१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने

नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता: प्रधानमन्त्री दाहाल

नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता: प्रधानमन्त्री दाहाल
अ अ+ अ-

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता भएको बताउनुभएको छ ।

भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम पूरा गरेका शिक्षार्थीलाई आयुक्त पद प्रदान कवाज प्रदर्शन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

नवआयुक्तहरुलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “विद्यमान राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातारवण एवं त्यसका प्रभावका पूर्वानुमानहरु र त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको सही आङ्कलन गरी जटिल चुनौतीबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता हो ।”

नेपाली सेनाले हासिल गरेको राष्ट्र र जनताको विश्वास कार्यसम्पादनमा स्पष्ट झल्कने गरेको उहाँले चर्चा गर्नुभयो । प्रधानमन्त्री दाहालले यस्तो सङ्गठनको आयुक्त भई राष्ट्र सेवा गर्ने अवसर प्राप्त हुनु आफैँमा एक गौरवपूर्ण उपलब्धि भएको भन्दै यस गर्वको क्षणलाई आफ्नो सैनिक सेवाको अन्तिम घडीसम्म कायम राख्दै राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लीन हुन नवआयुक्त अधिकृतहरुलाई निर्देशनसमेत दिनुभयो ।

नवआयुक्तहरुको काँधमा एक गहन राष्ट्रिय जिम्मेवारी थपिएको छ भन्दै उहाँले यो राष्ट्रिय जिम्मेवारीलाई उत्कृष्ट ढङ्गबाट सम्पादन गर्दै, नेपाली सेनाको छविलाई थप उचाइमा पुर्‍याउने जिम्मेवारी पनि थपिएको बताउनुभयो ।

संसारभरि वीर गोर्खालीको देश भन्ने पहिचान पनि नेपाली सेनाकै बहादुरी र वीरताबाट हासिल भएको हो भन्दै उहाँले यस पहिचानलाई नेपाली सेनाले आधुनिक हातहतियार, प्रविधिमैत्री, तालिम, स्रोतसाधन र सम्पन्न उच्च हौसला युक्त उत्कृृष्ट सेनाका रुपमा स्थापित गरेको बताउनुभयो ।

नेपालको इतिहासमा नेपाली सेनाले पुर्‍याउँदै आएको अटुट योगदानलाई सदैव स्मरण गर्दै आगामी दिनमा पनि यसबाट प्ररेणा लिँदै नवआयुक्तहरुले सक्दो योगदान दिनेमा विश्वास उहाँले व्यक्त गर्नुभयो । संवैधानिक सरकारको मातहत र निर्देशनमा व्यावसायिक एवं मर्यादित सङ्गठनका रुपमा स्थापित गर्न नेपाली सेनाले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले देशभित्र मात्रै नभई देशबाहिर समेत नेपाली शान्ति सेनाका रुपमा विश्वका विभिन्न द्वन्द्वग्रस्त देशहरुमा शान्तिदूतका रुपमा खटिएर विश्व शान्ति स्थापनार्थ पुर्‍याएको योगदानले नेपाललाई शान्ति सैनिकहरुको देशका रुपमा चिनाउन सफल भएको बताउनुभयो ।

आफ्ना विविध जिम्मेवारीहरुलाई उत्कृष्ट र व्यवस्थित ढङ्गले निर्वाह गर्न सक्षम नेपाली सेना बहुआयामिक, सबल, सक्षम एवं सुदृढ सङ्गठनका रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा स्थापित भएको भन्दै उहाँले वर्तमान अवस्थामा हाम्रो मुलुक विभिन्न परिस्थितिबीच समृद्ध भविष्यतर्फ उन्मुख रहेको चर्चा गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “विकास र समृद्धिका लागि नियमसङ्गत रुपमा सुरक्षा र सुरक्षा सुदृढीकरणका लागि विकास अपरिहार्य छ । सुरक्षा चुनौतीका साथैै भविष्यमा देखा पर्न सक्ने अन्य चुनौतीको सामना गर्न नेपाली सेना सदैव सजग, सतर्क एवं तयार रहने विश्वास व्यक्त गर्दछु ।”

यहाँबाट प्रदान गरिने तालिमलाई संसारका देशहरुले मान्यता दिएका बताउँदै उहाँले भन्नुभयो, “आज संसारका विभिन्न राष्ट्रका सैनिक सङ्गठनहरुका लागि आधारभूत अधिकृत तालिमका लागि रोजाइमा पर्न सफल यस प्रतिष्ठानले आउँदा दिनहरुमा समेत तालिमलाई समयसापेक्ष रुपमा सञ्चालन गर्ने र आफ्नो व्यावसायिक छविलाई उच्च पार्दै जाने विश्वास व्यक्त गर्दछु ।”

वर्तमान अवस्थामा तालिम लिनेहरु बढ्दै गएको तर तालिम इलाका घट्दै गएको अवस्थामा त्यसको समस्या समाधानका लागि यस तालिम केन्द्रको उपकेन्द्र निर्माणका लागि आफ्नोतर्फबाट पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “यस तालिममा मित्रराष्ट्र बङ्गलादेश, श्रीलङ्का र जाम्बियाका एक–एकजना अधिकृतसमेत यो कवाजमा सहभागी हुनुभएको र विगतमा पनि विभिन्न मित्रराष्ट्रबाट १० वर्षमा २३ जना आयुक्त भएको थाहा पाउँदा मलाई गर्वको महसुस भएको छ ।”

प्रधानमन्त्री दाहालले सि.नं ६० अधिकृत क्याडेट तालिममा उत्कृष्ट हुने कृष्ण खड्का र सि.नं ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा उत्कृष्ट हुने खगेन्द्र कार्कीलाई खुकुरी प्रदान गर्नुभयो । त्यस्तै, महिलातर्फ उत्कृष्ट हुने अप्सरा बुढाथोकीलाई छडी अवार्ड प्रदान गर्नुभयो ।

सि.नं ६० अधिकृत क्याडेट तालिममा ८६ र सि.नं ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा ३५ जनाले तीनवर्षे तालिम पूरा गरी आयुक्त पद प्राप्त गर्नुभएको छ भने जाम्भियाका एकजनाले समेत अधिकृत क्याडेट तालिम पूरा गर्नुभएको छ । कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखहरुलगायतको सहभागिता थियो । रासस