• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

ओलीको आपत्तिः गठबन्धनबाहिरका राजनीतिक दलसँग परामर्श नगरी निर्वाचन आचारसंहिता बनाइयो



file photo

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले गठबन्धनबाहेकका कुनैपनि राजनीतिक दलहरुसँग परामर्श नगरी निर्वाचन आचारसंहिता बनाएको भन्दै आपत्ति जनाउनुभएको छ ।

आईतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आयोगले काँग्रेसको कुरा मात्रै सुनेर निर्वाचन मतपत्रको रङ परिवर्तन गरेकोले यो मुद्दा हाल्नुपर्ने विषय भएको बताउनु भयो । अध्यक्ष ओलीले मतपत्रको रङ फेर्ने कुरा स्वच्छ नभएको बताउँदै रातो सूर्यलाई पनि हरियो बनाउने षड्यन्त्र गरेको आरोप लगाउनु भयो । अध्यक्ष ओलीले निर्वाचन आयोगलाई पहिला आफूले गरेको आचारसंहीताको कार्यान्वयन आफैँले पालना गर्न सुझाव दिनुभयो । उहाँले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा दिएको धम्कीका कारण प्रधानमन्त्री शेरबहादुर देउवा डराएर रेणु दाहाललाई आफैले भरतपुरको मेयरमा उठाएको भन्ने भाषण गरेको बताउनु भयो । उहाँले ठूला नेताहरुले आचारसंहीता मिच्दा आयोग आँखामा पट्टी लगाएर बसेको भन्दै यस्ता कुरामा नमुछिन आयोगलाई आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी राजनीतिक दलहरुसँग समेत परामर्श गरेर निर्वाचन आयोगले आचारसंहीता बनाउनु पर्ने हो । आचारसंहीता सधैँ हामी समेत सहभागी भएर छलफल गरेर हामी निस्कर्षमा पुग्थ्यौँ । यसपल्ट निर्वाचन आयोगले हामीसँग कुनै परामर्श गरेन । आचारसंहीता आफैँले बनायो । जनताले मान्नुपर्ने कानून जनताबाट निर्मित हुन्छ, लोकतन्त्रमा । जनताका जनप्रतिनिधिबाट निर्मित हुन्छ । शासकले थोपर्दैनन् । तर निर्वाचन आयोगले राजनीतिक दलहरुसँग गठबन्धन बाहेक अरुसँग परामर्श गरेन । गठबन्धनसँग परामर्श गरेर अरुले पनि मान्नुपर्ने आचारसंहीता ल्यायो । अरु दलले हामीलाई त छलफल गराइएन भन्दा हस्ताक्षर गरे गर्नुहोस् नगरे नगर्नुहोस् तर नियम यही लागू हून्छ भन्यो । त्यसपछि हाम्रो दलले त्यहाँ हस्ताक्षर गर्नुपर्ने आवश्यक्ता सहमति जनाउनुपर्ने आवश्यक्ता रहेन । त्यसकारण हामीले हस्ताक्षर गरेनौँ । गर्ने तहमा त्यसको प्रक्रिया नै पु¥याइएन । नेपालमा राजनीतिक दल भनेको काँग्रेस मात्रै हो ? रङ फेर्न पर्छ भने अरु राजनीतिक दललाई बोलाउनु पर्दैन ? यो मुद्दा हाल्नुपर्ने विषय हो र यसलाई बदर गर्नुपर्ने विषय हो । यो स्वच्छ ढंगले आएन । रातो सूर्य पनि हरियो हुने, हरियो रुखलाई हरियो पार्नका लागि रातो सूर्य पनि हरियो बनाउने यो कुनै न्यायको कुरा होइन । आफ्नो पार्टीको बाहेक अरुको चिन्ह प्रयोग गर्न पाइँदैन भन्ने अनि देशभर त गठबन्धनले एउटाको अर्कोले गरिरहेका छन् त । यहाँ शेरबहादुरजीले मैले हो रणुलाई उठाएको प्रचण्डले होइनसम्म भन्नुभयो, चितवनमा धम्क्याउँदा कति डराउनुभएछ भन्ने कुरा भोलिपल्ट थुरथुर हुँदै दिएको वक्तव्य त्यसले देखउँदैन ? निर्वाचन आयोगले जुन घोषणा गरेको छ, त्यो कार्यान्वयन गरोस् न । ठूला नेताहरुको आचारसंहीता तोड्दा निर्वाचन आयोग कालो पट्टी लाएर बस्ने, कार्यकर्तालाई धम्क्याउने । निर्वाचन आयोग यस्ता खालका कुराहरुमा मुसिनु राम्रो होइन ।’

