काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत साविक विजेता मछिन्द्र फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बलले दुई गोल गरे भने एनआरटीका एरिक विष्टले सान्त्वना गोल गरे ।
खेलको १२ औं मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाए । विशाल राईको पासमा उनले गोल गरेका हुन् ।
५४ औं मिनेटमा एरिक विष्टले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलको ८० औं मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २–१ को जित दिलाए ।
खेलको म्यान अफ दि म्याच सुनिल बल घोषित भए ।