११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

दरको संस्कृतिले लिँदैछ विकृतिको रूप

दरको संस्कृतिले लिँदैछ विकृतिको रूप
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेपाली बृहत् शब्दकोशले दर शब्दको अर्थ तीजका अघिल्ला रात खाने, दह्रिलो विशेष भोजन भनेको छ । शब्दकोशको यो अर्थको अनर्थ लाग्ने गरी अहिले राजधानीलगायत ठूला सहरमा तीजको महिनौँअघिदेखि दर खानेको लर्को लाग्छ । तीजमा व्रत बस्ने बर्तालुलाई आड होस् भन्ने उद्देश्यले दर खाने परम्पराको विकास भएको हो ।

वैदिक सनातन हिन्दू धर्मअनुसार भाद्र शुक्ल तृतीयाका दिन तीज पर्व मनाइन्छ । त्यसको अघिल्लो रात दर खाने संस्कृति सनातनदेखि नै चल्दै आएको छ । यो परम्परामा केही वर्षअघिदेखि भने विकृतिको सुरुआत भएको छ ।

संस्कृतिविद् डा गोविन्द टण्डन तीजका नाममा सुरु भएको यो विकृतिलाई रोक्नुपर्ने बताउनुहुन्छ । तीजको एक दिनअघि आमा, दिदी, बहिनी घरपरिवारमा बसेर आडिला चीजबीज खानुलाई दर भनिने उहाँ सुनाउनुहुन्छ । तडकभडकका रूपमा मनाउने यस्तो विकृतिले फजुल खर्च बढाएको छ ।

“अहिले हाम्रो संस्कृतिभन्दा भिन्नरूपमा तीज मनाउन थालिएको छ, यसले नहुनेलाई तनाव दिएको छ, नकारात्मक सोच बढाएको छ, गरिष्ठ कुरा मांस, मदिरा दरमा खाने होइन, सेल, पुरी, खीरलगायत शरीरलाई तागत दिने खानेकुरा दरका रूपमा खाने हो”, संस्कृतिविद् टण्डनले भन्नुभयो ।

विकृतिका रूपमा मौलाएको तीज भोजले होटल र पार्टीप्यालेस व्यवसायीलाई फाइदा भए पनि संस्कृतिलाई भने विकृत बनाएको छ । होटल र पार्टीप्यालेसमा साथीभाइसँग दर खाने परम्परा नै गलत रहेको टण्डनको भनाइ छ । टाढा टाढाबाट माइत आएका चेलीबेटीले घर परिवारमा बसेर खाने मौलिक परम्परालाई अहिले विकृत बनाइएको छ ।

तीजको दुई महिनाअघिदेखि दर खाएर देखाउँदा विपन्न वर्गका मानिसलाई पर्व मनाउन मुस्किल हुने गरेको छ । समाजमा दर भनेको एक महिनाअघिदेखि नै खानुपर्ने रहेछ भन्ने सन्देश गएको छ । सहरमा एक महिनाअघिदेखि धेरै पार्टीप्यालेस दर खानकै लागि रिजर्भ हुने गरेका छन् ।

यसरी रिजर्भ भएका पार्टीप्यालेसमा दरका नाममा मांस, मदिराको सेवन हुन्छ । व्रत बस्ने अघिल्लो दिन खाने विशेष परिकारलाई दर भन्ने शब्दकोशको अर्थअनुसार अहिले अधिकांशको व्यवहारमा चलेको दर खाने प्रक्रिया मिल्दैन । व्रतको अघिल्लो दिन घाम अस्ताएपछि देखि नै बर्तालुले शुद्ध खानेकुरामात्र खानुपर्ने शास्त्रीय नियम रहेको बताउनुहुन्छ धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई । दरका नाममा एक महिनाअघि नै भएपनि मांस, मदिराको सेवन संस्कृतिका नाममा बढेको विकृतिको स्वरूप भएको उहाँले सुनाउनुभयो ।

“तीजमा निराहार व्रत बस्नुपर्ने भएकाले अघिल्लो दिन शुद्ध, विशेषगरी दूधबाट बनेका सात्विक परिकार खाने शास्त्रीय नियम हो, व्रतको अघिल्लो दिन एकछाकी भएकाले पनि जे मन लाग्यो त्यही खान हुँदैन, दर तीजको अघिल्लो रात ११ बजेसम्ममात्र खान सकिन्छ, त्यसपछि राक्षसी समय सुरु हुने भएकाले ११ बजेपछि दर खान निषेध गरिएको छ”, धर्मशास्त्रविद् भट्टराईले भन्नुभयो ।

उपभोगवादी संस्कृतिले अहिले तीज, व्रत जस्ता शब्द देखाउने कुरामात्र हुन थालेको छ । मर्म विनाका पर्व मनाउन थालिएका छन् । हुनेखानेले रवाफ देखाउने माध्यम चाडपर्व बन्न थालेको छ ।

सहरमा बस्ने अधिकांशलाई महँगीका कारण हातमुख जोर्न, बालबालिका पढाउन, औषधोपचार गर्नसमेत मुस्किल हुन थालेकामा हुनेखानेले गर्ने खर्चसँगै प्रतिस्पर्धा गर्नुपर्ने चुनौती थपिएको छ । यस्तो विकृतिले भ्रष्टाचारलाई पनि प्रोत्साहन गर्ने बताउनुहुन्छ समाजशास्त्री कीर्तिकुमार दुमी राई । परिवारको चाहना पूरा गर्न गलत प्रक्रियाबाट स्रोत जुटाउने बाध्यता संस्कृतिका नाममा मौलाएको विकृतिले बढाउन थालेको छ ।

अहिले अन्य संस्थाका अतिरिक्त सरकारी कार्यालयमा समेत तीजको दरका नाममा विकृति भित्रिन थालेको छ । तीजकै नाममा लाखौँ खर्च हुन थालेको छ । आर्थिक मन्दीको राप अलापिरहँदा सरकारी संयन्त्रले पर्वका नाममा मौलाएको विकृतिका पक्षमा हुने खर्च रोक्न सकेका छैनन् ।

विद्यालयमा समेत तीजका कार्यक्रमका नाममा खानपान एवं भोज हुन थालेको छ । अभिभावकसँग पैसा लिएर शिक्षक, कर्मचारी र कुनै विद्यालयमा त अभिभावकलाई पनि दर खुवाउने कार्यक्रम हुन थालेको हो । समाजलाई संस्थागत भ्रष्टाचारको आहालमा डुबाउन यस्ता गतिविधिले प्रेरित गर्ने समाजशास्त्री राईको विश्लेषण छ । रासस