अध्यक्ष ओलीले विष बमन गर्ने काम गठबन्धनको भएको बताउनु भयो । उहाँले जनतालाई भयरहीत वातावरणमा चुनावमा सहभागी गराउनु पर्ने भएपनि जनतालाई त्रास र धम्की दिइरहेकोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु भयो । उहाँले केहीदिनअघि एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले रेणु दाहालले चुनाव नजिते दुर्घटनातिर जानसक्ने भन्दै दिएको अभिव्यक्ति दिन पाइन्छ कि पाइँदैन भन्ने प्रश्न गर्नुभयो । उहाँले प्रचण्डले दिएको अभिव्यक्ति आचारसंहीता विपरित भएको र यो अराजनीतिक वक्तव्य भएको तर्क गर्नुभयो । अध्यक्ष ओलीले आफ्नो पार्टीले चाहेमा गठबन्धन हप्ता दिनमा भत्काउन सक्ने दाबी गर्दै अहिलेको गठबन्धनका दलहरुलाई जता धेरै दुध दिन्छ त्यतै पल्किने बिरालोको संज्ञा दिनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘विष बमन गर्ने काम गठबन्धनको हो । यो उसको एप्सुलिट ठेकेदारी हो । गठबन्धनका नेताहरु हुन् । जनतालाई भयरहीत वातावरणमा चुनावमा सहभागी हुने वातावरण हुनुपर्छ । गठबन्धनको एउटा हर्ताकर्ता मैहुँ भन्ने नेताले जनतालाई लल्कालेर, धम्क्याएर, होइन भने दुर्घटनामा देश जान्छ भनेर तर्साएर बसेका छन् । यसरी तर्साएर भोट मागन पाइन्छ ? उहाँहरुको क्रियाकलाप कस्तो छ, उहाँका कार्यकर्ताले हिजोमात्रै एमालेका रुकुम पश्चिमका घरमै बसिरहेका कार्यकर्तामाथि घरमै आक्रमण गरेर अंगभंग गर्ने, नराम्ररी हमला गर्ने, अपराधिक फौजदारी अभियोगका कामहरु गर्नुभयो । त्यही माओवादी जनतालाइ धम्क्याउँछ । यसरी त्रासको वातावरण देशमा सिर्जना गर्छ । निर्वाचनका बेला त्रासको वातावरण सिर्जना गर्नु आचारसंहीता विपरित हो कि होइन ? जनतालाई धम्क्याउनु सोझै आचारसंहीता विपरित् हो कि होइन ?धम्क्याउँदै प्रचण्डले यदी मेरि छोरीलाई जिताउँदैनौँ भनेँ ठूलो दुर्घटना हुन्छ, उत्साहपूर्वक के भनेका छन् उनले, रुखवालाहरुले हसिया हतौडामा छाप लाउनै पर्छ, लाउन तयार हुनैपर्छ । हसिया हतौडामा छाप लगाइन्न भन्ने हो भने दुर्घटना हुन्छ । मेरि छोरीलाई खुरुखुरु भोट हालेर जिताउने हो भने म उत्साहीत हुन्छु । छोरी जिताइदिए उत्साहीत हुन्छु म, त्यसो भए यो गठबन्धन १०÷१५ वर्ष पनि टिकाउन सक्छु । त्यो मेरो प्रतिवद्धता छ । वाह राजनीति । उनलाई उत्साहीत बनाउनका लागि छोरीलाई भोट दिने रे । भोट दिएन भने चाँखौला, पखौला भन्ने ? यो अत्यन्तै गलत हानिकारक कुरा हो । आचारसंहीता विपरित कुरा हो । अराजनीतिक कुरा हो । गठबन्धन एक हप्तमा चाह्यौँ भने भत्काउँछौँ भनेको हो । बिरालो किन्न जानुपर्दैन । जसले ठूलो कचौरामा दूध भात दिन्छ उतै जान्छ । हाम्रो क्रयशक्ति काँग्रेसको भन्दा बढी छ ।’

