१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको एकवर्षे कार्यकाल : यस्ता छन् दाबी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एकवर्षे कार्यकालमा सरकारले आर्थिक समृद्धिको आधार खडा गरेको दाबी गरेका छन् । सरकार गठनको एक वर्ष पुगेको अवसरमा बिहीबार सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै ओलीले अहिलेसम्म गरेका कामले आर्थिक समृद्धिको यात्राको आधार खडा भएको बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

मन्त्रीहरू, मुख्यसचिव, सरकारका उच्च अधिकारीको उपस्थितिमा करिब एक घन्टा सम्बोधन गरेका प्रधानमन्त्रीले आफ्नो दाबी पुष्टि गर्न विगतदेखिका सूचकांक प्रस्तुत गर्दै केही नयाँ कामका सूची पनि पेस गरे ।

कर्मचारी समायोजन

प्रधानमन्त्रीले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ६ सय ८५ र स्थानीय तहमा ६६ हजार ७ सय ६६ सहित १ लाख ३७ हजार ३ सय ७१ कर्मचारी दरबन्दी कायम गरेर कर्मचारी समायोजनको अधिकांश काम पूरा गरेको दाबी गरेका छन् ।

लगानीमैत्री वातावरण सिर्जना

श्रम कानुनमा परिमार्जनसहित लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक विभिन्न १३ ऐन–नियम, निर्देशिका निर्माण, परिमार्जनको प्रक्रिया अघि बढाइएको दाबी छ । अन्तर्राष्ट्रिय लगानीकर्तालाई समेत लगानीका लागि आह्वान गरिएको, प्रधानमन्त्रीको अध्यक्षतामा उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद् गठनलाई उपलब्धिका रूपमा वक्तव्यमा उनले उल्लेख गरे ।

ऊर्जामा दूरगामी निर्णय

ऊर्जाको क्षेत्रमा ऊर्जा बैंकिङलगायत दूरगामी प्रभाव पार्ने निर्णय र सम्झौता भएको दाबी गरेका छन् । करिब ३ लाख विद्युत् उपभोग गर्ने ग्राहक थपिएको र प्रतिव्यक्ति विद्युत् खपत १७७ किलोवाट घन्टाबाट बढेर २०० किलोवाट घन्टा पुगेको दाबी गरेका छन् । माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाको काम अन्तिम चरणतर्फ पुगेको, अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको तथा भेरी–बबई डाइभर्सन आयोजनाको यस एक वर्षमा ८ किलोमिटर सुरुङ निर्माण भएको बताए ।

४९७ किमि नयाँ सडक निर्माण

यस वर्ष मात्रै ४९७ किलोमिटर नयाँ सडक निर्माण भएको, ५८९ किलोमिटर ग्रामीण सडकको स्तरोन्नति सम्पन्न भएकोमा २२१ किमि कालोपत्रे गरिएको दाबी छ । तुइन विस्थापन अभियान अन्तिम चरणमा पुगेको बताए ।

उद्योगमा २ खर्ब ४९ अर्बको लगानी प्रस्ताव

दर्ता भएका ४ सय ९९ नयाँ नेपाली उद्योगले १ खर्ब ९८ अर्ब तथा ४ सय १६ विदेशी उद्योगले ५१ अर्ब ८३ करोडसहित कुल २ खर्ब ४९ अर्ब ८३ करोड लगानीको प्रस्ताव गरेको प्रधानमन्त्रीको दाबी छ ।

सुक्खा बन्दरगाह र जनतालाई विद्युत्को सेयरधनी कार्यक्रम

प्रधानमन्त्रीले बिहीबार उद्घाटन गरेको ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रममार्फत जनतालाई विद्युत्को सेयरधनी बनाउने योजना तथा गत महिना चोभारमा सुक्खा बन्दरगाह शिलान्यासलाई पनि उपलब्धिका रूपमा अथ्र्याएका छन् ।

टिकट काटेर जहाज चढ्न मै खबर गर्छु

प्रधानमन्त्रीले टिकट काटेर पानीजहाज चढ्ने दिन आउने र आफैँले खबर गर्ने दाबी गरेका छन् । पानीजहाज र रेल योजनाको आलोचना गर्नेलाई व्यंग्य गर्दै भने, ‘हवाईजहाजले यस धर्तीलाई परिक्रमा गरेकोगर्या छ । समुद्रमा जहाज कुदेकोकुदै छ, नदीहरूको बाटो हुँदै तिनीहरूले फन्को मारी नै रहेका छन् । हामी पनि चलाऊँ भन्दा सपना मात्रै किन ठानिन्छ ? के यी हाम्रा योजना, नारायणगोपाल–अरुणा लामाले गाएको गीत जस्तो– ‘ त्यो तारा मात्रै हैन, जुन पनि झारी दिउँला’ भनेजस्तो हो र ?’

मैले सत्ता सम्हालेपछि के–के नकाम भए ?

