१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

बाँदर्नी मैयाको कथा

बाँदर्नी मैयाको कथा
अ अ+ अ-

प्रदीप गिरि

काठमाडौँ — प्रत्येक समाजमा दन्त्यकथा, लोककथा हुन्छन् । पुराण पनि हुन्छन् । दन्त्यकथा, लोककथा र पुराणलाई एक–अर्काको पर्याय मान्नुपर्छ भन्ने छैन । पुराणले सृष्टिको रहस्य बुझ्न खोज्छ । दन्त्यकथा र लोककथाले मानिसको व्यक्तित्व बुझ्न धेरै मद्दत गर्छ ।मैले स्कुल पढ्दा अत्यन्तै चाख मानेर पढेको पुस्तक हो, बोधविक्रम अधिकारीको ‘नेपाली दन्त्यकथा’ ।

दन्त्यकथा चाखलाग्दो हुन्छ । बालक र किशोर त्यसै झुम्मिन्छन् । त्यो संकलन मैले यसपटक फेरि खोजेँ । साझा प्रकाशनले पुन:मुद्रण गरेको त्यो पुस्तक दुर्लभ भइसकेको रहेछ । त्यो पुस्तक पोखरामा चाहिँ भेटियो ।

पहिलो कथा ‘राजकुमार दिक्पाल’को छ । आखिरी भने ‘बाँदर्नी मैया’को । बीचमा अन्य थुप्रा कथा थिए, राजा सतल सिंह, महारानी केशवत्ती, लाटो–बुङ्गो, शिशिर–वसन्त आदि । यी कथामध्ये ‘बाँदर्नी मैया’को कथा मलाई बडो घत लाग्यो ।

कथामा एउटा राजाका सात भाइ छोरा छन् । उनीहरूको बिहे गर्ने उमेर भएछ । राजाले सबै छोरालाई भनेछन्– ‘तिमीहरूले आ–आफ्नो लक्ष्यमा वाण हान । त्यो वाण जुन घरमा ठोकिन्छ, त्यसै घरको कन्यासँग तिमीहरूले अनिवार्य विवाह गर्नुपर्छ ।’

राजाको यस्तो उर्दी किन भयो ? त्यसको व्याख्या छैन । राजहठको अगाडि कसको के लाग्छ ? सातै भाइले वाण हाने । ६ भाइको वाण राजदरबार, धनाढ्य, जमिनदार, मन्त्री जस्ताका घरमा गएर लागेछ । तर कान्छो भाइको वाण भने एउटा रुखमा लाग्यो । त्यो रुखको टोड्कामा एउटी बाँदर्नी भेटिइन् । राजाले ‘तैंले यही बाँदर्नीसँग विवाह गर्नुपर्छ’ भने । कान्छो राजकुमारले आफ्नो भाग्य सम्झेर सहर्ष स्विकार्‍यो र ‘बाँदर्नी मैया’लाई विवाह गरेर ल्याइयो ।

