२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिडपछि नेपथ्यको पहिलो कार्यक्रम नयाँ वर्षका दिन दमकमा



अ+ अ-

काठमाडौ । नयाँ भाइरसले सिंगो विश्वलाई दुइ वर्षभन्दा बढी बिथोलेपछि अब विस्तारै परिस्थिती अनुकूल बन्दैगएको संकेत देखिएका छन् । यस बीचमा मानव जातीले ठूलो क्षती बेहोर्नु प-यो। हामीलाई एकापसमा जोड्ने सारा गतिविधि ठप्प भए । कहालीलाग्दो अवस्थाबाट सामान्यतर्फको यो संक्रमणलाई संगीतमय बनाउने पहलमा नेपथ्य फेरि आफ्ना शुभचिन्तक दर्शक श्रोताहरुको सामुन्ने उभिने तयारीमा जुटेको छ । र, त्यसको प्रारम्भ हुँदैछ पूर्वको उज्यालो सहर दमकबाट ।

आगामी बैशाख १ गते अर्थात् नयाँ वर्षको दिनलाई संगीतमय बनाउन चाहने नेपथ्यप्रेमीहरुका निम्ति झापाको फराकिलो मैदानले स्वागत गर्नेभएको छ ।

दमकको ‘इँटाभट्टा स्कुल’ अर्थात् सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा नेपथ्य फेरी एक पटक उभिने भएको छ । यसभन्दा पहिले पनि नेपथ्यले चार हजारभन्दा बढी दर्शकको उपस्थितीमा त्यसै मैदानमा आफूलाई उभ्याएको थियो ।

यसरी खुलाआकाशको चौरमा प्रस्तुत हुनुअघि उक्त सहरका अघिल्लो तीनवटा कन्सर्ट सिनेमाहलमा आयोजना गरिएका थिए । पछिल्लो खुला कन्सर्टका निम्ति भने पाँच वटा ट्रकमा काठमाडौंदेखि लोड गरेर आधुनिक मञ्चदेखि प्रकाश ब्यवस्थाहुँदै ध्वनी प्रणालीसमेत त्यहाँ पु-याइएको थियो ।

‘संगीतप्रेमी दर्शकहरुका निम्ति हामीले यसपाला पनि नेपथ्यलाई उत्तिकै भब्यता पूर्वक उभ्याउने तयारी गरेका छौं,’ ब्याण्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपथ्यप्रेमीलाई नयाँपन महशुस गराउने थप जमर्को पनि हुनेछ ।’

भौगोलिक अवस्थिती, राजनीतिक वातावरण र सम्पर्कका आधारमा पछिल्लो समय दमक पूर्वाञ्चलकै अर्को केन्द्रका रुपमा विकास हुँदै गइरहेको छ । पछिल्लो कन्सर्टका बेला पनि धरान, विराटनगरहुँदै इलामसम्मका दर्शकले त्यहाँ उपस्थिती जनाएका थिए । त्यो सहरमा नेपथ्यको यो पाँचौ प्रस्तुती हुँदैछ ।

कोरोना भाइरसले उसको कठोर पञ्जा विश्वभर फैलाउनुअघि नेपथ्यले आफूलाई राजधानी काठमाडौंकै भृकुटी मण्डपमा उपस्थित गराएको थियो । २०७६ साल फागुन १७ गतेको त्यो पछिल्लो कन्सर्ट एउटा गाउँले विद्यालयको पुनः निर्माणका लागि आयोजना गरिएको थियो । त्यो नै विश्व महामारीअघि नेपथ्यको अन्तिम प्रस्तुती बन्न पुग्यो ।

यसपटक को नेपथ्य कार्यक्रम दुइ बर्ष पछिको अन्तराल मा हुदैछ ।

‘यसबीच मैले लगभग सम्पूर्ण समय कास्कीको अनकन्टार डाँडामा रहेको आफ्नो गोठमा कृषक भएर बिताएँ,’ नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘जटिल बन्दैगएको कृषि कर्ममा घोत्लिँदै जाँदा विनाश उन्मुख प्रकृति र संकटग्रस्त मानव जीवन बीचको सम्वन्ध अझ खुल्दै गए ।’

त्यो एकान्तिक अवधिमा संगीतको अभ्यासलाई पनि जारी राखेको उनी सुनाउँछन् ।

‘बैज्ञानिकहरुको अथक प्रयासले यसैपाला इतिहासमै सबैभन्दा छिट्टो यो भाइरस विरुद्धको भ्याक्सिन पनि तयार भयो,’ अमृत थप्छन्, ‘अव विस्तारै हामी सबैले आ–आफ्ना कर्महरुबाट संसारलाई पूर्ववत् अघि बढाउनुपर्ने दायित्व आइपुगेको छ ।’

नयाँ वर्षकै दिन दमकमा आयोजना हुने नेपथ्यको कन्सर्ट हाम्रा तितो विगतलाई विसाएर नयाँ दिनको स्वागत गर्ने जमघटका रुपमा पनि महत्वपूर्ण हुने अमृतको विश्वास छ । उनका अनुसार कन्सर्टमा सदा झैँ नेपथ्यका सर्वकालीक हिट गीतहरु प्रस्तुत गर्नुका साथै केहि नयाँ प्रस्तुतीको तयारी पनि अघि बढिरहेको छ ।

दमकमा यो कन्सर्ट सफल पार्नका निम्ति स्थानीय ‘नेपाली टच’ र ‘ध्रुवतारा स्पोर्टिङ क्लब’ ले तयारी अघि बढाइसकेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबले आफ्नो स्थापनाको तीस वर्ष मनाउने अवसरका रुपमा पनि यो आयोजनामा अग्रसरता देखाएको हो ।

‘दर्शकको सुविधालाई ध्यानमा राखेर हामीले आवश्यक तयारीहरु अपनाएका छौं,’ आयोजक नेपाली टचका राज गोश्वामी भन्छन् ।

यो कन्सर्टको टिकट विक्रीका निम्ति दमकबाहेक काँकडभिट्टा, बिर्तामोड, उर्लाबारी, इटहरी, पथरी, लेटाङ, धरान, बिराटनगर, गौरादह र दुधेमा समेत विक्री केन्द्र राखिएका छन् । स्थानीय आयोजकका अनुसार टिकटको मूल्य भने एक हजार रुपैयाँ राखिएको छ । अनलाइन टिकट को निम्ति www.thuprai.com/nepathya  मार्फत व्यवस्था गरिएको छ ।

सँधै झैँ तोकिएकै अवधिमा सुरुहुने यो कन्सर्टका लागि उक्त दिन बेलुकी ठीक पौने पाँच बजे मैदानका ढोका खोलिने आयोजकले जनाएका छन् ।