२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हिन्दु विरुद्ध बोल्ने मन्त्रीलाई हटाए



अ+ अ-

पाकिस्तान । पाकिस्तानको पंजाब प्रान्तको सूचना तथा संस्कृति मन्त्री फैयाज अल हसन चौहानलाई हिन्दुमाथि दिएको आपत्तिजनक बयानपछि पदबाट हटाएका छन् ।

पंजाबका मुख्यमन्त्री सरदार उस्मान बुजदारले फैयाज चौहानको यो बयानपछि स्पष्टिकरणका लागि बोलाएका थिए । त्यसपछि उनले आफ्नो राजीनामा दिएका छन्।

मुख्यमन्त्रीको तर्फबाट जारी बयानमा इमरान खानको नेतृत्व भएको पाकिस्तान तहरिक–ए–इंसाफ पार्टीमा कुनै प्रकारको भेदभाव सहन नसकिने बताइएको छ ।

चौहानले हिन्दुलाई गाईको मूत्र पिउने बताउँदै भारत पाकिस्तानको प्रतिस्पर्धा गर्न नसक्ने बताएका थिए ।

यो बयानको भिडियो सार्वजनिक भएपछि उनको चर्को आलोचना भइरहेको थियो ।

पाकिस्तानको सोसल मिडियामा #SackFayazChohan र #Hindus टप ट्रेन्डमा रहे ।

उनको बयानपछि सोसल मिडियामा मात्रै नभई पाकिस्तान तहरिक–ए–इंसाफ पार्टीका नेताले पनि उनको आलोचना गरेका थिए ।

चौहानले फेब्रुअरी १४ मा लाहोरको एक कार्यक्रमका बेला यो विवादित बयान दिएका थिए तर यसको भिडियो क्लिप सोमबार भाइरल भयो ।

प्रधानमन्त्री इमरान खानको राजनीतिक मामलाका सल्लाहकार नईमुल हकले एक ट्वीटमा पीटीआई यस्तो बकवास सहन नसक्ने बताएका छन् ।

उनले एक ट्वीटमा भने, ‘हिन्दु समुदायविरुद्ध पंजाबका सूचनामन्त्री फैयाज चौहानको आपत्तिजनक बयानमा कडा कारवाही हुनुपर्छ । मुख्यमन्त्रीसँग सल्लाह लिएपछि उनीमाथि कारवाही हुनेछ ।’

यस्तै, पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसले ट्वीटरमा लेखे, ‘पाकिस्तानी झण्डामा जुन गर्वसहित हरियो रंग समावेश छ त्यसै गर्वसँग सेता रंग पनि छ जसले हिन्दु समुदायको योगदानको सम्मान गर्छ । ’

यस्तै, मानवाधिकार मामलाकी मन्त्री शिरिन मजारीले पनि चौहानको आलोचना गर्दै ट्वीट गरिन्, ‘म यसको घोर भर्त्सना गर्छु । कसैको धर्ममाथि हमला गर्ने अधिकार कसैसँग पनि छैन । हाम्रा हिन्दु नागरिकले आफ्नो देशका लागि बलिदान दिएका छन् । हाम्रो प्रधानमन्त्रीको सन्देश सहिष्णुता र सम्मानयुक्त छ र हामी कुनै पनि घृणालाई बढ्न दिँदैनौं ।’