अध्यक्ष ओलीले गठबन्धनलाई वैशाख ३० ठूलो खड्गो रहेको बताउनु भयो । उहाँले ज्योतिषीले वैशाख ३० गठबन्धनका लागि नराम्रो खड्गो रहेको भनिरहेकोले वैशाख ३० गठबन्धनको ढाड भाँचिने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘मैले मेरो कुरा भनेको होइन, ज्योतिषीको कुरा भनेको हो । एउटा ग्रहदशा हेर्ने ज्योतिषी हुन्छन्, एउटा राजनीति हेर्ने ज्योतिषी हुन्छन्, अहिले दुवै प्रकारका ज्योतिषीहरु गठबन्धनका अघि महाशंकट उत्पन्न हुँदैछ भन्छन् । त्यो ज्योतिषीहरुको कुरा हो । होइन भने प्रधामन्त्री ज्यूले ठ्याक्कै ठ्याक्कै मिलाउने आफ्नै ज्योतिषी हुनुहुन्छ नि, उहाँलाई बोलाएर सोध्नुभए हुन्छ । गठबन्धन रहन्छ, रहँदैन भन्नेमा मेरो कुरा छैन, तर ज्योतिषीहरुको भनाइ गठबन्धनका लागि सबैभन्दा ठूलो खड्गो त यही वैशाख ३० नै हो । यसैमा गठबन्धनलाई साह्रै ठूलो मर्का पर्नेवाला छ । कस्तो दिन छानेर उहाँले राख्नुभएछ ? यो ज्योतिषीहरुको भनाइ हो । वैशाख ३० मा त उहाँहरुलाई हुनसम्मै हुन्छ । ढाडै भाँचिने गरेर ।’

अध्यक्ष ओलीले एमालेले शताब्दीऔँदेखि व्याप्त बेरोजगारी, गरिबी, विपन्नता, अभाव, कुप्रथा, कुसंस्कार, असमानता र कमजोर मनोबलताको अन्त्य गर्ने संकल्प लिएको बताउनु भयो । उहाँले नेकपा एमाले विकास, सुशासन र मानव सुखका दृष्टिले नेपाललाई विश्वकै सर्वश्रेष्ठ देश बनाउन चाहेको बताउनु भयो । अध्यक्ष ओलीले देशको विकास गर्ने योजना र शक्ति नेकपा एमालेसँग मात्रै भएको बताउनु भयो । नेकपा एमालेको मुख्य ध्येय नेपालको विकास गर्नु, नेपालीको इज्जत र प्रतिष्ठा बढाउने, नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ड राख्ने भएको बताउनु भयो । उहाँले नेकपा एमालेबिना देश विकास हुन नसक्ने दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रा गाउँ नगरमा, शाब्दीऔँदेखि व्याप्त बेरोजगारी, गरिबी, विपन्नता, अभाव, कुप्रथा, कुसंस्कार, असमानता र कमजोर मनोबलताको अन्त्य गर्ने संकल्प नेकपा एमालेले लिएको छ । नेकपा एमाले विकास, सुशासन र मानव सुखका दृष्टिले नेपाललाई विश्वकै सर्वश्रेष्ठ देश बनाउन चाहन्छ । हामीले देश र जनताको निरन्तर सेवालाई आफ्नो प्रमुख कर्तव्य ठानेका छौँ । हाम्रा लागि नेपाल, नेपाली जनता र नेपालको अत्याधुनिक विकास भन्दामाथि केही छैन । एमाले यही आदर्शमा समर्पित थियो, छ र रहनेछ । त्यसैले हाम्रो मुल ध्येय समृद्ध नेपाल, सुखी नेपाली हो । राष्ट्रिय गन्तव्य तय गरेर संकल्पका साथ अघि बढेमा मात्र त्यसलाई साकार पार्न सकिन्छ । त्यसका लागि भिजन, त्यो भिजन बोक्ने व्यापक सुदृढ, अनुशासित र गतिशील संगठन चाहिन्छ । त्यस्तो संगठनले मात्र गन्तव्य साकार पार्नका लागि शुरु भएको यात्रामा आउनसक्ने चुनौतिको डटेर सामना गर्न सक्दछ । राष्ट्रिय संकल्पको कार्यान्वयन गर्न र कार्यान्वयनलाई निरन्तरता दिन देशमा एउटा भिजिनरी र कृत संकल्पित राष्ट्रिय शक्ति आवश्यक पर्दछ । त्यस्तो राष्ट्रिय शक्ति र त्यसरुपमा तीव्र गति एवं उत्साहका साथ विकास गर्नसक्ने राजनीतिक दल नेकपा एमाले बाहेक अरु कुनै देखिँदैन । एमालेमा मात्रै राष्ट्रिय आँट, संकल्प र आत्मविश्वास छ । हामी आम जनतालाई यस उद्देश्यका लागि गोलबन्द बनाउन सक्छौँ, राष्ट्रिय परिवर्तन र रुपान्तरणको अभियानमा विश्वासका साथ अघि बढाउन सक्छौँ । हामी नेपाललाई राष्ट्रिय स्वाभीमानसहितको दरिलो एवं गर्विलो राष्ट्र बनाउन चाहन्छौँ । त्यो एमाले बिना सम्भव छैन । कुनै दल विशेषलाई पराजित गर्नु एमालेका लागि चासोको विषय होइन । हाम्रो मुख्य ध्येय नेपालको विकास गर्नु, नेपालीको इज्जत र प्रतिष्ठा बढाउने, नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ड राख्ने हो, अन्य राजनीतिक दलहरु अनिश्चयबाट ग्रसित र विवश भएको कुरा स्वयं दलहरुले सार्वजनिक गरिरहेका छन् । एमाले मात्रै मजबुत राजनीतिक दल हो । एमालेको सरकार गठन नभइ देश विकासको युगमा प्रवेश गर्नै नसक्ने ऐतिहासिक तथ्यहरुले समेत स्पष्ट पारिसकेको छ ।’

