६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

निर्मला र निर्भया

निर्मला र निर्भया
अ+ अ-
सुशीला कार्की
पूर्व प्रधान न्यायाधीश
निर्मलाको नाममा मैनबत्ती बलेका छन् । अपराधीलाई सजायको माग गरी कति ठाउँमा पूजाआजा गरिएको देखिन्छ । भनाइ छ, भगवानको घरमा देरी हुन सक्छ, अँध्यारो हुन सक्दैन भन्दै कान्तिपुर दैनिकमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की लेख्नुहुन्छः
काठमाडौँ — भारतमा २०१२ डिसेम्बर १६ को राति गुडिरहेको बसभित्र निर्भयामाथि बलात्कार र सांघातिक आक्रमण भयो । उनका पुरुष मित्र अबिइन्द्रप्रताप पाण्डे पनि हमलाका सिकार भए । राति ८ बजेसम्म सिनेमा हेरेर निर्भया र उनका मित्र घर फर्कन बस चढेका थिए ।

त्यसमा अरू ६ जना थिए । तिनले निर्भयाविरुद्ध आक्रमण गरे । पालैपालो बलात्कार गरे । तिनीहरूविरुद्ध निर्भयाले लड्ने र भिड्ने संघर्ष गरिन् । उनका पुरुष मित्रले उनलाई बचाउन भरमग्दुर प्रयास गरेका थिए । तर सफल भएनन्। ती ६ जनाले निर्भया र उनको पुरुष मित्रको रगतले लतपतिएको शरीरलाई बसबाट बाहिर फाली कुल्चाउने प्रयास गरेका थिए। तर अचेत निर्भयालाई उनका मित्रले तानेर बचाए।

निर्भयाको निडर भन्ने अर्थ लाग्छ, कसै–कसैले उनलाई दामानी पनि भनेर नामकरण गरेका छन् । निर्भयाको मित्रको बयान अनुसार जब उनीहरू नाङ्गै अवस्थामा फालिए, उनका पुरुष मित्रले सडकमा हिँड्ने यात्रुहरूसंँग सहयोगको याचना गरी शरीर ढाक्ने कपडा र अस्पताल पुर्‍याउन सहयोग मागेका थिए । तर सबैले उनीहरूलाई हेरे, अनि गए । कसैले सहयोग गरेनन् । पछि प्रहरी आयो र एम्स अस्पतालमा पुर्‍याएर उपचार गरियो।

निर्भयाको असली नाम के थियो ? कहिल्यै खोलिएन । उनको फोटो कहिल्यै कतै प्रकाशित भएन । यो वारदातले विश्वलाई दु:खी बनाएको थियो । भारतीय जनताले यस घटनाको व्यापक विरोध गरेका थिए । ६ जना अपराधी पक्राउ परे । तीमध्ये १ जना नाबालक भएकाले उसलाई ३ वर्षमात्र कैद गरियो । १ जना रामसिंह भन्नेले थुनुवा अवस्थामै आत्महत्या गरे । ४ जनालाई भारतको सर्वोच्च अदालतले फाँसीको सजाय तोकिसकेको छ ।

निर्भया फिजियोथेरापी पढाइ सकेर ‘इन्टर्न’ गर्दै थिइन्। उनका बाबुआमा साधारण हैसियतका थिए । तर परिश्रम गरी छोरीलाई चिकित्सक पढाएका थिए । भारत सरकारले घटना भएको ११ दिनपछि उनलाई उपचार गर्न सिंगापुर पठायो । तर २९ डिसेम्बरमा उनको मृत्यु भयो ।

निर्भयाको शव स्वदेशमा ल्याइका बेला हवाई मैदानमा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह र सोनिया गान्धी पुगेका थिए । शव दाहसंस्कार गर्ने बेला शिला दीक्षित श्मशानघाट पुगेकी थिइन् । त्यस घटनापछि भारत सरकारले बलात्कारको मुद्दालाई द्रुतमार्गबाट हेर्ने व्यवस्था गर्‍यो । यस्ता मुद्दामा फाँसीको सजाय दिने कानुनमा व्यवस्थासमेत गरेको छ ।

भारतमा भएको यो घटनाको ६ वर्षपछि नेपालको कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको छ । निर्भया हत्या हुँदा २३ वर्षकी थिइन्, तर निर्मला १३ वर्षकी मात्र । साउन १० गते पढ्न र गृहकार्य गर्न भनी साथी रोशनी बमको घरमा गएकी उनी घर फर्किनन् ।

