• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

सरकारको नजरमा नपरेको मेट्रो रेल



राजधानी काठमाडौंको ट्राफिक व्यवस्थापन र सहज यातायातका लागि मेट्रो रेल अपरिहार्य छ भन्न थालेको वर्षौं भइसक्यो । यो विषय केही दिन चर्चामा हुन्छ, फेरि सेलाउँछ ।

सामान्यतया यातायात इञ्जिनियरिङमा ३० लाख भन्दा बढी जनसंख्या भएको सहरमा सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने हो भने शहरी मेट्रो रेलको सञ्जाल बनाउनु पर्छ भन्ने सिद्धान्त छ । काठमाडौको जनसंख्या अहिले ५० लाखको हाराहारीमा छ । त्यसैले गर्दा हामीलाई रेल सेवा आवश्यक छ ।

शहरी रेलको अध्ययनको इतिहास हेर्दा नेपालमा यो त्यति लामो छैन । नेपाल सरकारले सन् २०११ मा पहिलो पटक सम्भाव्यता अध्ययन गरेको थियो । त्यो अध्ययनमा काठमाडौंमा पाँच ओटा रुट छनौट गरिएको थियो । अध्ययनमा ७८ किलोमिटरको मेट्रो रेलको सञ्जालको परिकल्पना गरिएको थियो । सन् २०११ देखि २०२३ सम्म आइपुग्दा यो १२ वर्षमा हामीले न डिपिआर गर्यौं न कुनै काम गर्यौं । हामी घेरै पछाडि परिसकेका छौं ।

आज हामीले मेट्रो रेल बनाउँछौ भन्यौ भने कसैले पत्याइहाल्ने अवस्था छैन, मानिसहरु हास्ने अवस्था छ । एउटा बस त व्यवस्थापन गर्न नसक्ने देशले कसरी मेट्रो रेल बनाउँछ भन्ने ज्वलन्त प्रश्न छ । तर पनि हामीले के हेर्नु पर्यो भने सार्वजनिक यातायातको व्यवस्थापन नगरी कुनै पनि यातायात प्रणालीको व्यवस्थापन हुँदैन । हामीले वार्षिक रुपमा हेर्ने हो भने पनि भौतिक पूर्वाधारमा सबैभन्दा बढी बजेट जान्छ । त्यही अनुसारको सडक सञ्जाल बढेको छ । चौडा पनि गरिएको छ । पिच रोडहरु बढेका छन् । तर पनि यातायात प्रणाली सुधार भयो भन्ने अनुभूति गर्न सकिएको छैन । किन भने हामीले सार्वजनिक यातायातमा लगानी गरेनौं ।

सार्वजनिक यातायातको सन्दर्भमा मेट्रो रेलको कुरा बढी हुन्छ । हामीले यस्तो क्षेत्रमा लगानी नै गरेनौं । मेट्रो बनाउनु पर्छ यसमा दुईमत छैन । यसका लागि दिल्लीको मोडल उयपुक्त हुन्छ । त्यहाँ मेट्रो कर्पोरेसन स्थापना भयो, सबै काम त्यहीँबाट भयो । हामीकहाँ अहिले भै रहेको कुनै पनि निकायबाट मेट्रो रेल बन्ने सम्भावना नै छैन । यदि मेट्रो रेल बनाउने हो भने एउटा निकाय खडा गर्ने, त्यहाँ विज्ञहरु राख्ने, बजेट राख्ने र तयारी गर्दै जाने गरेर अगाडी बढ्नु पर्छ । बनाउन सक्दैनौ भनेर पछाडि हट्नु हुँदैन । यसको तयारी गर्नुपर्छ ।

अबका १० वर्ष भित्र पनि काठमाडौ उपत्यकामा मेट्रो रेल चलाउन सकेनौं भने यहाँको सार्वजनिक यातायातको बेहाल हुन्छ ।

(गजुरेल ट्राफिक इञ्जिनियर तथा सार्वजनिक यातायात विज्ञ हुनुहुन्छ)