अध्यक्ष ओलीले एमालेले विकासका काम गरिरहँदा नेपाली काँग्रेसले षड्यन्त्र गरेको आरोप लगाउनु भयो । उहाँले काँग्रेसले सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढीरहेको देशलाई व्यवधान खडा गरेर याथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्यबोधमा कमजोर रहेका तत्वहरुलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर राजनीतिक र देशहीतका सन्दर्भमा उल्टो बाटो समात्ने काम गरेको बताउनु भयो । अध्यक्ष ओलीले काँग्रेसले राजनीतिक दलको आधारभुत मर्ममाथि प्रहार गरेको, संसदीय मूल्य र मान्यतालाई नै कुल्चिएको र संसदले सरकार निर्माण गर्ने संसदीय शासन प्रणालीको आदर्शको उपहास गरेको आरोप लगाउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेले देश विकास गरिरहेको बेला नेपाली काँग्रेसको षड्यन्त्रले चरम उत्कर्षको रुप लियो । काँग्रेसको सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढीरहेको देशलाई व्यवधान खडा गरेर याथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्यबोधमा कमजोर रहेका तत्वहरुलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर राजनीतिक र देशहीतका सन्दर्भमा उल्टो बाटो समात्ने काम ग¥यो । काँग्रेसले राजनीतिक दलको आधारभुत मर्ममाथि प्रहार ग¥यो । संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो । संसदले सरकार निर्माण गर्ने संसदीय शासन प्रणालीको आदर्शको उपहास ग¥यो । संसदलाई राजनीतिक निर्णयको थलो हुन नदिइबन्दक बनायो । स्वतन्त्र न्यायपालिकामाथि आघात पु¥यायो । संविधानको रक्षा, जनाधिकारको संरक्षण गर्न र देशलाई थप षड्यन्त्रको चक्रव्युहबाट जोगाउन लोकतन्त्रप्रति प्रतिवद्ध नेकपा एमाले सरकारकासामु अन्य विकल्प थिएनन्, रहेनन् । फलस्वरुप जनादेशका लागि जनतामाझ जाने निस्कर्षम हामी पुग्यौँ । तर अदालतको परामादेशले सरकार बदलियो । सावृभौम नेपाली जनताको आफ्नो सरकार, जनादेशबाट निर्माण गर्ने आफ्नो आधारभुत संवैधानिक अधिकारमाथि कुठाराघात भयो । विकास निर्माण, सुशासन, सामाजिक परिवर्तन र रुपान्तरणको युगान्तकारी विकास अभियान फेरि एकपटक अवरुद्ध भयो । चरम पदीय स्वार्थ, अहंकार, कुण्ठा र ईष्र्या राखेर संविधानको आधारभुत मर्ममाथि गरिएको यस प्रहारलाई सार्वभौम नेपाली जनताकै आदेशबाट परास्त गर्न सकिन्छ भन्ने विश्वासका साथ हामी सार्वभौम नेपाली जनतासमक्ष आएका छौँ ।’

