१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

९० घरमा ‘एक घर एक धारा’



अ+ अ-

तम्घास । खानेपानीको समस्या भएको गुल्मीको धुर्कोट र इस्मा गाउँपालिका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको धुर्कोट–४ जैसिथोक गोपेमा ४० तथा इस्मा–२ पालुखामा ५० गरी कूल ९० घरमा खानेपानीको धारा जडान भइसकेका छन् । 

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले शनिबार ‘एक घर एक धारा’ कार्यक्रमको उद्घाटन गर्नुभयो । अव्यवस्थित सामुदायिक खानेपानीको धारा रहेको उक्त क्षेत्रमा मुस्किलले दिनमा दुई घण्टा मात्रै पानी आउनेमा अहिले घरमै मिटर सहितको धारा जडान भएको उहाँले बताउनुभयो । 

अव्यवस्थित रुपमा रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गर्दा यस क्षेत्रका स्थानीयवासी खुशीले दङ्ग परेका छन् । गोपेकी कुन्ता खत्रीलाई पहिले एक गाग्रो पानी लिन एक घण्टा लाग्थ्यो । उहाँ जुकेपानी, पानीकुन्टा वा खजुरेमा गएर पानी ल्याउनुहुन्थ्यो । तर अहिले घरमै धारा आएसँगै सहज भएको उहाँले बताउनुभयो । “घरमै पानी आउला भन्ने कहिल्लै सोचेका थिएनौँ”, उहाँले भन्नुभयो, “अहिले जीवनशैलीमै धेरै परिवर्तन आइसकेको छ ।” 

अर्की स्थानीयवासी पवित्रा पोखरेलले जनप्रतिनिधिले निर्वाचनमा गरेका वाचा पूरा गरेको बताउनुभयो । “स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले पानी ल्याइदिने आश्वासन दिएर भोट मागेका हुन्”, उहाँले भन्नुभयो, “अहिले वाचा पूरा गरेको देखिन्छ ।” घरमा पानी आएसँगै घरका आधा काम घटेको र उक्त समयमा अन्य काम गर्न पाएको उहाँको भनाइ छ । 

सो खानेपानी आयोजनाका पूर्वसचिव एवम् पालुखा माध्यमिक विद्यालयका प्रधानाध्यापक बाबुराम खत्रीले घरमै पानी आएसँगै विद्यार्थीको शैक्षिक भविष्यमा समेत सुधार आउने बताउनुभयो । “पानी बोक्ने समय विद्यार्थीले पढाइमा लगाउन सक्छन्”, उहाँले भन्नुभयो, “खानेपानी अभावका कारण विद्यार्थी ढिला गरी विद्यालय आउने गरेको समस्या अब अन्त्य हुनेछ ।” घरमा पानी आएसँगै अहिले स्थानीयवासीले खेतबारीमा तरकारी लगाउन थालेको प्रधानाध्यापक खत्रीले बताउनुभयो । 

जैसिथोक लिफ्ट खानेपानी योजना, रौताडी र गोपे स्कीमअन्तर्गत गोपे स्कीम आयोजनाबाट ९० घरधुरीमा पानीको धारा पुगेको हो । २०७१ सालमा सुरु भएको सो योजनामा अहिलेसम्म रु तीन करोड ३५ लाख खर्च भइसकेको बताइएको छ । जुकेपानी, पानीकुन्टा र खजुरेबाट लिफ्टिङ प्रविधिबाट पानी ल्याइएको छ । सबैभन्दा टाढा पनाहा खोला नजिकबाट पाँच सय मिटरमाथि ट्याङ्कीमा पानी ल्याइएको आयोजनाका रौताडी स्कीमका अध्यक्ष पूर्णप्रसाद पोखरेलले जानकारी दिनुभयो । 

गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले खानेपानी पुगेसँगै बसाइँसराइ रोकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्नेतर्फ आफूहरु उन्मुख रहेको बताउनुभयो । तर इस्मा गाउँपालिकाका नागरिकका घरमा पानीको धारा नपुग्दा इस्मामा कुनै बजेट विनियोजन नगर्नु दुःखद रहेको अध्यक्ष पोखरेलले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले घरमा पानी पुगेसँगै अब सरसफाइ गर्ने, घरमै हरियो तरकारी उत्पादन गर्नुपर्ने धारणा राख्नुभयो । 

खानेपानी योजनाका लागि जग्गा उपलब्ध गराउने फूलकुमारी दर्जी, पदमबहादुर खत्री, दामोदर पोखरेल, तील कुमारी खत्री, चुरामणि कोइराला र निर्मला खत्रीलाई सो कार्यक्रममा सम्मान पनि गरिएको थियो ।