१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूलीमा बेपत्ता तामाङ भेट्टिएनन्



अ+ अ-

बेत्रावती । चोरीको अभियोगमा पक्राउ परी प्रहरी नियन्त्रणबाट भागेर त्रिशूली नदीमा हामफालेका रसुवा उत्तरगया गाउँपालिका–२ का मैते तामाङको अवस्था अझै अज्ञात छ । उनलाई नदीमा गोताखोरको टोलीले भेट्टाउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो ।

गत पुस ४ गते त्रिशूली नदीमा पसेर बेपत्ता भएका १९ वर्षीय तामाङको खोजीका लागि सोमबार सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालीम केन्द्र कुरिनटारबाट आएको गोताखोरको टोलीले दिनभर खोजी गरे पनि भेट्टाउन नसकेको हो । सशस्त्र प्रहरी नायब निरीक्षक प्रल्हाद सिलवालको नेतृत्वको गोताखोर टोलीले तामाङ नदीमा पसेको स्थान पैरेबेँसीदेखि त्रिशूली जलविद्युत् केन्द्रमा पानी लगेको बाँधस्थल अक्करेसम्म खोजी गरे पनि भेट्टाउन नसकेको नुवाकोट प्रहरीले जनाएको छ ।

केन्द्रको बाँधस्थललगायतका ठाँउमा यसअघि नै खोजी गरे पनि भेट्टाउन नसकेपछि थप स्थानमा खोजीका लागि सोमबार गोताखोरको टोली परिचालन गरिएको थियो । उक्त टोलीले पनि भेट्टाउन नसकेपछि खोजीको वैकल्पिक उपाय अपनाउनुपर्ने देखिएको डिएसपी भट्टराईले भन्नुभयो ।

गत पुस ३ गते राति माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरीको अभियोगमा तामाङसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यही अभियोगमा अनुसन्धान तथा कारवाहीका लागि प्रहरी कार्यालय ल्याउने क्रममा पँैरेबँेसीमा आएपछि शौच गर्ने बाहनामा उनी त्रिशूली नदीमा पसेर बेपत्ता भएका थिए । तामाङ आफँै नदीमा पसेको नभई प्रहरीले बगाइदिएको भन्दै विरोधमा स्थानीयवासीले पुस ४ मा मैलुङ प्रहरीचौकी तोडफोड गरी दुई प्रहरीलाई घाइते बनाइदिएका थिए । सोही क्रममा प्रहरीले पाँच राउण्ड हवाईफायरसमेत गर्नुपरेको थियो । रासस