८ भाद्र २०८३, सोमबार
,
Latest
जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला सशक्तीकरण, सहभागिता र समानताको विषय केवल महिलाको मात्र मुद्दा होईन: राष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । राष्ट्रपति बिद्यादेबी भण्डारीले महिला सशक्तीकरण, सहभागिता र समानताको विषय केवल महिलाको मात्र मुद्दा नहुने बताउनु भएको छ । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले  यसका लागि  महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका आवश्यक रहेको जनाउनु भएको छ ।

शुभकामना सन्देशमा भनिएको छ – नेपाली जनताको दशकौं लामो राजनीतिक आन्दोलनको प्रतिफलस्वरूप महिला सशक्तीकरणको क्षेत्रमा हामीले प्राप्त गरेका उपलब्धीहरू विश्‍व महिला आन्दोलनकै लागि प्रेरक मानिएको छ । महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न हामीले संविधानमार्फत आधारभूत व्यवस्थाहरू गरी विभिन्न कानुन समेत अभ्यासमा ल्याएका छौँ । फलतस् मुलुकका तीनै तहका सरकार, संसद र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको छ । 

पछिल्लो समयमा लैङ्गिक समानताका विभिन्न सूचकहरूमा नेपालले प्रगति गर्दै आएको देखिएकाले हाम्रा प्रयासहरू परिणाममुखी हुने चरणमा छन् भन्न सकिन्छ । यसबाट  नेपाली महिलाहरूको प्रतिष्ठा क्रमशस् अभिवृद्धि हुँदै गएको छ भन्ने मलाई लाग्दछ ।
लैङ्गिक समानताका लागि वर्तमानमा हामीलाई अभिप्रेरित गर्ने एउटा स्रोत हाम्रो प्राचीन परम्परा पनि हो, जहाँ मातृशक्तिको महत्त्व व्यापक रहेको पाइन्छ । समाजको उन्नतिका लागि अत्यावश्यक शिक्षा, शक्ति र आर्थिक स्रोतका अधिष्ठात्री मानिने सरस्वती, दुर्गा र लक्ष्मी नारीशक्ति नै भएबाट यसको पुष्टि हुन आउँछ । वैदिक कालमा गार्गी, मैत्रेयी जस्ता विदुषीहरूको सम्मान त्यत्तिकै उच्च रहेको हामी पाउँछौं । यति हुँदाहुँदै पनि परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्‍वास र कुप्रथाका कारण महिलामाथि विभेद हुँदै आएको छ‚ जसलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैले प्रण गर्नु पर्दछ । 

सन्देशमा भनिएको छ – विश्‍व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैङ्गिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष आठ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइन्छ । यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्‍चितता’ भन्ने राष्ट्रिय लक्ष्य तय गरेको छ । यसको अभिप्राय महिलाहरूको आर्थिक, सामाजिक तथा संरचनात्मक रुपान्तरणद्वारा मुलुकको समृद्धि र दिगो विकासतर्फ अग्रसर रहनु हो भन्ने मलाई लाग्दछ ।

सन्देशमा भनिएको छ – महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा‚ विभेद‚ उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्‍चत गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप उर्जा र उत्साह प्राप्त हुन सकोस् भनी शुभकामना व्यक्त गर्दछु ।