अध्यक्ष ओलीले काँग्रेसले प्रहरी संगठनमा प्रचलित ऐनको दायरा उल्लंघन गर्दै नियुक्ति र बढुवा गरी सुरक्षा संगठनलाई तहसनहस पार्ने काम गरेको बताउनु भयो । उहाँले आधारभुत वस्तु उत्पादन गर्ने सरकारी उद्योगहरुलाई निजीकरणको बहानामा कौडीको मूल्यमा बेचि राष्ट्रिय सम्पति दोहन गर्ने गरेको आरोप लगाउनु भयो । उहाँले कर फछ्र्यौटको बहानामा सरकारलाई तिर्नुपर्ने, बुझाउनु पर्ने यकीन भइसकेको राजश्व मिलेमतोमा छुट माफी गरी देश र जनताको सम्पति राजश्व खाने, परिवारका सदस्य र नातेदारको मिलेमतोमा योजना रचेर निर्धक्क भ्रष्टाचार गर्ने, प्रहरी प्रशासन र सम्पूर्ण राज्य संयन्त्रको दुरुपयोग गरी सत्ता भोग गर्ने लगायतका देश र जनता बिरोधी कार्यहरु गरेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाली काँग्रेस २७ वर्ष सरकारमा रहँदा संसदमा आफ्नै सरकारको वार्षिक नीति तथा कार्यक्रम फेल गर्ने, आफ्नै सरकारबिरुद्ध अविश्वास प्रश्ताव पेस गर्ने, बिना कारण अन्य दलका सरकारबिरुद्ध अविश्वास प्रश्ताव पेस गर्ने, सांसदलाई विदेशसमेत लगि बन्दक बनाउने, संविधान बमोजिम ताजा जनादेशमा जाने सरकारको निर्णयउपुर मुद्दा मामिला गर्न पटक पटक अदालत जाने, महाअभियोगको डर, त्रास देखाइ अदालतको अधिकार हनन गर्ने, संसद भंग गरी राजालाई सत्ता सुम्पिने, संसदद्वारा निर्वाचित प्रधानमन्त्रीको पद त्याग गरी राजाबाट नियुक्त प्रधानमन्त्रीको पद खाने, देश, जनता, राजनीतिलाई चरम अन्धकारमा धकेल्न सशस्त्र द्वन्द्वलाई मार्ग प्रशस्त गर्ने, निजामति सेवालाई खल्बलिने गरी निजामति कर्मचारीहरुलाई बर्खास्त गर्ने, राष्ट्र बैंकका गभर्नरलाई निलम्वन गर्ने, प्रहरी संगठनमा प्रचलित ऐनको दायरा उल्लंघन गर्दै नियुक्ति र बढुवा गरी सुरक्षा संगठनलाई तहसनहस पार्ने, आधारभुत वस्तु उत्पादन गर्ने सरकारी उद्योगहरुलाई निजीकरणको बहानामा कौडीको मूल्यमा बेचि राष्ट्रिय सम्पति दोहन गर्ने, कर फछ्र्यौटको बहानामा सरकारलाई तिर्नुपर्ने, बुझाउनु पर्ने यकीन भइसकेको राजश्व मिलेमतोमा छुट माफी गरी देश र जनताको सम्पति राजश्व खाने, परिवारका सदस्य र नातेदारको मिलेमतोमा योजना रचेर निर्धक्क भ्रष्टाचार गर्ने, प्रहरी प्रशासन र सम्पूर्ण राज्य संयन्त्रको दुरुपयोग गरी सत्ता भोग गर्ने लगायतका देश र जनता बिरोधी कार्यहरु नेपाली काँग्रेसको सरकारले गरेको इतिहास छ ।’

