२९ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सञ्जालको दुरुपयोग बढ्यो, एक वर्षमा २० हजारभन्दा बढी साइबर अपराधका निवेदन नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरूको विशेष अफर अर्घाखाँचीमा बाख्रामा पिपीआर सङ्क्रमण मुलुकमा सुशासन कायम गर्नको लागि सबै सरकारी सेवाहरु ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउन आवश्यकः अध्यक्ष पाण्डे स्याङ्जाको अरौदीखोलाले मोटरसाइकलसहित युवक बगायो, खोजी जारी अविरल वर्षा र बाढीका कारण कास्कीको वीरेठाँटी क्षेत्रमा ठूलो क्षति, सडक र पुल बगायो (तस्बिरसहित) बाजुरा पहिरो अपडेटः बेपत्ता र घाइतेको पहिचान खुल्यो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध मोदी खोलामा बाढी, अन्नपूर्ण मन्दिरमा पुजारीसहित तीन जना जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीयको पहलमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण



अ+ अ-

भोजपुर, १ पुसः स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको पानीट्याङ्की क्षेत्रमा ‘पेमा छ्योलिङ बौद्ध गुम्बा’ निर्माण गरिएको छ । बौद्ध धर्म–संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले करिब रु दुई करोड ३५ लाख लागतमा गुम्बा निर्माण गरिएको हो ।

देश तथा विदेशमा रहेका शेर्पा समुदायको उल्लेख्य योगदान र प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा गुम्बा निर्माण गरिएको गुम्बा व्यवस्थापन समितिका कोषाध्यक्ष आङदावा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार कूल लागतको करिब ७८ प्रतिशत रकम शेर्पा समुदायबाट चन्दा सङ्कलन गरी जुटाइएको हो ।

“धर्म, संस्कार र संस्कृतिको संरक्षणका लागि स्थानीयको सक्रियतामा गुम्बा निर्माण गरिरहेका छौँ”, कोषाध्यक्ष शेर्पाले भन्नुभयो, “हालसम्म करिब रु दुई करोड ३५ लाख बराबरको निर्माण सम्पन्न भइसकेको छ ।”

हालसम्म प्रदेश सरकारबाट रु ३१ लाख, भोजपुर नगरपालिकाबाट रु १७ लाख, वडा कार्यालयबाट रु छ लाख तथा स्थानीय समुदायबाट रु एक करोड ८१ लाख चन्दा सङ्कलन गरिएको समितिले जनाएको छ । गुम्बा परिसरमा एक जना व्यक्तिले व्यक्तिगत रूपमा रु २७ लाख खर्च गरी छोर्तेन निर्माण गरिदिनुभएको छ । हाल अमेरिका रहनुभएका फराडेन्डी शेर्पाले आफ्नै लगानीमा छोर्तेन निर्माण गरिदिनुभएको हो ।

गुम्बा निर्माणका लागि वडा नं ७ र ९ का करिब ११४ शेर्पा परिवारले न्यूनतम रु २० हजारका दरले सहयोग गरेका गुम्बा व्यवस्थापन समितिले जनाएको छ । गुम्बा निर्माण कार्य विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी योजनाबद्ध रूपमा अघि बढाइएको छ ।

गुम्बाको बाँकी तथा थप संरचना निर्माणका लागि आवमा वडा कार्यालयबाट रु दुई लाख र नगरपालिकाबाट रु पाँच लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष रामबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार विगतका वर्षदेखि नै वडाको उपलब्ध स्रोत–साधनअनुसार गुम्बाको संरक्षण र विकासमा निरन्तर सहयोग हुँदै आएको छ ।

“वडा नं ९ मा गुम्बा, मन्दिरलगायत धार्मिक संरचना धेरै रहेकाले यहाँ धार्मिक पर्यटनको राम्रो सम्भावना छ”, वडाध्यक्ष तामाङले भन्नुभयो, “बौद्ध धर्म–संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन विकास गर्न गुम्बा निर्माण गरिएको हो ।” भोजपुर बजार क्षेत्रमै पर्ने पानीट्याङ्की क्षेत्रमा चार रोपनी आठ आना क्षेत्रफलमा गुम्बा निर्माण गरिएको छ । बजार नजिकै भएकाले यस क्षेत्रका धार्मिकस्थलको संरक्षण तथा प्रवद्र्धनमा वडाले विशेष जोड दिएको जनाइएको छ ।रासस