२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराईमा ‘जनअभिमत’ भनेको के हो ? सरकारको जवाफ चाहियो– डा.महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले हिजो सिके राउतसँग गरेको सहमतिको विषयमा नेपाली काँग्रेसको गम्भीर आपत्ति रहेको स्पष्ट गरेका छन् ।

सो सहमतिपछि स्वयं सिके राउतले नै सरकार तराईको विषयमा जनमत संग्रहको लागि तयार भएको भन्दै भाषण गरेका छन् तथा सरकार र उनीबीच भएको सम्झौतामा पनि ‘जनअभिमत’ भन्ने शब्द प्रयोग भएको छ भन्दै डा.महतले भने– यो के भनिएको हो, त्यसको जवाफ नेपाली जनतालाई चाहियो ।

नेपाल वित्तीय संस्था कर्मचारी संघको भेलालाई आज सम्बोधन गर्दै सहमहामन्त्री डा.महतले भने– के तराईको विषयमा सरकार जनमत संग्रहका लागि तयार भएको हो ? अथवा त्यो जनअभिमत शब्दले के भन्न खोजेको हो भन्ने बारेमा स्वयं प्रधानमन्त्री र सरकारले नेपाली जनतालाई स्पष्ट गरुन्, आफ्नो धारणा सार्वजनिक होस् ।

नेपाली काँग्रेस सधैँ शान्ति, समृद्धि तथा राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा रहेकाले यस्ता विषयमा हुने सहमति र सम्झौताको विरोधी कहिल्यै नरहेको स्पष्ट गर्दै तर यो अकस्मात राउतसँगको सहमति केका लागि आयो ? सरकारले देखिने गरी नै त्यो जनअभिमत शब्दको प्रयोग गरेर किन सहमति गर्नु परेको हो ? अकस्मात तराईमा जनमत संग्रहको कुरा किन र कसरी आयो ? यी यावत विषयमा काँग्रेसको गम्भीर आपत्ति र आशंका छ, सरकारले स्पष्टसँग जवाफ दिनुपर्छ, अन्यथा काँग्रेस चुप लागेर बस्दैन– डा.महतले भने ।

यो सम्झौता सरकारले बडो षडयन्त्रपूर्ण र जालझेलपूर्ण रुपमा गरेको गम्भीर आशंका काँग्रेसलाई भएको धारणा पनि उनले राखे । उनले यो सरकारका कारण नेपालको कूटनीतिक सम्बन्ध अत्यन्तै कमजोर र धरासायी बन्दै गएको तर्क राखे ।

देशलाई यतिखेर जबर्जस्त उल्टो बाटोमा हिडाउन खोजिएको, आर्थिक अवस्था झन् कमजोर हुदै गएको, वैदेशिक लगानीको मात्र घट्दै गएको र श्रमिक बर्गको सुरक्षा सरकारको भाषण या प्रचार गर्ने विषय मात्र भएको आरोप उनको थियो ।