काठमाडौ । न्यायपालिकाभित्र देखिएको विवादमा मौन रहँदै आउनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा र वरिष्ठतम न्यायाधीश दीपक कुमार कार्कीसँग छलफल गर्नुभएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा हाल देखिएको असहज अवस्थाको अन्त्य कसरी गर्ने विषयमा केन्द्रित रहेको थियो । उहाँहरुसँग छलफल गर्नुअघि प्रधानमन्त्री देउवाले सर्वाेच्च अदालतमा एक अर्का न्यायाधीशसँग पनि छलफल गर्नु भएको थियो । स्रोतका अनुसार प्रधानन्यायाधीशले तत्काल राजीनामा गर्ने भन्दा पनि केही समय काम गरेर स्वाभाविक रुपमा न्यायालय फर्केपछि केही समय पछि मार्गप्रशस्त गर्ने र कार्कीले न्यायपालिका सम्हाल्ने कुरा उठे पनि ठोस रुपमा कुनै निचाेडमा भने पुगेको छैन ।
गत बिहीबार प्रधानमन्त्रीले यस बारेमा गृहमन्त्री बालकृष्ण खाँण, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू, र महान्यायाधीवक्ता खम्बबहादुर खातीसँग पनि छलफल गर्नु भएको थियो । प्रधानमन्त्री देउवाले न्यायपालिकाको समस्यामा कार्यपालिका प्रवेश गर्न नहुने भन्दै त्यहीँबाट निकास खोज्नु पर्ने बताउनु भएको थियो ।
कार्तिक ८ गते देखि ईजलास बहिष्कार गरेर प्रधानन्यायाधीशलाई असहयोग गर्दै न्यायाधीशहरु आन्दोलनमा रहेका छन् । उता नेपाल बार एशोसिएसन पनि प्रधानन्यायाधीशलाई सर्वाेच्च छिर्न नदिने भन्दै निषेधित क्षेत्र सर्वाेच्चको ढोका नै नारा जुलुस गरिरहेको छ ।
यसैबीच आइतबारबाट सर्वाेच्च अदालतका कर्मचारीहरु पनि आन्दोलित हुने भएका छन् । उनीहरुले लामो समयसम्म न्यायपालिकालाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै सबै न्यायाधीशहरुलाई दवाब दिन आन्दोलन गर्न लागेका हुन् ।