निर्मलाकी आमा दुर्गादेवीले छोरी खोजिदिन प्रहरीसँग पटक–पटक अनुनय–वियन गरे पनि उनीहरूले दिलचस्पी दिएनन् । स्थानीयको भनाइ अनुसार उजुर परेकै दिन खोजिदिएको भए सायद निर्मला ज्युँदै फेला पर्न सक्ने थिइन् । प्रहरीले चासो देखाएन । किनकि निर्मला धनीमानी, पहुँचवाला परिवारकी छोरी थिइनन् । पानीपुरी र चटपटे बेच्ने आमाबाबुकी छोरी थिइन् । नेपालमा अधिकांश प्रहरी महिला र गरिब मैत्री छैनन् ।

११ गते निर्मलाको शव उखुबारीभित्र फेलापर्‍यो । युट्युबमा राखेको निर्मलाको अर्धनग्न शरीरको मृत दृश्य देख्दा सकिन्छ । जो कोहीको आँखा रसाउँछ । एउटा महिला प्रहरीले उनको विर्य र रगत लागेको कपडा (सुरुवाल) पानीले धुन्छे । अनि फेरि योनिलाई पखालिदिन्छे । जबकि ती कपडा प्रमाणका निम्ति दशी हुन् । त्यसमा रगत र विर्य लागेको हुन्छ, जुन शव परीक्षणको निम्ति काममा आउने हुँदा त्यसलाई सुरक्षित रूपमा राख्नुपर्ने हो । घटनास्थलमा प्राप्त सबै प्रमाण कपी, कलम, साइकल, लुगा वरपर जे–जे देखापर्छ, त्यसलाई सुरक्षित रूपमा कसैलाई छुन नदिई राख्दा हत्याराको हातको रेखाचिन्ह फेला पर्न सक्थ्यो ।

ज्यान सम्बन्धी महलको (तत्कालीन मुलुकी ऐनमा) २ नम्बरमा हत्याराको सूचना पाएपछि प्रहरी र स्थानीय निकायका पदाधिकारीले के गर्ने भन्ने कानुनी व्यवस्था छ । सरकारी मुद्दा सम्बन्धी ऐन २०४९ मा पनि ज्यान सम्बन्धी महलको ३ नम्बरमा वारदात स्थलको सुरक्षाको व्यवस्थाबारे उल्लेख छ । जस अनुसार लास रहेको स्थानभन्दा पर हेर्न आउनेलाई राख्ने र सुरक्षाकर्मीले पनि लासको वरपर हातखुट्टाको वा केही किसिमको चिन्ह वा जमिन घस्टिएको, माडिएको वा घिसारिएको चिन्ह दशीलाई नमासिनेगरी सुरक्षित रूपमा प्रमाण संकलनका निम्ति राख्ने गर्नुपर्छ ।

त्यसको फोटो खिची मुचुल्का गरी लासलाई पोष्टमार्टमको निम्ति लगेपछि मात्र वारदात स्थल खुला गर्न सकिन्छ । अनुसन्धान पूर्व त्यस्ता प्रमाण संकलन गर्ने र छेडखानी हुन नदिनुपर्नेमा लासको वरपर सबैको आवत–जावत र भिड लागेको देखिन्छ । प्रहरी जसले वारदातको अनुसन्धान गर्छ, उसलाई यी सब कुराको तालिम दिएको हुन्छ, तापनि प्रमाण संकलनको क्रममा किन गैरकानुनी काम भयो ? मौकामा प्रमाण संकलन गम्भीर रूपमा नगरी प्रमाण मेटाउन उद्यत रहने प्रहरीलाई कर्तव्यनिष्ठ भन्ने कि कर्तव्यहीन भन्ने ? प्रश्न उब्जेको छ ।

मृतक हराएकै भोलिपल्ट लास भेटिएको छ । मौकामै राम्रो नियत चिताएर अनुसन्धान गरेको भए अपराधी फेला पर्ने थियो । मौकामा कुकुरद्वारा अपराधी पत्ता लगाउने प्रयास गरेको भए, लासलाई अभियुक्त फेला नपरेसम्म नजलाएको भए, मृतकको लुगा नजलाएको भए, सीसी क्यामेराको फुटेज समयमा हेरेको र वारदात स्थललाई तत्काल छेडखानी नगरी बम दिदीबहिनीको घर मौकामा खानतलासी गरेको भए अपराधी पत्ता लाग्ने थियो । तर जसरी लासलाई टाढाको दाजुभाइ साइनो पर्नेको सहारा लिएर हतार–हतार जलाउने काम भयो, त्यो नै शंकास्पद छ ।

लास जलाउने पनि कानुनी प्रक्रिया छ । लास नजिकको नातेदारलाई बुझाउँदा कानुन बमोजिम सदगदको निम्ति नजिकको हकदारलाई कागज गराई बुझाइन्छ । लास टाढाको मामा पर्नेलाई जिम्मा लगाउने कारण के परेको थियो ? किन हिन्दु संस्कृतिको दुहाइ दिँदै स्वयम् स्थानीय प्रशासकले आमाबाबुलाई लास जलाउन दबाब दिएका थिए ?

