• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन ★   सिंहदरबारमा कृषि प्राविधिकहरुको धर्ना ★   कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु ★   भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या ★   रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी ★   प्रधानमन्त्रीले आज राजीनामा नदिए एमालेले के गर्छ ? ★   एमालेसँगको सहमति अनुमोदन गर्न आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै ★   ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता, चालकको उद्धार ★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध ★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश

चन्द्रागिरि डाँडोमा पृथ्वीनारायणको सालिक



एकराज पाठक
पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि चन्द्रागिरिमा आयोजित समारोलाई सम्बोधन गर्ने क्रममा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले बारम्बार एउटा आग्रह गरिरहनुभएको थियो— यो चन्द्रागिरि पर्वतसँग पृथ्वीनाराण शाहको ऐतिहासिक र धार्मिक सम्बन्ध जोडिएकोले हामीले मुलुकको इतिहास संरक्षणमा एउटा इट्टा थप्ने काम मात्र गरेका हौँ, यसलाई यही रुपमा लिइदिनुहुन विनम्र अनुरोध छ । वास्तवमा चन्द्रागिरि हिल्स लिमिटेडसँग दुई फरक चुनौती थिए । पहिलो चुनौती थियो नेपालका इतिहासकार त भई नै हाले तर देशको राजनीतिक इतिहाससँग थारैमात्र पनि परिचित जोसुकै व्यक्ति त्यहाँ पुगेपछि त्यस ठाउँमा पृथ्वीनारायण शाहको सालिक राख्न सुझाव दिन्थे । जसले ढकाल वा उक्त हिल्सका सञ्चालकहरुसँग भेट्थे उनीहरुले भेटमा या फोनबाटै यो सुझाव दिन्थे अनि अरु सर्वसाधारणले सामाजिक सञ्जालमार्फत त्यो सुन्दर पर्वतको दृश्यावलोकनको अनुभवसँगै त्यस स्थानमा पृथ्वीनाराणयणको सालिक पनि भैदिए कति राम्रो हुन्थ्यो भनेर थप्थे । त्यसैले पनि यहाँ सालिक निर्माण आवश्य थियो ।

फेरि उहाँको दोस्रो चुनौती के थियो भने नेपालमा लोकतान्त्रिक व्यवस्थाको स्थापनासँगै यो सालिक ढालिएको थियो या ढाल्ने अभियान चलाइएको थियो । त्यसैले चन्द्रागिरिमा पृथ्वीनारायण शाहको सालिक निर्माणको कार्यलाई कुनै राजनीतिक रङ्ग दिने काम त हुने होइन भन्ने आशङ्का पनि थियो । त्यसैले उहाँले सही ठाउमा सही काम गरेको भएपनि यसलाई कहिँकतैबाट अर्काे रुपरङ्ग दिइने प्रयास होला कि भनेर आफ्नो सम्बोधनका क्रममा बारम्बार यो आग्रह गर्नुभएको थियो । तर यो सालिक अनावरणका लागि राष्ट्रपति बिद्यादेवी भण्डारी स्वयंको उपस्थिति एउटा यस्तो ऐतिहासिक संयोग बन्यो कि यसले उहाँले नेपालको इतिहास संरक्षणका क्रममा एउटा इट्टा थप्न खोजेको भनेपनि त्यहाँ अर्काे इट्ट पनि स्वत थपिन पुगेको थियो । त्यतिमात्र नभएर सो कार्यक्रममा एक दशकमात्र अघि पृथ्वीनाराण शाहको सालिक ढाल्नेदेखि सालिक ढाल्दैमा आश्था मर्दैन भनेर बचाउ गर्नेसम्मका राजनीतिक दलका शीर्षस्थ नेताहरु उपस्थित भएर उक्त कार्यको आवश्यकता र महत्वमाथि जोड दिनुले वास्तवमै राष्ट्रिय एकताकै स्वरुप त्यहाँ निर्माण भएको थियो । उक्त हिल्सको लगानीमा मुर्तीकार नविन सुवेदीद्धारा निर्मित सो सालिक विसं २०७४ को असोज ८ गते राष्ट्रपति भण्डारीले अनावरण गर्नुभएको थियो । उहाँले सालिक निर्माणका साथै चन्द्रागिरि पर्वतको सौन्दर्यको संरक्षण र प्रवर्धन तथा यहाँको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वसमेतलाई उजागर गरेर एकीकृत पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गरेकोमा चन्द्रागिरि हिल्स लिमिटेडको प्रशंसा पनि गर्नुभयो ।

