• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ: अर्थमन्त्री पुन ★   कतारसँगको श्रम सम्झौता पुनरावलोकन गर्न बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन सकेन: राजदुत ढकाल ★   डढेलोले पाइप जल्यो, खानेपानीको समस्या ★   फास्ट ट्रयाकबाट कानून बनाइ सहकारी पीडितका समस्या समाधान गर्ने सरकारको निर्णय ★   कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत ★   तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित ★   श्रम स्वीकृती २ मिनेट ४४ सेकेण्डमा दिइराखेका छौँ: मन्त्री अर्याल ★   वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ ★   बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे ★   अफ्रिकामा अझै निर्मूल भएन मलेरिया, जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै

स्थानीय निर्वाचन काँग्रेस र गठबन्धनका लागि सन्तोषजनकः प्रवक्ता महत



काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह सदस्य निर्वाचन काँग्रेस र गठबन्धन दलहरुका लागि सन्तोषजनक रहेको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी र गठबन्धनमा रहेका दलहरुका लागि निर्वाचन सन्तोषजनक रहेको बताउनुभएको हो । उहाँले तालमेल गरेर प्रतिष्पर्धा गरेका ठाउँमा गठबन्धनका दलहरुले ठूलो सफलता हात पारेको दाबी गर्नुभयो । उहाँले स्थानीय तह निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न भएको पनि बताउनु भयो । उहाँले नेकपा एमालेले निर्वाचनमा धाँदली भयो भन्ने कुरामा कुनै सत्यता नरहेकोसमेत जिकिर गर्नुभयो ।

प्रवक्ता महतले नेकपा एमालेकै केन्द्रिय नेताको नेतृत्वमा बाजुराको बुढीगंगा नगरपालिकामा व्यापक धाँदली भएको दाबी गर्नुभयो । उहाँले धाँदली भएका २,३,५ र ९ वडामा एमालेले पूरै बुथ कब्जा गरेकोेले उक्त वडामा पुनः मतदान गर्न निर्वाचन आयोगसँग आग्रह गर्नुभयो । उहाँले उदयपुरको त्रियुगा नगरपालिकाको एउटा वडामा पनि धाँदली भएकोले तत्काल पुनः मतदानको व्यवस्था गर्न निर्वाचन आयोगसँग आग्रह गर्नुभयो । प्रवक्ता महतले स्थानीय तह सदस्य निर्वाचनमा समग्रमा गठबन्धन दलसहितको निकै ठूलो अग्रता कायम गर्न सफल भएको स्पष्ट पार्नुभयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनको प्रक्रियालाई निर्वाचनमा अघि लग्यौँ । समग्रमा यो निर्वाचनको परिणामा सन्तोषजनक लिएका छौँ । नेपाली काँग्रेस आफैँले पनि धेरै ठूलो सफलता हात पारेको छ । तालमेलसहित हेर्ने हो भने सहयोगी दलहरुले पनि उल्लेख्य सफलता हाँसिल गरेका छन् । निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न भएको छ । भयरहीत, स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गरेको छ । बरु एमालेको कर्याकालमा २०५४ सालमा स्थानीय तहको निर्वाचनमा व्यापक धाँदली भएको थियो ।

त्यो बेला संसदीय समितिले समेत छानबिनको दायरामा ल्याएको थियो । एमालेले भर्खरै धाँदली भयो, सत्तापक्षले स्रोत, साधनको दुरुपयो ग¥यो भन्ने कुरा छ त्यसमा कुनै सत्यता छैन । बाजुराको बुढीगंगा नगरपालिकामा व्यापक धाँदली भयो । २,३,५९ मा पूरै बुथ कब्जा गरियो । त्यसको नेतृत्व एमालेको केन्द्रिय तहकै नेताको नेतृत्वमा भयो । त्यहाँको निर्वाचन अधिकृतले धाँँदली भएको कुरालाई मध्यनजर गरेर सम्हाल्न नसकेर जानुभयो । आफैँले मतपेटिका बोकेर जिल्ला लगियो र त्यसलाई काँग्रेसले स्वीकार गर्दैन । अहिलेसम्म किन मतदान भएको छैन ? हाम्रो ध्यानाकर्षण भएको छ । हामी निर्वाचन आयोगलाई तत्काल मतदान गराउन माग गर्दछौँ । त्रियुगा नगरपालिका उदयपुरमा पनि एउटा वडामा धाँदली भएको कुरा छ तत्काल निर्वाचन आयोगसँग मतदान प्रक्रिया अघि बढाउन माग गर्दछौँ ।’

