काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै ईजलास बहिष्कार गरेर अदालत भित्रै आन्दोलनरत न्यायाधीशहरुबीच बेमेल बढ्दै गएको छ ।
आइतबार अदालत खुलेपछि तल परिसरमा नेपाल बार एशोसिएसनको प्रदर्शन भै रहेको थियो । प्रधानन्यायाधीश राणाले बेञ्चमा पेशी तोके पनि ईजलास बहिष्कार गरेर बसेका न्यायाधीशहरु नयाँ रणनीति बनाउन छलफलमा जुटेका थिए । तर छलफल सुरु हुँदा नहुँदै न्यायाधीश आनन्दमोहन भट्टराई तथा न्यायाधीश कुमार रेग्मी र कुमार चुडाल बीच चर्को भनाभन भएको स्रोतले जनायो ।
स्रोतका अनुसार न्यायाधीशहरुबीच आन्तरिक छलफलमा उठेका कुरा न्यायाधीश भट्टराईले सञ्चारमाध्यमलाई उपलब्ध गराएको भन्दै दुई न्यायाधीशले आपत्ति जनाएका थिए । उहाँहरुबीच चर्काचर्की हुँदा अन्य न्यायाधीशले पनि गोपनीयता कायम नभएको भन्दै छलफल गर्न सोच्नु पर्ने बताएका थिए ।
स्रोतले भन्यो, दुई कुमारले न्यायाधीश भट्टराईलाई अनैतिक काम गर्नेसँग के सल्लाह गर्ने भन्दै कडा आक्रोश पोखे । दुई कुमारले भने, "गए जागिर जाने हो तर यस्ता अनौतिकसँग कसरी सहकार्य हुन्छ ?" स्रोतका अनुसार बुधबार सर्वोच्चको पूर्ण बैठक बस्ने तयारी भै रहेको छ । त्यसपछि हाल देखिएको घटनाक्रमले नयाँ नाटकीय मोड पनि लिन सक्छ ।