२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरा पढाउन शहर पसेर पानीपुरीको व्यापार



अ+ अ-

भजनी । हरेक आमाबाबुको इच्छा हुन्छ सन्तानलाई कम्तीमा राम्रो शिक्षा दिन सकौँ । यसका लागि पायकमै राम्रो विद्यालय होस् भन्ने चाहना पनि हुन्छ । तर सबैले भने जस्तो हुँदैन । गुणस्तरीय शिक्षाका लागि टाढासम्म जानुपर्ने बाध्यता अझै पनि छ । अभिभावकहरु राम्रा विद्यालयको खोजीमा सहर पस्न बाध्य भइरहेको घटना नौला होइनन् । त्यसैमध्येकी एक हुनुहुन्छ, कालीकोट पचाल झरना गाउँपालिका-५ कि दुर्गा बुढा ।

बुढाका तीन जना छोरा छन् । गाउँमा भने जस्तो विद्यालय नभएपछि उहाँ यतिबेला कैलालीको टीकापुर झर्नुभएको छ । उहाँले कालीकोटको घर, जग्गा र व्यापार सबै छोडेर सहर झर्नुभएको हो ।

गाउँमा छँदा चिया पसल, खेतीपाती, दुई भैँसी, एक घोडा र बाह्र खच्चर एक्लैले सम्हाल्नुभएकी उहाँले त्यो बेलामा मासिक रू ३० देखि ४० हजारसम्म कमाउनुहुन्थ्यो ।

“गाउँमा कमाइ राम्रो भए पनि विद्यालय भने जस्तो नभएपछि छोरालाई लिएर टीकापुर पठाएकी थिएँ”, उहाँले भन्नुभयो, “यहाँ बस्दा पढाइ र होस्टेलका लागि मासिक २० देखि २५ हजारसम्म खर्च हुने गरेको थियो ।” तर छोराहरुले होस्टेलको खानामा गुनासो गरेपछि आफै टीकापुर आएको उहाँले सुनाउनुभयो ।

“टीकापुर आएपछि कमाउने आधारहरू सबै सकिए । गाउँको चिया पसल गुम्यो । खेतबारी पनि उजाड बन्यो । निकै मिहेनतले बनाएको घर अलपत्र प¥यो भने आम्दानीका सबै स्रोत पनि सुके”, उहाँले भन्नुभयो ।

नयाँ आम्दानीको स्रोतका लागि उहाँले पानीपुरी र चटपटेको व्यापार सुरु गर्नुभयो । जेठो छोरा एसइई उत्तीर्ण गरी अहिले काठमाडौँमा कक्षा ११ मा पढिरहेको छ । दुई छोरा टीकापुरमै एउटा ७ मा र अर्को ५ मा अध्ययन गरिरहेका छन् । बाख्रा बेचेको पैसाबाट एउटा ठेला किनेर पानी पुरी र चटपटेको व्यापार सुरु गर्नुभएकी दुर्गालाई अहिले पहिलेको जस्तो चिन्ता भने छैन ।

“दैनिक एक हजारको हाराहारीमा कमाइ हुन्छ । महिनामा २५ हजारसम्म बचत हुन्छ”, दुर्गा भन्नुहुन्छ, “काठमाडौँ छोरालाई मासिक १२ देखि १५ हजार पठाउनुपर्छ । त्यस्तै मेरो कमाइले परिवार पालिएको छ ।” रासस