प्रवक्ता महतले काठमाडौंमा राजनीतिक दल पराजय उन्मुख हुनु नेकपा एमालेको ५ वर्षमा गरेको कामहरुको कर्तुत भएको जिकिर गर्नुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालेको विकृतिको घानमा नेपाली काँग्रेससमेत परेको बताउनु भयो । केही ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भइरहेको भन्दैमा नेपाली काँग्रेस र राजनीतिक दलहरु नै सकिएको भन्ने मूल्यांकन गर्न नमिल्ने बताउनु भयो । उहाँले काठमाडौंमा राजनीतिक दलहरु स्वतन्त्र उम्मेदवारसामु निरिह बन्नु एमालेले सिर्जना गरेको विकृतिको प्रतिक्रिया भएको बताउनु भयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘अपवाद जहिल्यै हुन्छ निर्वाचनमा । केही अपवादहरुलाई लिएर पार्टीहरु, नेपाली काँग्रेस असफल भयो भन्ने निस्कर्ष हो भन्न सकिँदैन । काठमाडौं महानगरमा जे देखियो । त्यसलाई हामी हेर्नेछौँ । युवाहरु किन असन्तोष छन् ती कुरामा नेपाली काँग्रेसले सोच्नेछ । केही ठाउँमा अपवाद आउँदैमा नेपाली काँग्रेस र पार्टीहरु नै सकिए भन्न मिल्दैन । हामी यसबाट सिक्नेछौँ । कहिलेकाहीँ विभिन्न खालको हावा चल्छ, मानिसलाई केही गर्छ कि भन्ने चाहना हुन्छ । काठमाडौंमा पनि त्यही भएको हो । हामीले नोटिस गरेका छौँ । मूल्यांकन हुन्छ । ओलीजीको घानमा नेपाली काँग्रेस परेको मात्रै हो । एमालेले सिर्जना गरेको विकृतिको प्रतिक्रियास्वरुप हामीले पनि व्यहोरेका छौँ ।’

प्रवक्ता महतले अन्तर्राष्ट्रिय स्तरमै अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेकोले नेपालमा पनि स्वभाविक रुपमा मूल्यवृद्धि भएको बताउनु भयो । उहाँले सरकारले जनस्तरलाई मध्यनजर गरेर अझै अन्तर्राष्ट्रिय स्तरमा भएको मूल्यवृद्धिको पूर्ण रुपमा नेपालमा मूल्य नबढाएको दाबी गर्नुभयो । उहाँले जनता मारमा परिरहेकोले सरकार यसमा गम्भीर बन्न र उपभोक्ताहरुको आवश्यकीय सामग्रीहरुको मूल्यवृद्धिमा सरकार गम्भीर र चनाखो बन्नुपर्ने बताउनु भयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘यो अन्तर्राष्ट्रिय कुरा हो । सरकारले धेरै ठूलो सब्सिटी दिएर अन्तर्राष्ट्रिय स्तरमा भएको पूरा मूल्यवृद्धि हुन दिएको छैन । तर पनि जनता मारमा परेका छन् । सरकार यसमा गम्भीर हुनुपर्छ । उपभोक्ताहरुको आवश्यकीय सामग्रीहरुको मूल्यवृद्धि नहोस् यसमा सरकार गम्भीर हुनुपर्छ ।’

प्रवक्ता महतले नेकपा एमालेले ९/१० वटा दलसँग गठबन्धन गरेर निर्वाचनमा एक्लै लड्यौँ भनेर जनतामा भ्रम छरेको आरोप लगाउनु भयो । उहाँले नेपाली काँग्रेसले स्थानीय तहमा आएको मत परिणामलाई मजबुत बनाएर आगामी निर्वाचनमा स्पष्ट बहुमत ल्याउने पनि बताउनु भयो । उहाँले गठबन्धनलाई संघीय निर्वाचनसम्म पनि सँगै लैजाने रणनीतिअनुसार नेपाली काँग्रेस अघि बढ्ने पनि बताउनु भयो । प्रवक्ता महतले अपवाद बाहेकका स्थानमा गठबन्धनमा रहेका दलले एक अर्कालाई सहयोग गरेको भन्दै छोटो समयमै देशले लय समातेको दाबी गर्नुभयो । उहाँले नेपाली काँग्रेस एक्लैले बहुमत ल्याउन अझै केही समय पर्खनुपर्ने बताउनु भयो । स्थानीय तहको निर्वाचनका कारण प्रदेश र संघीय निर्वाचनमा पनि तालमेल गरेर जाने आधार तयार पारेको बताउनु भयो । उहाँले एमालेले आफ्नो कार्यकालमा गरेका नराम्रा कामहरुको कारण नै एमालेप्रति जनताले वितृष्णा देखाएको आरोपसमेत लगाउनु भयो ।