१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टर मियामी लिग्स कपको फाइनलमा



अ+ अ-

एजेन्सी । इन्टर मियामी लिग्स कपको फाइनलमा प्रवेश गरेको छ । नेपाली समयानुसार बुधबार बिहान सम्पन्न सेमिफाइनल खेलमा फिलाडेल्फिया युनियनलाई ४–१ गोलले पराजित गर्दै मियामीले फाइनलमा स्थान बनाएको हो ।

मियामीको जितमा जोसेफ मार्टिनेज, लियोनल मेसी, जोर्डी अल्बा र डेभिड रुइजले एक–एक गोल गरे । फिलाडेल्फियाका लागि अलेजान्ड्रो बेडोयाले एक गोल फर्काए ।

फिलाडेल्फिया युनियनले आफ्नो घरेलु पिचमा अन्तिम ४१ प्रतिस्पर्धामा एउटा मात्र खेल हारेको थियो । तर, फिलाडेल्फिया आज मियामीसँग आफ्नै मैदानमा लज्जास्पद हार बेहोरेको हो ।

खेलको तेस्रो मिनेटमा नै जोसेफ मार्टिनेजले गोल गर्दै मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए । २० औं मिनेटमा मेसीले गोल गर्दै मियामीको अग्रता दोब्बर पारे । उनले डी–बक्सभन्दा बाहिरबाट उत्कृष्ट गोल गरे ।

यस्तै, पहिलो हाफको इन्जुरी समयमा अल्बाले गोल गर्दै मियामीलाई ३–० ले अघि बढाए । ७३ औं मिनेटमा बेडोयाले गोल गर्दै फिलाडेल्फियालाई १–३ मा ल्याए । यता, ८४ औं मिनेटमा रुइजले गोल थप्दै मियामीलाई ४–१ को जित दिलाए ।

मियामीले अब उपाधिका लागि मोन्टरी र नासभिलेबीचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।