाउनुभयो ।

घुम्तीदेखि महलसम्म

विसं २०५३ मा ज्यामिरगढी जाने बाटोको किनारमा सानो घुम्ती पसलमा पुस्तक फिजाएर पुस्तकालयको श्रीगणेश गर्दा धेरैले ‘फलाहारी बाबा’लाई पागलकै संज्ञा दिए । खाली खुट्टा हिँड्ने र फलफूल मात्र आहार गर्ने उहाँले निजी आर्जन हुने दोकान बन्द गरेर घुम्तीमा पुस्तक फिजाउँदा गाउँलेलाई अचम्मै लागेको थियो । कतिपयले पसल खोलेको ठानेर पुस्तक किन्न पनि आउँथे ।

“मानिसहरुमा पुस्तक पढ्ने बानी बसोस् र सजिलै पुस्तक उपलब्ध होस् भनेर सडक किनारमा चिया पसल जस्तो गरेर पुस्तकालय खोलेको थिएँ,” उहाँ २७ वर्षअघिका दिनहरु सम्झिदै भन्नुहुन्छ–“पुस्तक बेच्न राखेको पसल होइन रहेछ । यो त पुस्तक पढ्ने ठाउँ पो रहेछ भन्ने बुझ्दै गएपछि पाठकहरु घुम्तीमा झुम्मिन थाले । दिनभरि बाटोमा हिँड्ने मान्छेहरुलाई घुम्तीमा बोलाउँदै पुस्तक पढ्नुपर्छ भन्दै सिकाउन थालेपछि केहीले मलाई पागल भएको ठानेँ भने धेरै सज्जनहरुले मलाई राम्रो कामको थालनी गर्नुभयो भनेर हौसला पनि दिनुभयो ।”

धुलाबारीका दानवीर देवेन्द्रविक्रम नेम्वाङले १० धुर जग्गा नि:शुल्क दिनु भएपछि उहाँले पुस्तकालय भवन निर्माण गर्ने र देशभरिबाट पुस्तक सङ्ग्रह गर्ने अठोट गर्नुभयो । २०६० सालमा दाताहरुकै सहयोगमा पुस्तकालय भवन निर्माण सुरु भयो । थप १० धुर उहाँकै जमिन खरिद गरेपछि एउटा कोठा, अर्को कोठा गर्दै एक तला भवन बनाइसकेपछि वर्षेनी दान खोजेर दोस्रो र तेस्रो गर्दै चार तलासम्म अहिले भब्य पुस्तकालय भवन निर्माण भइसकेको छ ।

पुस्तक खोज्न चाहिँ उहाँ नेपालका धेरै जिल्ला, धेरै विद्वान व्यक्तित्वहरु र भारतको सिक्किम दार्जीलिङतिर धाउनुभयो । “सबैभन्दा पहिला काठमाडौं केशर पुस्तकालय गएँ, त्यहाँ पढ्न पाइँदोरहेछ लैजान पाइँदैन रहेछ । बल्ल एउटा सानो निबन्ध पाएँ”, उहाँले भन्नुभयो–“ त्यसपछि स्वामी प्रपन्नाचार्यलाई पुस्तक मागेँ, बेद, पुराणसहित एक भारी धार्मिक पुस्तक दिएर पठाउनुभयो । अनि साहित्यकार र विद्वान व्यक्तिका घरघरै धाउन थालेँ । भारीका भारी पुस्तक जुट्न थाल्यो । घरघरबाट भेला पारिएका पुस्तकका भारीलाई बोरामा कसेर नाम्लो लगाउँदै बोकेर बसपार्कमा ल्याउँथे ।”

मागेरै उहाँले पुस्तकको थाक लगाउनुभयो भने अग्लो भवन ठड्याउनु भयो । तर, पुस्तकालयमा उहाँले कुचो लगाउने पनि आफै, र्याकमा मिलाएर राख्ने पनि आफै, धुलोमैलो सफा गर्ने पनि आफै र अध्यक्ष पनि आफै भएर सेवा गरिरहनु भएको छ । पुस्तकालयमा अहिले संग्रहित पुस्तक यति धेरै छन् कि राख्ने ठाउँ पनि साँघुरो भइसकेको छ । प्रदेश सरकारको अनुदानमा पुस्तकहरुको वैज्ञानिक विधिबाट क्याटलगिङ र बाइन्डिङ कार्य धमाधम भइरहेको छ । प्रदेश सरकारले नै पुस्तक राख्ने आधुनिक स्टील र्याक समेत उपलब्ध गराएको छ ।

