२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पोखरेल र पाकिस्तानी राजदूतबीच भेटवार्ता



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि इश्लामिक गणतन्त्र पाकिस्तानका राजदूत शैयद हैदर शाहबीच शुक्रबार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र पाकिस्तानबीचको सम्बन्ध जनस्तरसम्म सदृढ रहेको भन्दै शिक्षा, स्वास्थ्य र पर्यटनका क्षेत्रमा द्विपक्षीय सहकार्य अझै बढाउनुपर्नेमा जोड दिनुभयो । त्यस क्रममा मुख्यमन्त्री पोखरेलले दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध पनि मजबुत रहेको बताउनुभयो । पारस्पारिक, क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र पाकिस्तानबीच हुँदै आएका समन्वय र सहकार्य उल्लेखनीय रहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पोखरेलले पाकिस्तानमा हालै वाढीबाट हुन गएको धनजनको क्षतिप्रति दुःखसमेत व्यक्त गर्नुभयो । मुख्यमन्त्री पोखरेलसँगको भेटपछि पत्रकारसँग कुराकानी गर्दै राजदूत शाहले पहिलो पोखरा भ्रमणबाट आफू रोमाञ्चित भएको प्रतिक्रिया दिनुभयो । पोखराको नाम धेरै सुनेको र पहिलोपटक आउँदा यहाँको सुन्दरताले लोभिएको उहाँको भनाइ थियो । उहाँले दुई देशका जनताबीचको सम्बन्ध समुधुर रहेको उल्लेख गर्नुभयो । राजदूत शाहले दुई देशबीच पर्यटन, शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तनलगायत मुद्दामा सहकार्य अझ बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली विद्यार्थी अध्ययनका लागि पाकिस्तान जाने गरेका उल्लेख गर्दै राजदूत शाहले छात्रवृत्ति कोटा थप्दै जाने बताउनुभयो । उहाँले कोभिड–१८ महामारी, भूकम्प जस्ता विपद्का घडीमा नेपाल र पाकिस्तानबीच मित्रवत् सहकार्य भएको स्मरण गर्नुभयो । जलवायु परिवर्तनले नेपाल र पाकिस्तान जस्ता देशमा ठूलो असर निम्ताइरहेको भन्दै त्यसको न्यूनीकरणका लागि साझा पहल र सहकार्य जरुरी रहेकामा राजदूत शाहले जोड दिनुभयो ।

नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण सम्बन्धले छ दशक पार गरिसकेको छ । दुवै देशले वित्तीय क्षेत्र, कृषि, पशुपालन, ऊर्जा, स्वास्थ्य, शिक्षा, संस्कृति, पर्यटन, सूचना, प्रविधिलगायत क्षेत्रमा सहकार्य गर्दै आएका छन् । रासस