१ पुष २०८२, मंगलवार
,
Latest
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बार्गेनिङ गरेर न्यायपालिकामा प्रवेश गर्ने प्रवृत्ति बढ्यो’



अ+ अ-

काशिराज दाहाल

२०४८ सालमा पार्टी सदस्यहरू नै मन्त्रीमार्फत् तत्कालीन पुनरावेदन अदालतमा प्रवेश गरे । निर्वाचनपछिको नेपाली कांग्रेसको पहिलो सरकारले त्यसरी गरेको नियुक्तिलाई पछि एमाले सरकारका पालामा पनि निरन्तरता दिइयो ।

तैपनि २०६३ सालसम्म आइपुग्दा यो क्रम त्यति धेरै बिग्रिसकेको थिएन । बीचमा राजाको शासनकालमा दरबारका सचिव, राजाका मन्त्रीले एकाध व्यक्तिलाई नियुक्त गरेको भए पनि अहिलेजस्तो गरी बिग्रिसकेको थिएन । २०६३ पछि अदालतमा भएका नियुक्तिहरूमा भने धेरै नै राजनीति भयो ।

यसको पहिलो कारणका रूपमा न्याय परिषद्को संरचनामा भएको फेरबदल थियो । २०४७ सालको संविधानले प्रधानन्यायाधीश र सर्वोच्चका दुई जना वरिष्ठ न्यायाधीशहरू, कानुनमन्त्री र एक जना कानुनविद् सदस्य रहने व्यवस्था गरेको थियो । यो व्यवस्था अनुसार परिषद्मा न्यायाधीशहरूको बहुमत हुन्थ्यो । जसका कारण सुरुमा भएका केही राजनीतिक प्रकृतिका नियुक्तिहरूलाई त्यसपछि रोकियो ।

प्रधानमन्त्रीकै सिफारिससमेत त्यो बेलाका प्रधानन्यायाधीशहरूले रोकेका उदाहरण छन् । म स्वयं न्याय परिषद्को सचिव रहेका बेला कानुनमन्त्रीले प्रधानमन्त्रीको सिफारिस छ भन्दै तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायलाई एक जनाको नाम सिफारिस गरे । उपाध्यायले उहाँलाई न्यायाधीश बनाउन उपयुक्त हुँदैन भन्नुभयो । त्यसपछिका वरिष्ठ न्यायाधीश लक्ष्मणप्रसाद अर्याल र त्यसपछिका न्यायाधीश केदारनाथ उपाध्याय दुवैले पालैपालो प्रधानन्यायाधीशको भनाइमा हाम्रो समर्थन छ, उहाँ ९प्रधानमन्त्रीको सिफारिसमा परेका व्यक्ति० न्यायाधीशका लागि योग्य हुनुहुन्न । नियुक्त गर्न सकिँदैन भन्नुभयो । त्यो नियुक्ति रोकियो ।

प्रजातन्त्र आएको सुरुआती वर्षमा नियुक्तिमा भएका विकृतिलाई बीचका वर्षहरूमा प्रधानन्यायाधीशहरूले रोकेका थिए । त्यसमा न्यायपरिषद्मा न्यायाधीशहरू बहुमत रहने व्यवस्थाले पनि सहयोग गरेको थियो । तर, २०६३ को अन्तरिम संविधानले परिषद्मा न्यायाधीशको संख्यालाई दुईमा झारेर उनीहरूलाई अल्पमतमा पारियो । बहुमत सदस्य राजनीतिक पृष्ठभूमिका भए त्यसैले पनि नियुक्ति धेरै राजनीतिक प्रकृतिका भए ।

 

बीचमा सर्वोच्च अदालतमा पनि कानुन व्यवसायी पृष्ठभूमिका व्यक्ति नियुक्ति नगरिएको होइन । तर, त्यस्ता नियुक्तिहरू विवादित थिएनन् । रामनगिना सिंह, सुशीला सिंह सिलु, अनुपराज शर्मा जस्ता स्वच्छ छविका व्यक्तिहरूलाई कानुन व्यवसायीहरूलाई नियुक्ति गर्नुपूर्व हामीले न्यायालयमा आएर सेवा गर्नुहोस् भनेर अनुरोध गरेका थियौं ।

उहाँहरूलाई अनुरोध गर्नुपूर्व पनि प्रधानन्यायाधीशले सर्वोच्च अदालतका सबै न्यायाधीशहरूसँग छलफल गरेर, कसलाई ल्याउनु उपयुक्त हुन्छ भनेर सबैको साझा मत लिएर उहाँहरूलाई आग्रह गरिएको थियो । उहाँहरू कसैले पनि हामीलाई सर्वोच्च अदालतमा ल्याउनुपर्‍यो भनेर लबिङ गर्नुभएको थिएन । आग्रह गरेर ल्याएको हो । तर, अहिलो त्यो अवस्था रहेन । २०४८ देखि न्यायालयमा प्रवेश गरेको विकृति २०६३ देखि व्यापक रूपमा विस्तार भयो । जसले न्यायालयको साखमा असर पुर्‍याएको छ ।

न्याय परिषद् अहिले राजनीतिक शक्ति केन्द्रमा परिणत भएको छ । यसको संरचनामा परिवर्तन गर्नुपर्छ । अर्को, संवैधानिक परिषद्मा प्रधानन्यायाधीश सदस्य रहने संविधानको प्रावधान पनि फेर्नुपर्छ । त्यसमा प्रधानन्यायाधीश सदस्य रहँदा आउने जटिलता अहिले हामीले भोगिरहेका छौं । संसदीय सुनुवाइ गर्ने व्यवस्था पनि हटाउनुपर्छ ।

अमेरिकामा कार्यकारी शक्ति अभ्यास गर्ने राष्ट्रपतिले सर्वोच्च अदालतमा गरेको मनोनयनलाई त्यहाँको सिनेटले अनुमोदन गर्ने व्यवस्थाको नक्कल गरेर हामीकहाँ संसदीय सुनुवाइको व्यवस्था भित्र्याइएको हो । तर, संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र विपक्षी दलको नेता रहने हुनाले उनीहरूको सिफारिसलाई संसदीय सुनुवाइले अनुमोदन गर्नैपर्दैन । हाम्रोमा यस्तो सुनुवाइ व्यवहारिक देखिएन । पार्टीका मुख्य नेताले भनेको भन्दा बाहिर गएर हाम्रा सांसद्हरूले निर्णय गर्न नसकेको पछिल्लो १५ वर्षको अनुभवले देखाएको छ । सबैको भागबन्डा मिलाएर सिफारिस गर्ने र नाममात्रको सुनुवाइ गर्ने यस्तो प्रचलन हटाउनुपर्छ ।

अर्को, महाअभियोगबाट पदमुक्त भएको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश र अन्य संवैधानिक निकायको पदाधिकारीले अकूत सम्पत्ति कमाएको रहेछ भने त्यसलाई भ्रष्टाचारमा कारबाही गर्नुपर्छ । लक्ष्मणप्रसाद अर्याल, कृष्णजंग रायमाझी र म समेत भएको समितिले २०५९ सालमै यस्तो प्रतिवेदन दिएका थियौं ।

पहिले कानुन व्यवसायीबाट न्यायपालिकामा ल्याउँदा आग्रह गरेर ल्याउनुपर्थ्यो, अहिले बार्गेनिङ गरेर प्रवेश गर्ने प्रवृत्तिको विकास भएको छ र यसैले न्यायपालिकाको स्वतन्त्रतालाई कमजोर बनाएको छ । (आजको कान्तिपुरमा समाचार छ )