
दमौली। नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले तनहुँको व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।
कांग्रेसबाट आधिकारिक उम्मेदवार बन्ने अवस्था नबने स्वतन्त्र उम्मेदवार बन्ने जोशीले बताउनुभयो । निजी क्षेत्रको अनलाइन संचार माध्यम अनलाइनखबरसँग प्रतिक्रिया दिँदै जोशिले भन्नुभयो, “व्यास नगरपालिकाको मेयरमा उम्मेदवार बन्छु । कांग्रेसले उम्मेदवार नबनाए स्वतन्त्र उम्मेदवार बन्छु ।’
१९९७ मा अमेरिका अध्ययनका लागि गएका उहाँ १७ वर्ष त्यहाँ बसेर फर्किनु भएको छ । टेलिकम्युनिकेशन इन्जिनियर जोशी काठमाडौंमा एक निजी कलेजमा आवद्ध हुनुहुन्छ । जनताको समस्या र त्यसको समाधान गर्ने भिजन भएकाले नै मेयरमा उम्मेदवार बन्न लागेको दीपकराजको भनाई छ ।
कांग्रेसमा सुधारको खाँचो रहेको पनि उहाँको भनाई छ । ‘मलाई पार्टीले नै उम्मेदवार बनाओस् भन्ने चाहना हो,’ जोशीले भन्नुभयो, ‘नचलेको पसल लिएर सुधार्न खोजेको हुँ । कांग्रेसले उम्मेदवार नबनाए पनि म पछि हट्दिनँ ।’
तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको द्वन्द्व छ । पौडेलका कारण कांग्रेसप्रति वितृष्णा जागेका कार्यकर्तालाई आफूतिर तान्न सकिने उहाँको आँकलन छ ।
निर्वाचनमा विजयी हुनेमा आशावादी देखिएका जोशीले पराजित भए पनि तनहुँमै सेवा गर्ने बताउनुभयो ।
व्यास नगरपालिकामा गत निर्वाचनमा नेता रामचन्द्र पौडेल निकट बैकुण्ठ न्यौपाने विजयी हुनु भएको थियो ।