२० श्रावण २०८३, बुधबार
,
Latest
सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो अन्तर्राष्ट्रिय कार्यक्रममा मात्र राष्ट्रिय स्कार्फ प्रयोग हुने उद्योगमन्त्री यादवको निर्देशनपछि औद्योगिक क्षेत्रमा कडाइ, कन्टिनेन्टल कम्पोनेन्टलाई ७ दिनभित्र छलफलमा उपस्थित हुन पत्र विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता विराटनगरमा सबैभन्दा बढी वर्षा केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त आर्थिक रुपान्तरणका लागि ‘नीतिगत आत्मविश्वास’ आवश्यक, राष्ट्र बैंकलाई समस्या समाधान गर्ने नियामक बन्न अर्थमन्त्रीको आग्रह धनुषा रेडक्रसको बडहरी केन्द्र बेवारिसेः एम्बुलेन्स र उपकरण थन्किए, राहत सामग्री गोदाममै कुहिए चितवनमा गत आवमा जुवाडेबाट रु १२ लाख बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते



अ+ अ-

फिक्कल । पयटन प्रवर्द्धन गर्ने उद्देश्यले आज इलाममा आयोजित ‘रेडपाण्डा म्याराथन’को उपाधि पुरुषतर्फ गजेन्द्र राई र महिलातर्फ निर्मला राईले जितेका छन् ।

इलाम सदरमुकामदेखि नेपाल–भारत सीमाक्षेत्र सन्दकपुर डाँडासम्मको निर्धारित ४४.२ किलोमिटर दूरी गजेन्द्र राईले ४ घण्टा १२ मिनेट १० सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । उनले उपाधिसँगै नगद रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरे । महिलातर्फकी निर्मला राईले पाँच घण्टा २० मिनेट ३६ सेकेण्डमा दौड पूरा गरिन् । उनले उपाधिसँगै नगद रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरिन् ।

चार घण्टा १३ मिनेट ५९ सेकेण्डमा निर्धारित दूरी पार गर्दै पुरुषतर्फ करण रावल दोस्रो भए । उनले नगद रु एक लाख पुरस्कार प्राप्त गरे । तेस्रो स्थान प्राप्त कर्णबहादुर रोक्काले चार घण्टा १९ मिनेट ३८ सेकेण्डमा निर्धारित दूरी पार गर्दै नगद रु ५० हजार प्राप्त गरे भने चौथो स्थान प्राप्त गरी श्रीकास राईले नगद रु ३० हजार पुरस्कार प्राप्त गरे ।

विजेता सबै विभागीय टिम त्रिभुवन आर्मी क्लबको भएको आयोजक दीपज्योति युवा क्लबका कार्यक्रम निर्देशक राम रिमालले जानकारी दिए । सुनसरी रोकायले पाँच घण्टा ४० मिनेट ३९ सेकेण्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ दोस्रो भइन् । उनले पनि नगद रु १ लाख पुरस्कार प्राप्त गरिन् ।

तेस्रो स्थान प्राप्त गर्दै कल्पना बुढाले नगद रु ५० हजार र चौथो स्थान प्राप्त गरी राज्यलक्ष्मी शाक्यले नगद रु ३० पुरस्कार प्राप्त गरिन् ।

त्यसैगरी स्थानीय विधातर्फको उपाधि राजेन्द्र म्याङ्बो जितेका छन् । उनले नगद रु २५ हजार पुरस्कार प्राप्त गरे । विशाल राई दोस्रो भए । उनले नगद रु २० हजार, तेस्रो स्थान प्राप्त रमेश लिम्बूले नगद रु १० हजार र चौथो स्थान प्राप्त टङ्क आले मगरले नगद रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

म्याराथनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतकासमेत गरी पुरुषतर्फ ६२ जना र महिलातर्फ ११ जना धावकहरु सहभागी थिए । धावकहरुले इलाम सदरमुकामस्थित चोक बजार (११२० मिटर उचाइ) बाट सन्दकपुरडाँडा (३६१० मिटर उचाइ)सम्म दौडेका थिए ।

रेडपाण्डा नेटवर्क, सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाको सहयोगमा दीपज्योति युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको थियो । लोपोन्मुख रेडपाण्डा (हाब्रे) संरक्षण, खेलकुद र पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको म्याराथनले सन्दकपुर गाउँपालिकाको मात्र नभइ समग्र इलामको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले बताउनुभयो ।