जयप्रकाश अानन्द
महन्थ ठाकुर समसामयिक मधेसका राजनीतिज्ञहरूमध्ये सबैभन्दा जेठो हुनुहुन्छ । आदरणीय तथा प्रतिबद्ध पनि । राजपाका संसदीय दलका नेता हुनुहुन्छ र त्यस पार्टीको संयोजक हुनुहुन्थ्यो । राजपा अध्यक्ष मंडलका ६ जना सदस्यहरूमध्ये ४/५ जनाले बैठक गरी उहाँलाई संयोजकबाट हटाए । यस समाचारबाट देशकै राजनीति तरंगित भयो । सबैतिर दुष्चिन्ता छायो । केही खुशी पनि भए होलान, तर धेरै भने चिन्तित देखिए । मधेसका राजनीतिक समस्याको शान्तिपूर्ण समाधान चाहनेहरू मधेसी र पर्वते-दुबै वृतका मानिसहरू चकित भए । अब राजपा बिखण्डित हुने भए भनी मधेसमा मैले एक प्रकारको दुष्चिन्ता व्याप्त भएको अनुभव गरेको हुँ । वास्तवमा म स्वयं नै राजपाका “सत्ता समर्पण तथा मुद्दा बिसर्जनवादी” सोचकाे बिरोधी हुँ । तरपनि, राजपा टुट्नु हुँदैन भन्ने चाहना राख्दछु ।
आफूलाई संयोजकको जिम्मेवारीबाट हटाइएकोमा महन्थ जी ४/५ दिन मौन रहनुभयो । यस मौनताले परिस्थितिलाई अझ गंभीर बनायो । बिखण्डनको हावाले बल नै पाएको थियो । नयाँ संयोजक राजेन्द्र महतो जी पनि विनित भावमा महन्थ जीका प्रति सार्वजनिक रूपमा सद्भावपूर्ण अभिव्यक्ति दिएर राम्रै गर्नुभयो । तर, महन्थ जी आफ्नो उपचारका लागि दिल्ली प्रस्थान गर्नुभन्दा ठीक पहिले राजपा अध्यक्ष मंडलको बैठकमा सरिक भएर चिन्तामा रहेका सबैलाई आश्वस्त पार्नुभयो । मलाई पनि लागेको छ कि, शायद अब टुटफुटको संभावना टरेको छ ।
यस पश्चात महन्थ ठाकुर उपचारका लागि दिल्ली जानुभयो । काठमांडू विमानस्थलबाट प्रस्थान गर्नु हुँदा अपवाद बाहेक पुरानो तमलोपा सम्बद्ध केही नेताहरू उहाँको विदाइका लागि एयरपोर्ट पुगेको एकाध तस्वीर सामाजिक संजालमा देखियो । धेरैले महन्थ जीलाई दयाका पात्र झैं देखाउँदै मजाक र खिसी गरेको पाइयो । यो राम्रो भएन । तर, सर्वाधिक नराम्रो पक्ष त राजपा अध्यक्ष मंडलका अन्य कुनैपनि सदस्य उहाँको बिदाइमा नपुग्नु रह्यो । धेरै जना पुग्दा राम्रो र कोही पनि नपुग्नु नराम्रो-कुरो यति मात्र होइन । कुरो त हामी एकापसमा एकअर्कालाई कति सम्मान गर्छौ, आफ्ना सहकर्मीहरूका प्रति कति सद्भाव राख्छौ, अधिकार प्राप्तिको यस लामो लडाईमा सँगै लागिपरेका अन्य नेताको जीवनलाई कतिको आवश्यक ठानेका छौ; सवाल त यो पनि हो । जुन नेताहरूको आह्वानमा ६ महिनाको आन्दोलनमा १२५ जना भन्दा बढी मानिसहरूले ज्यान दिए, ती नेताहरू स्वयं एकअर्काका प्रति कति साख्यभाव राख्छन्-अबका पुस्ताले चुपचापै सही तर यो संस्कार र संस्कृति पनि खोज्दैछन् मधेसी नेताहरूमा !
यहाँ मैले दुईटा तस्वीर पोष्ट गरेको छु । पहिलो तस्वीर मैले माथी उल्लेख गरेको महन्थ ठाकुर दिल्ली जान लाग्नु भएको बेलाको हो । फेसबुकबाट लिएको हुँ । दोस्रो तस्वीरमा म बाहेक नेपाली राजनीतिका बडो आदरणीय तथा मुर्धन्य मानिसहरू देखिनु हुन्छ । बायाँको पहिलो म नै हुँ, तेस पछि एक जना सरकारी कर्मचारी र तेस पछि क्रमश: बेनी बहादुर कार्की, गणेशमान सिंह, दमननाथ ढुंगाना र कृष्ण प्रसाद भट्टराई देखिनु हुन्छ । यहाँ उहाँहरूको परिचय दिई रहनु पर्दैन होला । यो तस्वीर, गिरिजा प्रसाद कोईराला बिदेशबाट फर्किन लाग्नु हुँदा उहाँको शिष्टाचार-स्वागतका लागि यी कालजयी नेताहरू एयरपोर्ट पुग्नु भएको सन्दर्भ स्मरणीय छ । फेरी यो पनि थाहा पाईराख्नु पर्ला कि तेस बेला गिरिजा बाबुसंग बेनी बहादुर कार्की, गणेशमान जी, दमन जी र स्वयं किसुन जीको बडो ठूलो मतभिन्नता रहेको थियो । तेस बेलाका समय साक्षीहरूलाई नै थाहा होला कि उहाँहरूमा कत्रो विवाद थियो । तर, वैयक्तिक रूपमा एकले अर्काका प्रति सम्मान तथा शिष्टाचारको गंगोत्री पनि मनमा राखेको कुराको दृष्टान्त हो यो पुरानो तस्वीर ।
मिथिला, जहाँ प्राग: एेतिहासिक कालमा आदि शंकराचार्य र मंडन मिश्रका बीच भएको शास्त्रार्थको उल्लेख गर्दै हामी आजका राज्य संचालकहरूलाई हाँक दिई रहेका हुन्छौ । मिथिलाका विपूल साँस्कृतिक विरासत तथा सुसंस्कृत परम्पराका कुरा गरिरहेका हुन्छौ । तर, यथार्थमा हामी स्वयंका बीचबाट धेरै कुराहरू हराएको छ । ति मध्येका एक कुरा मधेसका अगुवाहरूको मनबाट परस्परका लागि सद्भाव तथा सम्मानको पलायन पनि हो ।
महन्थ जी..
(जयप्रकाश अानन्द तराइ मधेस राष्ट्रिय अभियानका संयाेजक एवं प्रखर लेखक तथा पत्रकार हुनुहुन्छ)