जबकि हत्यारा फेला नपरेसम्म हामी लास सदगत गर्दैनौं भनी बाबुआमाले भनिरहेका थिए । प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकारी, सेनाका अधिकारी, स्थानीय निकायका मानिसलाई लास जलाउन र मृतकको कपडा डढाउन किन हतारो ? त्यसको उत्तर एउटै देखियो, प्रमाण जतिसक्दो छिटो मेटाउनु । अर्थात् कुनै शक्तिशाली व्यक्तिलाई जेलनेलबाट बचाउनु थियो । प्रमाण अभाव भएपछि बलात्कारी हत्यारा कसरी पत्ता लाग्ने ? प्रमाण संकलनकर्ता नै यो मुद्दालाई दबाउने पक्षमा देखिन्छन् । अन्दोलन गर्ने स्थानीयमाथि निर्ममतासाथ गोली चलाइयो ।

निर्मला हत्याकाण्डमा सरकारका प्रभावशाली व्यक्तिले शंकाका घेरामा रहेका बम दिदीबहिनीलाई सफाइ दिँदै निर्दोष भनी भाषण गर्न छाडेनन् । प्रहरीले शंका भएका उनीहरूको घरमा खानतलासी पनि गरेन र जबर्जस्ती यातना दिएको भरमा कुनै कृत्रिम अभियुक्त खडा गर्न उद्यत रहेको देखियो । एउटाले गरेको अपराधमा अर्कोलाई जबर्जस्ती फँसाउनु अनि तिनलाई सामाजिक रूपमा बदनाम गर्नु फेरि तिनलाई यातना दिनुले प्रहरीको छवि कहाँ पुग्यो ?

हुँदाहुँदै अपराधीले मारेको छोरीका बाबुआमाले ज्यान जोगाउनलाई लुक्नुपर्ने तर अपराधी भने स्वतन्त्र विचरण गर्नेसम्मको वातावरण बन्यो । यसले संविधानले व्यवस्था गरेको सामाजिक सुरक्षाको प्रत्याभूति के भयो ? त्यति मात्र होइन, प्रधानमन्त्रीलाई भेटेर गुहार माग्न आएका निर्मलाका बाबुआमा प्रधानमन्त्रीको अभिव्यक्तिबाट निराश भएर फर्किनुपर्‍यो ।

नेकपाका प्रभावशाली एक नेताले हाल भएका बलात्कारी घटना एकमना सरकारलाई ढाल्ने षड्यन्त्र मात्र हो भने । त्यो भनाइ कति न्यायोचित हो ? सरकारले के–के नै गरेजस्तो देखाएर एक, दुई, तीन गरी अनुसन्धान टोलीमाथि टोली कञ्चनपुर पठाइरहेको छ । अब जनता मूर्ख छैनन् । सबैले कुरा बुझेका छन् । अब कुनै पनि बलात्कारको वारदातका अभियुक्त पत्ता लगाई सजाय दिने र पीडितले न्याय पाउनेछन् भन्ने शंकै छ । तापनि देशभरि निर्मलाको नाममा मैनबत्ती बलेका छन् । अपराधीलाई सजायको माग गरी कति ठाउँमा पूजाआजा गरिएको देखिन्छ ।

भनाइ छ, भगवानको घरमा देरी हुनसक्छ, तर अँध्यारो भने हुन सक्दैन । ईश्वर नमान्नेले नमान्लान्, तर प्रकृति पनि भगवान नै हो, उनी वलिष्ठ छन्, न्याय र अन्यायलाई प्रकृतिले पनि छुट्याउने गर्छ । किन हिंस्रक बाघ जसले जीवनभर अरु जीवको हत्या गर्छ, उसको अन्त्य दर्दनाक हुन्छ । त्यस्तै अरु निरीह पन्क्षीको बचेरा खोसेर खाने बाज र चिलको मृत्यु पनि त्यति नै पीडादायी हुन्छ ।

निर्मलारूपी फक्रिनसम्म नपाएको कोपिलालाई च्यातेर, कुल्चेर फाल्ने अन्यायीको कठालोसम्म सम्भवत: कानुन र नियमको हात नपुग्ला तर जसरी निर्मलाको असामयिक अनि पीडादायक मृत्यु जो जसले गरायो, उसका भोलिका दिन सुरक्षित र स्वस्थ्यकर नभई दर्दनाक अन्त्य हुने निश्चित छ । यो प्रकृतिको नियम हो ।