प्रधानमन्त्रीले आफूले सत्ता सम्हालेपछि कुनै नराम्रो काम गरेको भए छातीमा हात राखेर सत्य बताउन जनतालाई भनेका छन् । ‘छातीमा हात राखेर आफैँलाई सोध्नुस्, पहिलेका तुलनामा तपाईंले चुन्नुभएको यो प्रधानमन्त्रीले सत्ता सम्हालेपछि तपाईंहरूको जीवन कष्टकर हुने नकाम के–के भए ?’ उनले प्रश्न गरे ।

भ्रष्टाचार नियन्त्रणमा कठोर बनेको दाबी

भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर बनेको दाबी पुष्टि गर्न प्रधानमन्त्रीले केही तथ्यांक प्रस्तुत गरे । राजस्व चुहावटका ४९ र विदेशी विनिमय अपचलनका ३३ गरी ८२ मुद्दामा ८ सरकारी कर्मचारीसहित ९९ व्यक्तिमाथि मुद्दा दायर गरेको बताए । उनीहरूसँग ७ अर्ब ६२ करोड ८२ लाख ५२ हजार रकम बिगो र जरिवाना मागसहित मुद्दा चलाएको दाबी छ । त्यस्तै, अवैध हुन्डी कारोबारमा संलग्न ३३ जनालाई ५ अर्ब ९१ करोड ६ लाख ९६ हजार बिगो कायम गरी त्यसको तेब्बर जरिवाना र ३ वर्षसम्मको कैद मागदाबीसहित मुद्दा दायर गरिएको जनाए । अवैध सुन तस्करीको भयावह आपराधिक मनोवृत्ति र अपराधको शृंखलामा संलग्न अपराधीहरूको संगठित सञ्जाल ध्वस्त पार्ने कार्यले ठूलो सफलता पाएको बताए ।

‘मैले घोषणा गरेको छु– म आफू भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ,’ प्रधानमन्त्रीले भने, ‘कसैले यसलाई भन्नका लागि भनेको ठानेको छ भने त्यसले गल्ती गर्दै छ । बुझे हुन्छ– भ्रष्ट र भ्रष्टाचारका सन्दर्भमा म मुखमा पानी हालेर बोलिरहेको छैन ।’

आर्थिक वर्षसम्म ७ प्रतिशत आर्थिक वृद्धिदर

चालू आर्थिक वर्षको ६ महिनामा आर्थिक वृद्धि ६.७ प्रतिशत रहेको र अन्त्यसम्म ७ प्रतिशतभन्दा माथि हुने प्रधानमन्त्रीको दाबी छ । आर्थिक वर्षको ६ महिनामा औसत महँगी ४.२ प्रतिशतमा सीमित रहेको तथ्यांक पनि प्रस्तुत गरे । यस्तै, पर्यटक आगमन ३२.५ प्रतिशतले बढेको उनको भनाइ छ । बाघको संख्यामा वृद्धि भएपछि संसारका १५ प्रमुख पर्यटकीय गन्तव्यमा नेपाल पर्न सफल भएको बताए ।

श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशतले वृद्धि गरिएको, सामाजिक सुरक्षाका कार्यक्रम सुरु भएपछि रोजगारदाताका ९ सय ५० प्रतिष्ठान दर्ता भएको, श्रमिकअनुकूल औद्योगिक वातावरण निर्माण हुँदै गएकाले बन्द–हडतालको स्थिति अन्त्य भएको प्रधानमन्त्रीको दाबी छ ।

प्रधानमन्त्री रोजगारको विरोध गर्ने परिश्रमविनाको पारिश्रमिक पाउने झुन्ड

प्रधानमन्त्री रोजगार कार्यक्रम उद्घाटनलाई उपलब्धिका रूपमा अथ्र्याउँदै उनले काम गर्छु भन्नेलाई सहुलियतपूर्ण ऋण तथा ब्याज अनुदान उपलब्ध गराउने कार्यक्रम सुरु गरेर ७ विधामा ३ लाखदेखि ५ करोडसम्म ऋण प्रवाह सुरु गरेको बताए । रोजगार कार्यक्रमको विरोध गर्नेलाई प्रधानमन्त्रीले भने, ‘फेरि पनि केही हल्ला त रहिरहनेछ । यस्तो हल्ला गर्नेहरू रोजगारविनाको रोजगारी र पारिश्रमविनाको पारिश्रमिक पाउने झुन्ड मात्रै हुन् ।’

समयमै पाठ्यपुस्तक, १ सय १ स्थानीय तहमा प्राविधिक शिक्षालय

विद्यार्थी भर्ना अभियान उत्साहजनक रहेको दाबी गर्दै उनले देशभरका १ सय २० स्थानीय तहले विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालयबाहिर नरहेको घोषणा गरेको बताए । १ सय १ स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना भइसकेको तथ्यांक पेस गरे । गत वर्षजस्तै नयाँ शैक्षिक सत्रअगावै सबै विद्यालयमा पाठ्यपुस्तक पुर्याइसक्ने घोषणा पनि गरे ।

यस्तै, सबै स्थानीय तहसम्म ब्रोडब्यान्ड कनेक्टिभिटी विस्तारका क्रममा अहिलेसम्म १ हजार ३ सय ७१ वटा वडा कार्यालय, १ हजार ४ सय ६० वटा सामुदायिक माध्यमिक विद्यालय र १ हजार ६३ वटा स्वास्थ्य केन्द्रमा दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट सेवा जडान गरिएको उल्लेख गरे ।