विवाहको उपलक्ष्यमा प्रत्येक भाइले भोज दिनुपर्ने भयो । ६ भाइले आ–आफ्नो पालामा एकदमै भव्य भोज दिए । यिनीहरूको विवाह सम्भ्रान्त परिवारसँग भएको थियो । हुनेखानेकै छोरी भएपछि गतिलो भोज दिन कुनै गाह्रो थिएन । कान्छोलाई भने आपत् पर्‍यो । बाँदर्नी मैयाले कसरी भोज दिने ? के पकाउने ? के जान्ने ? कान्छा कुमार निन्याउरो भएर बसेका थिए । बाँदर्नी मैयाले लख काटिन् र भनिन्– ‘तपाईं निराश हुनु पर्दैन । म महाराजलगायत सबैलाई दंग पार्ने भोज दिन सक्छु । तपाईं भोजको सामग्रीको पनि चिन्ता नगर्नुस् । सबैको व्यवस्था गर्छु । तर म निस्केको रुखको टोड्कामा यो ‘चिनो’ लगेर हाल्दिनुस् । र एकैचोटी भोज खाने बेलामा आउनुहोला ।’
राजकुमारले श्रीमतीको निर्देशनअनुसार त्यही रुखको टोड्कामा उनले दिएको ‘चिनो’ राखिदिएर केही समय उतै यताउति घुमफिर गरे । साँझपख घर आउँदा छक्क परे । घर अत्यन्तै सुन्दर पाराले सजिएको थियो । थरीथरीका पकवान र भोजन थिए । भव्य भोज थियो ।
भव्यताको विस्तृत व्याख्या भने कथामा छैन । अहिले सोच्दा के लाग्छ भने अरू ६ भाइको सुन र चाँदीको थाल र कचौरा थिए होला । यी बाँदर्नी मैया प्राकृतिक परिवेशमा हुर्केकीले चिटिक्क परेको हरियो टपरी, बोहोता र दुनाहरू बनाएकी थिइन् कि । जे होस्, राजा–रानी लगायत राजकुमार र उनका श्रीमतीहरू बाँदर्नी मैयाको चाँजोपाँजो देखेर छक्क परे । त्योभन्दा पनि आश्चर्यजनक, बाँदर्नी त बाँदर्नी नै देखिएकी थिइनन् । एकदमै गतिलो, सुन्दर, परिष्कृत पोसाक लगाएर हिँडेकी थिइन् । सुषमा र सुरुचीमा सबैलाई उछिनेकी थिइन् ।
खाना–साना खाएर हिँड्ने बेलामा दाजुहरूले कान्छो राजकुमारलाई भनेछन्– ‘यो को हो ? यो त मायाविनी जस्तो छ । कतै बोक्सी त होइन ? हिजोसम्म झुस्स परेकी बाँदर्नीजस्ती, आज एकाएक यस्तो मोहिनी कसरी भइन् ? तिमीले यसको खोज–तलास गर । यसले हामीलाई छल पो गर्दै छ कि † कुनै किचकन्डी पो होकि ! तिमीले यसको भोटो (बाँदर्नीका रूपमा लगाइएको लबेदा) खोज ।’यसरी दाजुहरूले एक भएर भाइको मनमा विषालु शंका हालिदिए । ‘शंकाले लंका डढाउँछ’ भन्ने हाम्रो उखान नै छ । अब यी कान्छा कुमारले के डढाउने हुन् ?
दिनभरको त्यत्रो कामले थकित बाँदर्नी मैया मस्त निदाइन् । शंकाग्रस्त कान्छा कुमारका मनमा खुलदुली भइरह्यो । एकाएक यसको रूप कसरी बदलियो ? यत्रो बन्दोबस्त कसरी गरिन् ? उनी रातभर घरमै खोज–तलास गर्न थाले । त्यसरी खोज–तलास गर्दै जाँदा बाँदर्नीको भोटो एउटा कुनोमा भेटियो । साँझैदेखि शंकाग्रस्त कान्छा राजकुमार पूर्वाग्रहले ग्रस्त थिए ।