चन्द्रागिरि पर्वतसँग पृथ्वीनारायाण शाहका विभिन्न उल्लेखनीय एवम् ऐतिहासिक तथ्य जोडिएको छ । उहाँ आफ्नो ससुराली मकवानपुरबाट नुवाकोटतर्फ जाने क्रममा चित्लाङ, सिमभञ्ज्याङ, चन्द्रागिरिहुँदै यात्रा गर्ने गर्नुहुन्थ्यो । उहाँ यसरी यात्रा गर्ने क्रममा एकपटक दशैँको समय परेको थियो । सायद उहाँ दशैँमा सुसुराली आएका बखत त्यहाँ पुग्नुभएको हुनसक्छ । चन्द्रागिरिबाट पूर्वतर्फ उहाँले हेर्दा काठमाडौं खाल्डोमा पहेँलपर धान पाकेको थियो । दशैँ असोज कात्तिकमै पर्ने भएकोले त्यस समयमा यस सुन्दर काठमाडौँ खाल्डोमा लहलह धान झुलेको र पाकेर पहेँलै भएको थियो । यो दृश्य निकै मनमोहक थियो । उहाँले त्यो धान देखेपछि उहाँको मन यसरी कल्पियो कि यति खाल्डोसम्म मैले मेरो गोरखा राज्य बिस्तार गर्न सकेँभने यसले मैले सोचेको एकीकृत नेपाल नै पाल्न सहज हुनेछ र मेरो राज्य धनी पनि हुनेछ । पहिले पहिले मानिसको सम्पन्नता वा समृद्धि धानमा मापन गरिन्थ्यो । केही अघिसम्म पनि धेरै धान फलाउने, गोठसँगै ठूलो टौवा हुने व्यक्ति धनी कहलिन्थे । धानलाई समृद्धिको मापक मानिन्थ्यो गाउँघरतिर । राज्य पाल्नका लागि पनि खेती किसानी नै मुख्य आयस्रोत थियो उ समयमा । पृथ्वीनारायण शाहले खेती हुने जमिनमा बस्ती नबसाल्नु र यदि बस्ती छ भनेपनि अन्यत्रै सारेर खेती गर्नु भनी दिएका दिव्य उपदेशबाट पनि यो कुराको प्रमाणि हुन्छ । यसरी उहाँलाई पहिलो पटक काठमाडौं उपत्यकासँगको आकर्षण धानले दिएको थियो भनिन्छ । तर दुर्भाग्य अहिले त्यो पहेँलपुर धान झुलेको काठमाडौँ खाल्डोमा घर ठडिएका छन् भने देशभारिका अरु पमि मलिला खेतका फाँटहरु बाँझै छन, बनमारा झुलेको छ ।

अर्काे तथ्य नेपालको इतिहासमा के भेटिन्छ भने यसरी काठमाडौं खाल्डोलाई आफ्नो एकीकृत राज्यमा पार्ने अभियानको महत्वाकांक्षालाई साकार पार्न पृथ्वीनारायण शाहले सोही चन्द्रागिरिमै रहेको महादेवथानसँग बरदान माग्नुभएको थियो । चन्द्रागिरिमा हाल भालेश्वर मन्दिर निर्माण भएको स्थानमा केही समयअघिसम्म पनि एउटा विशाल त्रिशुल थियो । त्यस समय त्यस त्रिशुलको धार्मिक तथ्य उहाँले खोज्नुभएको भन्ने त कतै पाईँदैन, तर पनि त्रिशुल रहेकोले यहाँ पक्का पनि महादेवको उत्पत्ति भएको हुनसक्छ भनी आफ्नो नेपाल एकीकरण अभियान र त्यसमा पनि काठमाडौँ खाल्डोमाथि बिजय प्राप्त गर्नसकौँ भनी कामना गरेको इतिहास भेटिन्छ । नेपाल एकीकरणको सफलतापछि उहाँ फेरि सो महादेवस्थानमा पूजाआजाका लागि गएको र यसको धार्मिक इतिहास खोज्दा उक्त स्थानमा सतिदेवीको अंग भाल अर्थात निधार पतन भएकोले भालेश्वर महादेवका नामबाट परिचित हुन थालेको थियो । त्यसअघि यहाँ पुजा अर्चना गर्ने जोसुकैका पनि मनोकांक्षा पूरा हुने भएकोले यसलाई इच्छेश्वर महादेवका नाममा पनि चिन्ने गरिएको थियो । सायद पृथ्वीनारायण शाह चन्द्रागिरिमा दोस्रो पटक जानुभएको हुनसक्छ त्यस समयमा उहाँसँग दुईजना ज्योतिष पनि थिए– भानु अर्जेल र कुलानन्द ढकाल । ती ज्योतिषसँग पृथ्वीनाराण शाहले हाल चन्द्रागिरि हिल्स लिमिटेडले ‘सेल्फी प्वाइन्ट’ बनाएको स्थानबाट काठमाडौँतर्फ फर्केर हेरेका थिए । ती ज्योतिषले पनि उहाँलाई सफलताको सुझाव दिएका थिए ।

