• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट ★   न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक– तस्बिरहरू ★   ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा को आए ? ★   अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन गृह मन्त्रालयको निर्देशन ★   सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै ★   प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट ★   कीर्तिमानी कोहलीः १० सिजनमा ४०० भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान ★   आईपीएलमा आज: बलियो कोलकाता र पञ्जाब खेल्दै ★   सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती ★   न्युरोडबाट एक केजी भन्दा बढि सुन र डेढ करोड रकमसहित ७ जना पक्राउ

काबुलमा आत्मघाती आक्रमण छको मृत्यु



काबुल २५ मंसिर । अफगानिस्तानको राजधानी काबुलको उपनगरमा बिहीबार बिहान भएको एक आत्मघाती बम आक्रमणमा कम्तीमा छ अफगान सैनिकको मृत्यु भएको छ ।

काबुलको बाहिरी इलाकामा पर्ने ताङ्गी तराखील क्षेत्रमा अफगान सैनिकलाई लिएर गइरहेको एक बसलाई लक्ष्यगरी आत्मघाती आक्रमणकारीले आक्रमण गरेको अपराध शाखा एकाइका प्रमुख जनरल फारिद आफ्जाइलले बताए ।

तालिवान आतङ्ककारी समूहका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले यस आक्रमणको जिम्मा तालिवान समूहले लिएको सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

स्थानीय समयअनुसार बिहीबार करिब ७ः१५ मा ताङ्गी तराखील क्षेत्रमा पैदल नै आइरहेका एक आत्मघाती आक्रमणकारीले अफगान सेनाको बसलाई लक्ष्यगरी आक्रमण गरेको आफ्जाइलले बताए ।

यस आक्रमणबाट छ सैनिकको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका उनले बताए । अफगान गृह मन्त्रालयले पनि यस आक्रमण र मृतकको सङ्ख्या पुष्टि गरेको छ । तर गृह मन्त्रालयका अनुसार भने सो आक्रमणमा ११ जना घाइते भएका छन् ।

आगामी डिसेम्बर ३१ बाट नेटो सैनिकले आफ्नो लडाकूको भूमिकालाई परिवर्तन गरी सहयोगको भूमिका निभाउने भएको छ । त्यसैगरी अफागानिस्तानमा तालिवान आतङ्ककारीसँगको लडाइँमा सन् २०१० मा एक लाख ३० हजार सैनिक रहेकामा सो सङ्ख्या झरेर १२ हजार ५०० मा आउने भएको छ ।

अर्थात् यसै महिनाको अन्त्यबाट अफगानिस्तानमा रहेका नेटो आबद्ध प्रायः सैनिकले अफगानिस्तान छोड्ने छन् । सन् २०१५ बाट नेटो आबद्ध १२ हजार ५०० सैनिक मात्र अफगानिस्तानमा बाँकी रहने भएका छन् । ती नेटो सैनिकले पनि अफगान सैनिकलाई तालिम, सल्लाह जस्ता कार्यमा मात्र सहयोग गर्ने छ ।

सोही कारण पनि अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ । तर पछिल्लो समयमा अफगानिस्तानको सरकारले यो कारबाहीका लागि त्यहाँको प्रहरीलाई अघि सार्न थालेको छ । पछिल्लो समयमा तालिवानले पनि अफगानिस्तानका विभिन्न स्थानमा सुरक्षाकर्मी र सरकारी अधिकारीलाई लक्ष्यगरी आक्रमणलाई तीव्र पारेका छन् ।