केही सोच–विचारै नगरी उनले त्यो भोटोमा आगो झोसे । भोटो सल्किन थाल्यो । जति भोटो सल्किँदै गयो, उति बाँदर्नी मैया छट्पटिन थालिन् । उसलाई पोल्न पो थालेछ । त्यो पीडालाई खप्न नसकी अइया–आत्था गर्दै उफ्रिन थालिन् । ढोका फोडेर वायुवेगले कुदिन् । राजकुमार पछ्याउँदै गयो । जाँदा–जाँदा अगाडि एउटा ठूलो अजङ्गको दह रहेछ । बाँदर्नी मैया त्यसै कुण्डमा हामफालिन् । हेर्दाहेर्दै बाँदर्नी मैया अलप भइन् । कान्छा कुमार किंकर्तव्यविमुढ भए । इन्तु न चिन्तु भएर बसिरहे ।
यो बाँदर्नी मैया भनेको को हो ? कान्छा राजकुमारले बाँदर्नीको भोटो डढाउने भनेको के हो ? बाँदर्नी मैया अलप भएर कहाँ गइन् ? कहिले आउँछिन् ? कि आउँदिनन् ? यी कुरा बाँकी कथामा अवश्य थपिएको छ । तर यो कथा कहिले, कहाँ र कुन परिवेशमा कसले कल्पना गर्‍यो ?
प्रत्येक समाजमा लामो समयदेखि विभिन्न जाति र प्रजातिहरूको बिहेवारी भइराखेका छन् । चीनलगायत देशहरूमा बाँदर्नी मैयाहरूको यस्तै मिल्दोजुल्दो कथा छ । कुनै तथाकथित ‘सभ्य’ राजपुत्रले सिकार खेल्न जाँदा त्यहीँ कुनै उद्दाम प्रकृतिकी छोरीसँग प्रेममा पर्नु आफैमा अनौठो होइन । मानिसको मौलिक जात भनेको जम्मा दुइटा हो, एउटा स्त्री र अर्को पुरुष ।
जात र जातीयताका अरू कुरा सर्वथा कृत्रिम हुन् । पुरुष र नारीका बीच दुर्नीवार आकर्षणले सृष्टि चलेको छ । यो आकर्षण नहुँदो हो त मनुष्य उहिल्यै लुप्त भइसक्थ्यो । तर यो सब बिर्सिएर यता आएर हाम्रो समाजमा जाति र वर्गका आधारमा पूर्वाग्रह उत्पन्न भएको छ । बाँदर्नी मैयाको कथा यसतर्फको संकेत पनि हो ।
हाम्रो समाज बाहुन, क्षत्री, ठकुरी, राई, गुरुङ, मगर, मधेसी, पहाडे आदि विभिन्न पहिचानमा बाँडिएको छ । यिनीहरूबीच अन्तरजातीय विवाह पनि भएको छ । यस्ता विवाहले समाजलाई अगाडि बढाएको छ । तर पनि यस्तो विवाह सधैं शंका र विरोधको सिकार भएको छ । स्वयम् मेरो परिवारमा एक होइन, अनेक अन्तरजातीय विवाह भएका थिए ।
मेरी एक ज्याआमा गुरुङ्नी हुनुहुन्थ्यो, बडो शालिन स्वभाव तथा दक्ष व्यक्तित्वकी श्वामिनी हुनुहुन्थ्यो । मेरा परपितामह कुलदीप गिरीले जीवनको वास्तविक संस्कार उनैबाट प्राप्त गर्नुभयो । तर ती महिलालाई आफ्नो मूलघर भने पुर्‍याउन सक्नुभएन । यस्ता तथाकथित अनमेल विवाहमा बाँदर्नी मैयाको कथाको पूर्वाभास थियो कि ?
बाँदर्नी मैयाको कथामा विविध सांस्कृतिक सम्मिश्रणको झल्को पाइन्छ । यो बाहेक पनि परम्परागत समाजमा बुहारीलाई पूर्वाग्रहका साथ हेर्ने अनुभव पनि भेटिन्छ । बुहारीको नियति बुझ्न ‘रूपमती’ पढ्नु पर्दैन । आफ्नो घरमा पुलपुलिएर हुर्केकी छोरी जब बुहारीको भूमिकामा जान्छिन्, उनको दशा के हुन्छ ? बुहारीबारे नेपाली समाजमा उखान छ– नौली बुहारीको नौपुला घाँस, बस्दै जाँदा जगल्टाको नाश । हाम्रो समाजमा बुहारीको नियति एउटा र छोरीको नियति अर्को हुन्छ । छोरी पवित्र हुन्छे ।
