१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल News Polar कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने News Polar विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह News Polar गगनलाई ‘नयाँ दल’ भनेर नहेपेको भए हुन्थ्यो : गोकुल बाँस्कोटा News Polar सुनसरीमा २५ सय ६६ किलो गाँजासहित ट्रक नियन्त्रणमा News Polar कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय News Polar एलपीजी ग्यासबाट हुने आगलागी रोक्न ललितपुरमा नमूना अभ्यास News Polar गगनको राजनीतिक प्रतिवेदन कांग्रेस केन्द्रीय समितिबाट सर्वसम्मत अनुमोदन News Polar लगानीको वातावरण सुधार्न कानुनी र प्रक्रियागत सुधार आवश्यक : मन्त्री गौतम News Polar सुधारिएका कानूनहरु प्रभावकारी रुपमा लागू भएमात्रै लगानी बढ्छः ढकाल News Polar आफन्तको संरक्षणमा फर्किए रसुवा बाढीमा आमाबुवा गुमाएका २३ बालबालिका News Polar प्रधान सेनापति अशोक राज सिग्देल बेलायत प्रस्थान News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा News Polar फिर्के खोला अतिक्रमण हटाउने अभियान तीव्र, २६ पक्की संरचनामा चल्यो डोजर

वाल्मीकि आश्रम पुग्न पुल बन्यो, बाटो बनेन

वाल्मीकि आश्रम पुग्न पुल बन्यो, बाटो बनेन
अ अ+ अ-

भरतपुर । चितवनको वाल्मीकि आश्रम र नवलपरासी (बर्दघाट सुस्तापूर्व) त्रिवेणीधाम जोड्ने आकर्षक झोलुङ्गे पुल बनेको छ । नारायणी नदीमा बनेको यस पुललाई स्थानीयले लव–कुश झोलुङ्गे पुलको उपनाम दिएका छन् । यहाँ पुग्ने जोकोहीलाई यो पुलले आकर्षित गर्छ । पुल निर्माण सम्पन्न भएको करिब एक वर्ष भइसक्यो तर सञ्चालनमा आएको छैन ।

नेपालकै भू–भाग हुँदै चितवनको वाल्मीकि आश्रम पुग्न यो पुल निर्माण गरिएको हो तर पुल हुँदै चितवन प्रवेश गर्न निषेध गरिएको छ । पुलको चितवनतर्फ जाली लगाएर प्रवेश निषेध गरिएको छ । सूचनामा लेखिएको छ, “चितवन राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्न सख्त मनाही छ । जङ्गली जनावरबाट बचौँ र बचाउने हामी सबैको साझा दायित्व हो ।”

वाल्मीकि आश्रम प्रवेशका लागि बनाइएको पुलमा यसरी प्रवेश गर्न रोक लगाएपछि अहिले यो पुल घुम्ने र फोटो खिच्ने ठाउँ बनेको छ । अहिले दैनिक एक सयको हाराहारीमा मानिस घुम्नका लागि पुलसम्म पुग्ने गरेका छन् । पुल तर्न नपाउँदा निराश भएर फर्कनुपरेको स्थानीय नारायणप्रसाद उपाध्यायले बताउनुभयो । “पुल जे प्रयोजनका लागि बनाइएको हो त्यसको काम नै भएन उहाँले भन्नुभयो”, “अहिले यो ठाउँ घुम्ने ठाउँ मात्रै बनेको छ ।” चाँडै पुल तर्ने वातावरण बनाइदिए यहाँ पर्यटनको विकास हुने भन्दै उहाँले नेपाल हुँदै प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम पुग्ने सबै नेपालीको धोको पूरा हुने बताउनुभयो ।

नेपालीलाई चितवनको माडी नगरपालिका–१ मा पर्ने आश्रम पुग्न अहिले भारतीय भूमिको प्रयोग गर्नुपर्छ । गण्डकबाध तरेर झण्डै आठ किलोमिटर भारतीय भूमि हुँदै आश्रम पुग्न सकिन्छ । नेपालीलाई सहजरुपमा प्रवेश गर्न पनि दिइँदैन । त्यसैले यो पुल चाँडै सञ्चालनमा आइदिए आश्रम पुग्न सहज हुने स्थानीय रामचन्द्र चालिसेले बताउनुभयो । अहिले झोलुङ्गे पुलको मुखैमा पसल सञ्चालनमा छन् । यहाँ घुम्न आउनेले यहाँको व्यापार बढाएको चालिसेले जानकारी दिनुभयो । पुलमा आएर फोटो खिच्ने क्रम बढ्दो छ । भारतको विहार, उत्तर प्रदेशबाट मान्छे यहाँ आएर फोटो खिचाउने गरेका उहाँले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जले व्यवस्थित बाटो र सुरक्षा पोष्ट नबनेकाले पुल सञ्चालनमा रोक लगाइएको जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले पुल बने पनि सुरक्षा पोष्ट नबनेकाले अहिले सञ्चालनमा कठिनाइ भएको बताउनुभयो । उहाँले सुरक्षाको दृष्टिकोणले निकुञ्जको कोर एरिया भएकाले सुरक्षा पोष्ट र पैदल रुट बनेपछि पुल सञ्चालन हुने जानकारी दिनुभयो । आचार्यले पैदलमार्ग निर्माणका लागि नगरपालिकाले बजेट विनियोजन गरेर निकुञ्जसँग समन्वय गरे चाँडै त्यो कामलाई अगाडि बढाउन सकिने बताउनुभयो ।

यो पुल निर्माण हुन झण्डै नौ वर्ष लाग्यो । निर्माण कम्पनीसँग ०७० असारमा सम्झौता भएको थियो । दुई वर्षमा काम सक्ने गरी सम्झौता भए पनि यो पुल गत साउनमा मात्रै निर्माण पूरा भएको हो । पुलको लागत रु छ करोड ६० लाख हो । वातावरणीय प्रभाव मूल्याङ्कन नगरी पुल निर्माणको सम्झौता गरेका कारण सुरुमा काम गर्न समस्या निम्त्यिो ।

चितवन निकुञ्ज विश्व सम्पदामा सूचीकृत रहेकाले युनेस्कोसँग सहमति लिनुपर्छ । पछि युनेस्कोलाई पत्रचार गरेर सबै प्रक्रिया पूरा भएपछि बल्ल निर्माणको काम अगाडि बढेको हो । यसका लागि पूर्वरक्षासचिव आत्माराम पाण्डेले निकै नै दौडधुप गर्नुभएको थियो । पहिले सम्झौता भएको निर्माण कम्पनीले काम नगरेपछि चितवनका तारा पौडेलले पुल निर्माणको जिम्मा लिनुभएको थियो । उहाँले निकै हण्डर खाएर जसोतसो पुल सम्पन्न गरेरै छाडेको बताउनुभयो ।

“यो पुल बनाउँदा एक जना कामदार नदीमै खसे, बेलैमा उद्धार भएकाले जीवन जोगियो, पुलको लठ्ठा तान्न मात्रै सात महिनासम्म लाग्यो, यो पुल बनाउँदाको दुःख सम्झिएर साध्य छैन”, उहाँले भन्नुभयो, “यो पुल सञ्चालनमा आए वाल्मीकि आश्रम सहजै प्रवेश गर्न सकिन्छ । यहाँबाट आश्रमसम्म एक हजार सात सय मिटर बाटो बनाउनुपर्ने हुन्छ ।”