३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको विकास गर्न जापानको सहयोग निरन्तर रहन्छ : राजदूत मायदा



अ+ अ-

काठमाडौँ। नेपालका लागि जापानका नवनियुक्त राजदूत तोरु मायदाले जापानले नेपालको विकासमा गर्दै आएको आर्थिक तथा प्राविधिक सहयोगलाई निरन्तरता दिने बताएका छन्।

नेपाल जाइका अलमनाई एसोसिएसन (जान) द्वारा नवनियुक्त राजदूत मायदाको सम्मानमा आज यहाँ आयोजित स्वागत कार्यक्रममा उनले नेपाल–जापानबीच लामो समयदेखि मैत्रीपूर्ण, घनिष्ठ र सुमधुर सम्बन्ध रहिआएको बताए।

राजदूत मायदाले भने, ‘हाल करिब दुई लाख नेपाली जापानमा अध्ययनलगायत विभिन्न पेसा र व्यवसायमा संलग्न हुनुहुन्छ। जापानी भाषा, संस्कृति र जापानका बारेमा ज्ञान भएका नेपाली जनशक्तिको जापानमा अझै खाँचो छ।’

धेरै वर्ष पहिला नेपालको भ्रमणमा आफूले यहाँको सुन्दर पहाड र हिमाल हेर्न तथा जहाँ–जाँदा पनि नेपाली नागरिकबाट न्यानो माया पाएको स्मरण गर्दै राजदूत मायदाले अहिले राजदूतका रुपमा नेपाल आउँदा अझ खुसी लागेको धारणा व्यक्त गरे।

‘जान’का सदस्यहरुले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन र नेपालको विकासका लागि जानका सदस्यले भविष्यमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रम आयोजक संस्था जानका अध्यक्ष डा रामचन्द्र भुसालले जानले विगत पाँच दशकदेखि नेपाल–जापानबीचको सम्बन्ध सुमधुर बनाउन, जापानी प्रविधि नेपालमा भित्र्याउन र देशको आर्थिक विकासमा सहयोग पुर्याउन उल्लेख्य भूमिका खेलेको बताए। अलमनाई एसोसिएसनले दुई देशबीचको सम्बन्ध विस्तार गर्ने सिलसिलामा ललितपुर र सिन्धुपाल्चोकको ग्रामीण समुदायमा विभिन्न सहयोग तथा जापानी प्रसिद्ध वृक्ष साकुराका बिरुवा हस्तान्तरण कार्यसमेत गर्दै आएको छ।

स्वागत कार्यक्रममा जाइका नेपालका प्रमुख आवासीय प्रतिनिधि मिजुकी माच्चुजाकी, सरकारका उच्च अधिकृत, जानका सदस्य, जापानी राजदूतावास एवं जाइका नेपालका उच्चपदस्थ अधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरु सहभागी थिए। रासस