उसको बारेमा कुनै नकारात्मक कुरा सोच्न सकिँदैन । बुहारीका बारेमा सकारात्मक कुरा सोच्न गाह्रो छ । तसर्थ बाँदर जातिकी छोरी, पहिरनसमेत बेग्लै भएको एक्कासी नयाँ घरमा आउँदा त्यस घरमा चल्दै आएको चलनबारे केही थाहा हुँदैन । खानाको परिकार, भोजनको स्वाद आदि केही थाहा हुँदैन । तर उसले देखेको–सिकेको भोजन यहाँ मान्य हुँदैन । चोखो र बिटुलो अलग–अलग छन् । गर्न हुने र नहुने कुरा बेग्लै छन् । ‘पानी खानु मूलको बिहे गर्नु कुलको’ भन्ने हाम्रो समाजमा उखानै छ । यो कथा यस उखानका विरुद्ध उभिएको छ ।
रुखको टोड्काबाट ल्याइएकी बाँदर्नी मैयाको योग्यता, सीप, बनाएको परिकार, लुगाफाटो राजपरिवारमा स्वीकृत भएन । उनको उपहास भयो । उनको योग्यता शंकास्पद भयो । उनलाई बोक्सी र परचक्री भनियो, राम्रो नजरले हेरिएन । त्यतिले नपुगेर उनको भोटोसमेत डढाइयो । अर्को शब्दमा भन्दा उनको परिचय, अस्मिता, पहिचान नै नष्ट पारियो । नयाँ परिचय, अस्मिता, पहिचान थोपर्ने कोसिस गरियो । उनलाई लुगा फेर्न विवश गराइयो,बोली परिवर्तन गराइयो । प्रत्येक नौली बुहारीले नयाँ घरमा जाँदा, खासगरी विभिन्न सांस्कृतिक परिवेशभएको घरमा जाँदा यो भोगेको हुनुपर्छ । निश्चय पनि कथाकारले यो कथा कथ्दा नयाँ बुहारीको नियतिलाई ध्यानमा राखेको थियो ।
तत्काल कथाकारले अनुभूतिजन्य एउटा अर्को कुरो लेखेको छ । दाजुहरूले उचाले होला । तर एउटै ओछ्यान सुत्दै आएकी त्यत्रो योग्यता भएकी श्रीमतीलाई ‘तिमीले कसरी यत्रो चमत्कार गर्‍यौ’ भनेर नसोधी उनको भोटो खोज्ने र डढाउने काम किन गर्‍यो, त्यो कान्छो कुमारले ? अनेकन कथाकारले पति र पत्नीको यस किसिमको गलतफहमीका बारेमा कथा लेखेका छन् । शेक्सपियरको प्रसिद्ध नाटक ‘ओथेलो’ यस्तै शंकामा आधारित छ । यता आएर ‘ओथेलो’को हिन्दी रूपान्तरणको सिनेमा पनि बनिसकेको छ– ओमकारा । कान्छो कुमार लगभग ओमकारा हुन पुग्यो ।
बाँदर्नी मैयाको कथाको दोस्रो भागले पति र पत्नीको सम्बन्धका विषयमा टिप्पणी गरेको छ । हाम्रो विवाहको एउटा खास किसिमको परिपाटी छ । विवाहमा मन्त्र पढिन्छ । बाँदर्नी मैयासँग औपचारिक रूपले विवाह भयो–भएन लेखेको छैन । तर राजाको दरबारमा आइसकेपछि भयो होला । विवाहको मन्त्र पनि पढियो होला । विवाह मण्डपमा वर–वधुले सातखेप अग्निको प्रतिक्षणा गर्दा मन्त्र पढिन्छ । त्यस्ता मन्त्रमा पारस्परिक विश्वास, आजीवनको मैत्रीको प्रतिज्ञा सामेल रहन्छन् ।
