१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्ण मल्लले गरे प्रदेशसभा सदस्यबाट राजीनामा घोषणा



अ+ अ-

कर्ण मल्लले गरे प्रदेशसभा सदस्यबाट राजीनामा घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको साधारण सदस्यबाट समेत निष्कासनमा परेका डडेलधुराका पूर्वसभापति कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

डडेलधुरमा उनले बिहीबार पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन् ।

पार्टीले साधारण सदस्यबाट समेत निष्काशन गरेपछि पार्टीबाट प्रदेशसभा सदस्यको हैसियतमा बस्न नमिल्ने भएर राजीनामा घोषणा गरेको उनले बताए । “नैतिकताले नै मलाई नेपाली कांग्रेसबाट प्रदेशसभाको निर्वाचित सदस्यका रुपमा बसिरहन दिँदैन”, उनले भने, “आजदेखि म प्रदेशसभा सदस्य नरहेको घोषणा गर्दछु ।”

यसैबीच मल्लले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेको झल्को दिने गरी आफ्ना कारणले पाएको पीडाप्रति क्षमा दिन अनुरोध गरेका छन् ।

उनले आफूलाई दोस्रोपटक राजनीतिक घर र आफ्नो मनबाट निकालेकामा पार्टी सभापति देउवालाई सधन्यवाद आभार व्यक्त गरेका छन् ।

मल्लले फेसबुकमा राखेको स्टाटस यस्तो छ :

परम आदरणीय दाजु साष्टाङ्ग प्रणाम,
मेरा कारण हजुरले पाउनुभएको पीडाका लागि क्षमा दिनुहोला । मलाई दोस्रो पटक राजनीतिक घर र हजुरको मनबाट निकाल्नु भएकोमा सधन्यवाद आभार व्यक्त गर्दछु । म अब पीडाकै बीचबाट तपाईंबाट प्रताडित साथीहरूसँगै न्यायका लागि देवरुपी जनताका बीचमा जाँदैछु ।
जय नेपाल । ॐ साइराम ।।