भूईं र तेस्रो तलामा पुस्तकहरु सजाएर राखिएका छन् । दोस्रो तलामा सभा हल र उहाँको बस्ने सुत्ने कोठा छ । त्यस कोठामा ‘फलाहारी बाबा’ दिनहुँ योगा सिकाउनु हुन्छ । दिउँसो साहित्यिक र पठन संस्कृतिसम्बन्धी छलफल र गोष्ठीहरु आयोजना हुन्छन् । तेस्रो तलामा पाहुना राख्ने अतिथिगृह धमाधम निर्माण भइरहेको छ । कोठाहरुको नाम पनि उहाँले काठमाडौं, चितवन, आसाम र सिक्किम राख्नु भएको छ । सो स्थानमा एउटा फराकिलो बैठक कोठा र भान्साको समेत व्यवस्था गरिएको छ ।

पुस्तकालय धाउँथे सिडिओ

झापामा २०५९ सालतिर प्रमुख जिल्ला अधिकारी नियुक्त भएर टिकाराम अर्याल आउनु भएको थियो । उहाँ पुस्तकालयप्रेमी हुनुहुन्थ्यो । उहाँलाई विमानस्थलमा स्वागत गर्न लामो दाह्रीजुँघा पालेका प्रेमप्रकाश फलाहारी नै पुग्नुभएको थियो । एक दिन समय निकालेर उहाँ फलाहारीलाई खोज्दै धुलाबारी आउनुभयो । धुलाबारीको सडक छेउमा काठको घुम्तीमा पुस्तक फिँजाएर बसिरहेको देखेपछि उहाँलाई त्यसलाई व्यवस्थित गर्न सहयोग गर्ने इच्छा जागृत भयो । “उहाँलाई पुस्तकालय यही हो भनेर सोधँे”, अर्याल भन्नुुहुन्छ, “उहाँले यही हो अरु पनि पुस्तक छन् भन्दै मलाई भित्र अँध्यारो कोठामा लगेर पुस्तक देखाउनुभयो । जहाँ बहमूल्य हस्तलिखित ग्रन्थहरु पनि थिएँ । पुस्तक संरक्षण गर्नुपर्छ भन्दा हामीसँग केही छैन सर भन्नुभयो । मैले योजना लिएर जिप्रकामा नै आउन आग्रह गरेर निस्कें ।”

दयनीय अवस्थामा सञ्चालन भइरहेको देखेपछि अर्यालले क्यारिटास नेपाललाई गुहारेर पुस्तकालयका लागि पहिलो संस्थागत रु। एक लाख दिलाउनु भएको थियो । झापामा प्रजिअ पदमा रहँदा उहाँ नियमित रुपमा त्रिफला राष्ट्रिय पुस्तकालय धाउनु हुन्थ्यो । उहाँले अरु दाता समेत खोज्न मदत पुर्याउनु भएको फलाहारी बताउनुहुन्छ । वि।सं। २०५४ सालमा सुनसरीको प्रमुख जिल्ला अधिकारी हुँदादेखि नै फलाहारीसँग चिनजान भएको उहाँले बताउनुभयो ।

फलाहारी चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालयमा आफूलाई भेट्न खाली खुट्टै आउनु भएको स्मरण गर्दै अर्यालले फलाहारीलाई समाजले चिन्न नसकेको सुन्दर हिराको संज्ञा दिनुभयो । फलाहारीको नि:स्वार्थ र समर्पित नेतृत्व नभए त्रिफला पुस्तकालय सम्भव नहुने उहाँको धारणा छ । “एउटा व्यक्तिको समर्पणले बनेको यस्तो ठूलो सम्पतिको संरक्षणमा हामी सबै लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “पुस्तकलाई व्यवस्थित ९क्याटलगिङ० र नम्बरिङ गर्न उहाँलाई आर्थिक समस्या हुन सक्छ सबैले सहयोग गर्नुपर्छ ।”

झापाका पूर्व जिल्ला शिक्षा अधिकारी उद्धव बिष्ट पनि प्रेमप्रकाश फलाहारी अद्भूत, लगनशील र सादगी व्यक्तित्व भएको बताउनुहुन्छ । उमेरले वृद्ध हुँदा पनि पुस्तकालयका लागि मरिमेटेर लागिरहेको देख्दा उहाँप्रतिको श्रद्धा बढेर आउने बिष्टले बताउनुभयो । फलाहारी बाबाको नि:स्वार्थ भावनाको कदर गरेरै दाताहरुले चार तले पुस्तकालय भवन बनाउन र त्यसलाई सञ्चालनका लागि आतुरता देखाएको बिष्टको विश्लेषण छ । भारतको दार्जीलिङ, सिक्किम र आसामसम्मका नेपाली भाषीहरुको मिलन केन्द्रको रुपमा त्रिफला पुस्तकालय बन्न सकेको जनाउँदै नेपाल र भारत ओहोरदोहोर गर्ने हरेक साहित्यकारले त्रिफलालाई तीर्थस्थल जस्तो मानेर भ्रमण गर्ने गरेको उहाँले बताउनुभयो ।

चन्द्रकला भण्डारी/ रासस