६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा तीन करिडोर निर्माण, सवारी आवतजावतमा सहज



अ+ अ-

काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ट्राफिक प्रहरीले तीनवटा करिडोर सञ्चालनमा ल्याएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याएको हो ।

करिडोर सञ्चालनमा आएसँगै ठूला तथा साना सवारी साधन करिडोर हुँदै आवतजावत गर्न थालेपछि सवारी आवतजावतमा सहज हुनाका साथै दुर्घटनामा कमी आएको महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिए ।

महाशाखाले हालसम्म सुकेधारा, गौशालाचोक, धुम्बाराही, चप्पलकारखाना र शङ्खपार्कमा आठवटा जेब्राक्रसिङ निर्माण, चाबहिल र सुकेधारामा स्टप लाइन निर्माण, दुई हजार ६७० मोटरसाइकल तथा स्कुटरलाई ट्राफिक सचेतना कक्ष सञ्चालन गरिसकेको छ ।

यस्तै ५०१ प्रदूषण फेल भएका सवारी साधनलाई कारवाही, चावहिलदेखि सुकेधारासम्म सडकको बीच भागमा लाइन निर्माण तथा नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, कोटेश्वरदेखि गौशालासम्म, थापाथलीदेखि सोल्टीमोडसम्म र लाजिम्पाट क्षेत्रका फुटपाथ हटाइएको महाशाखाले जनाएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३२ लाख सवारी साधन सञ्चालनमा रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् ।