१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती

सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
अ अ+ अ-

ढोरपाटन । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष पूरा भयो । तराई क्षेत्रलाई नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनसहित पहाडी जिल्ला जोड्नका लागि निर्माण गरिएको उक्त सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन ।

यतिका समयसम्म सडक स्तरोन्नति नहुँदा स्थानीय र ढोरपाटन पुग्ने पर्यटकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । विसं २०६८ मा रुपन्देहीको सालझण्डीदेखि सुरु भएको यो सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पा हुँदै ढोरपाटन जोडिएको थियो । रुपन्देहीमा, अर्घाखाँची, पाल्पा र गुल्मीमा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षाअनुसार काम हुन सकेको छैन ।

सङ्घीय सरकारले सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरेर ठेक्का प्रक्रिया अगाडि बढाए पनि निर्माण कम्पनीले ढिलासुस्ती गरिरहेको छ । विसं २०७८ कात्तिक ५ गते निर्माण कम्पनीले ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि वडा नं ९ को फल्लेघरसम्म को २२ किलोमिटर सडक ग्राभेल गर्ने गरी जिम्मा लिएको थियो ।

सडक फराकिलो बनाउने, नाली निर्माणसहित ग्राभेलका लागि स्वच्छन्द/ओमबुद्ध जेभी काठमाडौँले रु २३ करोडमा जिम्मा पाएको थियो । तीस महिनामा सक्ने गरी सम्झौता भए पनि हालसम्म आधा पनि काम हुन सकेको छैन ।

हालसम्म २६ प्रतिशत वित्तीय र ३० प्रतिशत भौतिक प्रगति भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका सूचना अधिकारी दिक्षा बस्यालले जानकारी दिनुभयो । निर्माण कम्पनीको ३० महिने काम गर्ने अवधि सकिएको भन्दै म्याद थपका लागि निवेदन आएको उहाँको भनाइ छ ।

कार्यालयले म्याद भने थपि नसकेको बस्याल बताउनुहुन्छ । निर्माण कम्पनीले चासो दिएर काम नगर्दा समयमै काम नसकिएको उहाँले बताउनुभयो । कार्यालयले बारम्बार समयमै काम सक्नका लागि ताकेता गरे पनि अटेरी गरेको छ ।

सूचना अधिकारी बस्यालले भन्नुभयो, “निर्माण कम्पनीले काम गरिसक्नुपर्ने हो, यतिका समयसम्म प्रगति हेर्नुहुन्छ भने निकै कम छ, कार्यालयबाट धेरै पटक समयमै काम सक्नका लागि पत्राचार गर्‍यौँ, तर अहिले म्याद नै सकियो, काम सकिएन, निर्माण कम्पनीले नियमानुसार म्याद थपका लागि निवेदन दिनुभएको छ, तर म्याद थप भने भएको छैन, धमाधम काम गरेको भए पहिले नै सकिन्थ्यो, ग्राभेल गर्ने मात्रै काम थियो, निर्माण कम्पनीले ढिला सुस्ती गर्‍यो ।”

सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुन्छ । निर्माण कम्पनीले समयमै काम नगर्दा ढोरपाटन आउने पर्यटक र स्थानीय बढी मर्कामा छन् । दैनिक सयौँ यात्रु तथा पर्यटक जोखिमपूर्ण यात्रा गरेर ढोरपाटन पुग्ने गर्छन् । हिउँदको समयमा जसोतसो यातायातका साधन चले पनि बर्खा लाग्यो भने ठप्प हुने गर्दछन् ।

हिउँदको समयमा पनि ठूलो वर्षा हुँदा गाडी राम्रोसँग चल्न सक्दैनन् । सडक सहज नहुँदा स्थानीयलाई पालिकाको केन्द्र बुर्तिबाङ आउजाउमा समेत समस्या भएको ढोरपाटन–९ का प्रेमबहादुर घर्ती मगरले बताउनुभयो । ढोरपाटनदेखि बुर्तिबाङ बजार दूरीका हिसाबले छोटो भए पनि अप्ठ्यारो सडकका कारण दुई घण्टा बढी समय लाग्ने उहाँको भनाइ छ ।

“सबैले ढोरपाटन ढोरपाटन मात्रै भन्छन्, तर यहाँ पुग्ने सडक गतिलो बनाउन सकेनन्, हामीहरु हिउँदमा धुलो खाने, बर्खामा हिलो खाने मात्रै भइयो, यात्रा गर्दा महँगो भाडा तिर्नुपर्छ, सजिलोसँग यात्रा पनि गर्न पाइँदैन, कहाँनेर दुर्घटना हुन्छ भन्दै मुटु छामेर यात्रा गर्नुपर्छ”, घर्तीले भन्नुभयो, “बाटो उस्तै साँघुरो छ, खाल्डाखुल्डीले गर्दा गाडी बीच बाटोमै बिग्रिँदा घुम्न आएका पर्यटक अलपत्र पर्ने गरेका छन्, ठेकेदारले काम गरेन भन्छन्, काम नगर्ने ठेकेदारलाई कारबाही गर्न कसले रोकेको रैछ, बुझिनसक्नु छ ।”

एक सय ९० किलोमिटर दूरीको सालझण्डी–ढोरपाटन सडक बागलुङमा मात्रै ५० किलोमिटर पर्छ । यो सडकसँग बागलुङको बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका गरि तीन पालिका जोडिएका छन् । ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धनबहादुर कायतले निर्माण कम्पनीको ढिलासुस्तीका कारण यहाँका हजारौँ नागरिक र सयौँ पर्यटकले समस्या भोग्नुपरेको बताउनुभयो ।

पोखरा, काठमाडौँलगायत देशका विभिन्न ठाउँबाट आउने पर्यटकले बुर्तिबाङसम्म राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा सहजरुपले आए पनि ढोरपाटन पुग्न निकै गाह्रो भएको गुनासो गर्ने गरेको उहाँको भनाइ छ । काम सक्नका लागि समय–समयमा ठेकेदारलाई आग्रह गरे पनि अटेरी गरेको कायत बताउनुहुन्छ ।”

उहाँले भन्नुभयो, “बुर्तिबाङसम्म आउनका लागि अहिले कुनै समस्या छैन, जब बुर्तिबाङदेखि माथि लागिन्छ तब, यात्रुले सास्ती खेप्नुपर्ने अवस्था छ, कतै गाडी फसेर समस्या बन्दिन्छ, कतै साँघुरो सडकका कारण अप्ठ्यारो ठाउँमा जाम पर्छ, सडकको स्तरोन्नति नहुँदा अनेक समस्याले ग्रसित बनाएको छ, गाउँबाट आलु, सिमी र स्याउ बजार ल्याउन पनि उत्तिकै समस्या हुने गरेको छ, काम नगर्ने निर्माण कम्पनीलाई राज्यले कारबाही गर्नुपर्छ ।”रासस