करिब ५० लाख मानिस बस्ने उकुसमुकुस काठमडौं खाल्डोको एकमात्र निकास रहेको यस चन्द्रागिरि पर्वत नेपाल निर्माणकै इतिहाससँग जोडिएको छ । यहाँको अद्वितीय स्वरुप र मनोरम जैविकता हेर्दा लाग्छ खोजिपसे अरु पनि यस्ता कैयौँ राजनीतिक र धार्मिक तथ्यहरु भेटिने छन् । तर दुःखद कुरा त के छ भने नेपाली संस्कृति मौनतामा आधारित छ । अनुसन्धान हाम्रालागि अरु कसैले गरिदिनुपर्छ, हामी गर्न सक्दैनौँ । ‘नजाने गाउँको बाटै नसोध्नु’, ‘ठूलाबडाहरुसँग सवाल जवाफ नगर्नु’, भन्ने जस्तो संस्कारबाट हामी हुर्किएका छौँ । त्यसैले हामी न अनुसन्धान गर्न सक्छौँ र नत पुराना एवम् ऐतिहासिक तथ्यहरुलाई जोगाएर आगामी पुस्तासम्मकै लागि राखिदिन सक्छौँ । मानिस मरेपछि उसका सबै वस्तुहरु यहाँसम्म कि उसको चिना, चिर्कटसम्म पनि जलाइदिने हाम्रो संस्कार छ । यसले गर्दा विश्वविद्यालयका विद्यार्थी हुन् वा सामाजिक अनुसन्धाता, गहन खोजीका लागि भौँतारिनुपर्ने अवस्था छ हाम्रो । तर जसले जहाँबाट सकिन्छ, जसले जे तथ्य भेट्छ उसले यसरी संरक्षण गरिदिने हो भने हाम्रो इतिहास पनि बडो सबल हुनेथियो । चन्द्रागिरि हिल्स लिमिटेडले निर्माण गरेको यो एउटा सालिकले नेपालको इतिहासलाई विश्वविद्यालयका पाठ्यपुस्तकबाट बाहिर अर्थात आमसर्वसाधारण सामु ल्याइदिएको छ । अब यो तथ्य इतिहास विषय अध्ययन गर्ने विद्यार्थी वा शोधार्थीको साँघुरो घेराभन्दा यति बाहिर आएको छ र हरेक दिन त्यहाँ पुग्ने हजारौँ नेपालीले यो ऐतिहासिक तथ्यको जानकारी राख्न सक्ने भएका छन् । इतिहास संरक्षण गर्ने विषय हो र यसमा टेकेर आगामी दिनमा थप तथ्यहरु पनि उजागर हुनेछन् । त्यसैले इतिहासको संरक्षण राज्यले मात्र गर्नुपर्छ भन्ने छैन भन्ने यथार्थको उत्कृष्ट उदाहरण आजका दिनमा यस चन्द्रागिरि हिल्स बनेको छ जसले राजधानी शहरभित्रै ढालिएका सालिक चन्द्रागिरिको चुचुरोमा ठडाएर राज्यले गर्न नसकेको काम गरेको छ । र यसले अर्काे संयोग के पनि जुराइदिएको थियो भने त्यस कार्यका लागि पृथ्वीनाराण शाहको सालिक पुजा गर्नेदेखि नेपालका लोकतन्त्रको स्थापनासँगै उनको सालिक ढाल्नेसम्मका नेताहरु पनि उपस्थित थिए । यो जमघट ऐतिहासिक त थियो नै तर यसले लोकतन्त्र स्थापनाको एक दशकभित्रै शुरुको त्यो उतार चढाव र निषेधको भावनालाई माझेर अहिलेको यो एकताको सन्देश दिन पुगेको थियो । गणतन्त्रको स्थापनाका लागि लागेका नेताहरुकै रोहबरमा नेपालको दोस्रो राष्ट्रपतिले यो सालिकको अनावरण गर्नुलाई सकारात्मक बाहकको अर्काे कुनै पनि सन्देशका रुपमा लिन सकिँदैन । पृथ्वीनारायण नेपाल निर्माणका नायक हुन् । त्यसैले उनको सालिक ढाल्दैमा जन जनको मनमा रहेको आश्था मर्दैन भन्ने तथ्य अहिले आएर अधिकांश नेपालीको मनमा पसिसकेको छ । आजका दिनलाई राष्टिय एकता दिवसका रुपमा मान्ने र राष्ट्रिय विदा दिनुपर्ने विषयमा आएका आमधारणाहरुबाट पनि यो कुरा सजिलै बुझ्न सकिन्छ ।

(गत वर्षको असोज महिनामा अनावरण भएको सालिकबारेको त्यसै महिनाको राजधानी दैनिकमा छापिएको पाठकको यो आलेख आज पृथ्वी जयन्तीमा पनि सान्दर्भिक हुने भएकोले यहाँ पुनः प्रस्तुत गरिएको छ ।)