अध्यक्ष ओलीले नेकपा (एमाले)को देशको समृद्धि र जनताको सपनालाई काँग्रेसले कोरा सपना र उल्टो विकास ठान्ने गरेको बताउनु भयो । उहाँले काँग्रेसका लागि गर्नसक्ने काम परिवार, नातेदार, गुट र अवसरवादीको हीत र सत्ताभोग भएको दाबी गर्नुभयो । उहाँले काँग्रेसले राणा, राजा र काँग्रेसको सरकारले देशको विकास र जनताको सुख, समृद्धिको लागि कुनै योजना अघि नबढाएको बताउनु भयो । अध्यक्ष ओलीले काँग्रेसले एमालेसँग कहिल्यै सहकार्य गर्न नचाहेको र यस्तो सोच्नु पनि अपराध ठान्ने गरेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘देशको समृद्धि र जनताको सपनालाई काँग्रेस कोरा सपना र उल्टो विकास भन्छ । ठिकै पनि हो, उसका लागि त सुल्टो भनेको परिवार, नातेदार, गुट र अवसरवादीको हीत र सत्ताभोग नै हो । काँग्रेस देशलाई गरिबी, लघुतावास, अनिश्चयको दुःष्त्रचमा राखेर जनतामाथि शासन गर्न चाहन्छ । तर नेकपा एमाले विकासमा चुनौतिलाई चुनौति दिएर विकास गर्दछ । नेकपा एमाले जनताको हीतका लागि राज्यको भुमिका प्रभावकारी बनाउन चाहन्छ । राणा, राजा र काँग्रेसको सरकारले देशको विकास र जनताको सुख, समृद्धिको लागि कुनै योजना अघि बढाएनन् । सरकार कहिल्यै आधुनिकता र उत्कृष्टतातर्फ केन्द्रित रहेन । नेपाल जस्तो धर्तीको स्वर्गलाई संसारकै उत्कृष्ट बनाउने अवसरलाई साकार पार्न कहिल्यै ध्यान दिइएन । बरु देशलाई संसारकै गरिब देश, विपन्न, अभावग्रस्त, असमानताको देश बनाइराखे । काँग्रेस एमालेसँग कहिल्यै सहकार्य गर्न चाहँदैन । यस्तो सोच्नु पनि अपराध ठान्छ । उसले राणा,शाहीसँग सहकार्य गरेको इतिहास छ । नेपाली काँग्रेसले निरंकुश राजतन्त्रसँग आफ्नो घाँटी जोडिएको सार्वजनिक घोषणा गरेको सर्वविदितै छ । काँग्रेसकै नीति र अकर्मण्यताका कारण सशस्त्र द्वन्द्वका लागि मार्ग प्रशस्त भएको यथार्थ छ । काँग्रेसले नै जनताको सत्ता राजालाई बुझाएको धेरै भएको छैन । अहिले पनि दक्षिणपन्थी, वामपन्थी, अतिवाद र अवसरवादहरुसँग घाँटी जोडेर गठबन्धन सरकार चलाएकै छ । उ जनादेशमा विश्वास गर्दैन, सकेसम्म मुद्दा मामिला, छलकपट, षड्यन्त्र र मिलावटबाट नै सत्ता भोग गर्न चाहन्छ ।’

अध्यक्ष ओलीले काँग्रेसले नै जनताको सत्ता राजालाई बुझाएको स्मरण गराउँदै अहिले पनि दक्षिणपन्थी, वामपन्थी, अतिवाद र अवसरवादहरुसँग घाँटी जोडेर गठबन्धन सरकार चलाएको बताउनु भयो । उहाँले नेपाली काँग्रेस जनादेशमा विश्वास नगर्ने, सकेसम्म मुद्दा मामिला, छलकपट, षड्यन्त्र र मिलावटबाट नै सत्ता भोग गर्न चाहने गरको पनि आरोप लगाउनु भयो ।