९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

खडेरीको असर : खेतमै सुक्न थाल्यो धान र कोदाको बीउ

खडेरीको असर : खेतमै सुक्न थाल्यो धान र कोदाको बीउ
अ अ+ अ-

गलेश्वर । गर्मीका कारण म्याग्दीका किसानले खेतमा राखेको धानको बीउ खेतमा नै सुक्न थालेको छ ।

लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण यहाँको लेकाली क्षेत्रमा समेत रोपाइँ सुरु हुन सकेकोे छैन भने तल्लो क्षेत्रमा धानको बीउ, सिमीलगायत बर्खेबाली खेतबारीमै सुक्न थालेको किसानले बताएका छन् ।

पानी नपर्दा लेकाली क्षेत्रमा कोदोसमेत रोप्न नपाएको मालिका गाउँपालिका–२ का कृष्णबहादुर विकले जानकारी दिनुभयो । ‘यतिबेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण रोपाइँ त परको कुरा बीउसमेत राम्ररी फस्टाउन पाएको छैन’, उहाँले भन्नुभयो ।

जिल्लाको बेनी नगरपालिकाका उपल्लो भेग र मालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण र रघुगङ्गाका लेकाली क्षेत्रमा विगतका वर्षमा यतिबेला कोदो रोपाइँ सकिन्थ्यो । केही ठाउँमा धान रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष भने जिल्लामा कतै पनि रोपाइँ सुरु हुन नसकेको किसानको भनाइ छ । लामो समयदेखि वर्षा नभएका कारण धान र कोदोको बीउ सुक्न थालेको छ भने मकैलगायत खेतबारीमा लगाएका अन्य गेडागुडी खेतीसमेत ओइलाउन थालेको बेनी –२ का किसान नारायण शर्मा सापकोटाले बताउनुभयो ।

‘यो वर्ष जस्तो खडेरी र चर्को गर्मी कहिल्यै भएको थिएन । गत वर्ष कोदो रोपेर धान रोपाइँ सुरु गरेका थियौँ’, उहाँले भन्नुभयो ‘यस वर्ष अहिलेसम्म कोदोसमेत रोप्न पाएका छैनौँ । बीउ सुकेर खेर जान लागिसक्यो ।’

सिँचाइको सुविधा भएका क्षेत्रमा समेत खोलामा पानी नहुँदा रोपाइँ हुन नसकेको स्थानीयले बताएका छन् । पछिल्ला केही दिनयता तापक्रम ह्वात्तै बढेकाले बालीसमेत ओइलाउन थालेको उनको भनाइ छ ।

जिल्लाका अधिकांश ठाउँमा वर्षाको भरमा खेतीबाली लगाइने गरिएको छ । करिब चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा भए पनि खोलानाला सुकेकाले समस्या भएको हो । जिल्लाको मुख्य बाली धान हो भने कोदो दोस्रो मुख्य बाली हो । मकै र गहुँ क्रमशः तेस्रो र चौथो बालीका रूपमा उत्पादन हुने गरेको छ ।

जिल्लाभर सात हजार ३५ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ भने झन्डै चार हजार हेक्टरमा कोदो र मकैखेती हुने गरेको छ । मुख्य बाली लगाउने समयमै खडेरी परेका कारण कृषकलाई समस्या परेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि वर्षा नहुँदा म्याग्दीमा रोपाइँ गर्न समस्या भएको जनाएको छ । मौसम सक्रिय नभएसम्म रोपाइँ गर्न नपाउने भएपछि कृषक समस्यामा परेका छन् ।

भरतपुरमा खडेरीले मकै खेतमै सुके
खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन् । मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई घाँसको रूपमा दिन थालेका छन् । भरतपुर महानगरपालिका–८ गौरीगन्जका नवीन पुरीले १३ गठ्ठा जग्गाको मकै पूरै सुकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘घोगा लाग्ने बेलामा मकैका बोट सुक्यो । मकैमा गरिएको मल, बीउ र खनजोतको लगानी खेर गयो ।’

भरतपुर महानगरपालिका–११ बसेनीकी जलपादेवी घिमिरेले सात गठ्ठा जग्गामा मकै लगाउनुभएको थियो । सबै मकै सुक्न थालेपछि उहाँले घाँसको रूपमा मकैका बोट काटेर गाईलाई दिन थाल्नुभएको छ । सबै परिवार कृषिमा आश्रित ७८ वर्षीय जलपादेवी मकै डढ्न थालेपछि चिन्तित बन्नुभएको छ । सोही ठाउँकी तारादेवी भण्डारीको पनि चार गठ्ठाको मकै सुकेको छ । पाइप लगाएर अलिअलि पानी हाल्दाहाल्दै पनि चर्को घामले मकै सुकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मकैका बोट सुकेपछि काटेर गाईलाई दिन थालेको छु । चाख्नसमेत नपाइने भयो मकै । मल, बीउ र मेहनत त्यसै खेर गयो ।”

कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुनले प्राकृतिक कारणले यस वर्ष मकै सुकेको भन्दै केही रोकथाम गर्ने उपाय नै नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘सिँचाइको सुविधा भएको ठाउँबाहेक अन्य ठाउँको मकै जोगाउन कठिन छ ।’ उहाँले सरकारी अनुदानमा बोरिङको सुविधा भएको ठाउँको मकै मात्र केही जोगिन सक्ने भए पनि अन्यत्रको मकै पूरै सुकेको बताउनुभयो । उहाँले मकै मात्र होइन खडेरीका कारण तरकारी खेतीमा समेत प्रभाव परेको छ ।

चितवनमा २६ हजार हेक्टर बढी क्षेत्रफलमा मकैखेती गरिने जनाइएको छ । उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७९ मेट्रिक टन रहेको छ । मकै घोगा लगाउने सिजनमै खडेरीले मकै सुकेपछि अहिले किसान समस्यामा परेका हुन् । चितवनमा प्रायः तीन सिजन मकैको खेती हुन्छ । माघ फागुनमा लगाइने ‘बसन्ते’ मकै चितवनमा १४ हजार छ सय हेक्टरमा खेती हुने गर्छ । यो मकै जेठ–असारमा पाक्छ । वैशाख–जेठमा गरिने मकै खेती साउन भदौमा पाक्छ । यसलाई वर्षे मकै भनिन्छ । चितवनमा यो मकै नौ हजार आठ सय हेक्टर बढीमा खेती गरिन्छ । यस्तै असोज कात्तिकमा लगाइने हिउँदे मकै चितवनमा १४ हजार छ सय हेक्टरमा खेती हुन्छ । यो मकै फागुन–चैतमा पाक्छ । चितवनमा वार्षिक ९४ हजार ८० मेट्रिक टन मकै उत्पादन हुने गर्छ । -रासस