विवाहमा बेहुला–बेहुलीलाई बीचमा गाँठो पारेर एउटा कपडाद्वारा बाँधिन्छ । त्यसरी गाँठो पार्नुको अर्थ हो, अब तिमीहरू दुई दिशामा जान खोज्यौ भने यो गाँठो झन् कसिन्छ । हामीबीच कुनै कुरा लुकाइनेछैन । आजैदेखि मेरो सम्पत्ति तिम्रो र तिम्रो सम्पत्ति मेरो हो आदि तर यो राजकुमारले आफ्नी पत्नीलाई तिम्रो वास्तविक रहस्य के हो भनेर सोध्न पनि भ्याएन ।
बाँदर्नी मैया अलप भएपछि कान्छो राजकुमार खुबै यत्रतत्र भौंतारियो । धेरै दिनपछि एउटा जोगी भेटिए । ती जोगीलाई राजकुमारले आफ्नो इतिवृत्तान्त सुनायो । जोगीले भनेछ– ‘सबै समाजको नियम–कानुन बेग्लाबेग्लै हुन्छ । तिमीले भनेको बाँदर्नीको आफ्नै जाति–प्रजाति छ । बिस्तारै सबै ठीक भएर जान्थ्यो । आत्तिएर उनको भोटो डढाउनेतिर लागेछौ । तिमीले ठूलो गल्ती गर्‍यौ ।’राजकुमारले चित्कार्दै जोगीलाई भनेछ– ‘म तिनलाई कसरी भेट्न सक्छु ? आफ्नो प्रायश्चित्त कसरी गरूँ ?’
जोगीले भनेछ– ‘तिनी आफ्नो बाउ–आमाकहाँ छिन् । आगाले जलेर मर्ने र बाँच्ने दोसाँधमा छिन् । यो मलम तिनको जीउमा लगाइदियौ भने तिनी पहिलेजस्तै स्वस्थ हुन्छिन् तर त्यहाँ जान एकदमै असम्भव छ ।’
तर कथामा असम्भव फेरि सम्भव हुन्छ । एउटा अर्को जोगीले उनलाई उड्ने खराउ दिए । अर्काले लड्ने तलबार दिए । यस्तै विभिन्न अप्रत्यासित ठहर र बहरबाट राजकुमारले सहायता पाए । ग्रिक दन्त्यकथामा साइकी र एफ्रोदितको कथा छ । सासू–बुहारी भएका ती महिलाद्वयको पेचापेच छ । सासूको पेलानमा परेकी बुहारीलाई कमिला, चराचुरुङ्गी र खोलानालासमेतले सघाउँछन् । नेपाली दन्त्यकथामा भने जोगीहरूको बाक्लो उपस्थिति छ । जे होस्, राजकुमारले आफ्नी पत्नीलाई फेरि फिर्ता पायो ।
विवाहमा भनेजति दाइजो नल्याएकामा मट्टितेल हालेर डढाइएका बुहारी आज पनि हाम्रो समाजमा सुनिन्छ–देखिन्छ । यस्तै महिलाको अवस्थामा बाँदर्नी मैया पुगेकी थिइन् । एकातिर बाँदर्नी मैयाको पोलिएकोभोटोले दाइजो र इज्जतका अभावमा पोलिएका नवविवाहितातिर संकेत गर्छ । अर्कोतिर मनुष्यको जीवनमा चमत्कार हुन्छ भन्ने मान्यता र उदाहरणले कथालाई सुखान्त बनाउँछ ।
प्रत्येक दन्त्यकथा कुनै न कुनै रूपमा चमत्कारमा विश्वास गर्छ । तथाकथित वैज्ञानिक युगमा हामीलाई चमत्कारमा विश्वास छैन, आस्था पनि छैन । तर मानवजाति चमत्कार र आस्थाबिना जीवित रहन सक्छ ? जीवित भए पनि जाग्रत रहन सक्छ ? बाँदर्नी मैयाको कथाले यस्ता प्रश्नलाई उठाएको छ ।
बोधविक्रम अधिकारी यस कथाका संकलक मात्र रहनुभएको हुन सक्छ । यस्ता कथा हरेक संस्कृतिमा पाइन्छन् । बाँदर्नी मैयाको यो कथा चिनी लोककथामा पनि केही फरकका साथ भेटिन्छ तर बोधविक्रम अधिकारीले मेरो सिंगो पुस्तालाई अत्यन्त सरस शैलीमा यो कथा पढाउनुभयो । उहाँको गुन तिरिनसक्नु छ ।

(कान्तिपुर दैनिकबाट साभार)