• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर ★   एमालेलक्षित झलनाथको टिप्पणी: काँग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै



काठमाडौँ, ३ मङ्सिर:  प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आजै ब्युँझनुहुने भएकाले कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महीना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

विष्णु क्षीरसागरमा सुत्नुभएकाले यी चार महीनामा विवाह ब्रतवन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढीपहिरो आउने र सर्प जस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महीनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।

कार्तिक महीनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भए अनुसार यस महीनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपार्इँ उठे जगत् उठ्छ” भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रुपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवं मन गरी ११ वटालाई जित्न उपयोग गरिन्छ ।

चार महीनासम्म उपासना गरेर श्रद्धा भक्तिसाथ हरिबोधिनी एकादशीका दिनमा भगवान् विष्णुको विशेष पूजा गर्दा ११ वटै जाग्छन् भन्ने विश्वास रहेको वाल्मीकि विद्यापीठका सहप्राध्यापक श्रीराम सापकोटाले बताउनुभयो ।

किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पाप नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ ।

ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कार्तिक महीनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग शास्त्रमा वर्णन गरिएको छ ।

आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।