चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरको पठनपाठन एक महिनादेखि ठप्प भएको छ ।
गत चैत २१ गते विश्वविद्यालयका सहायक डिनमाथि ४ दिनमा नै कोर्ष सिध्याएको, प्रयोगात्मक कक्षामा डेढ सय जना विद्यार्थी राखेको, राजनीतिक आस्थाका आधारमा अंक दिने गरेको आरोप लगाउँदै कालोमोसो र जुत्ताको माला लगाएपछि विश्वविद्यालयको पठनपाठन ठप्प भएको हो ।
विश्वविद्यालय कार्यकारी परिषद्को बैंठकले कृषि संकायका सहायक डिन प्रा. विष्णु ओझा माथि कालोमोसो र जुक्ताको माला लगाउने छ जना विद्यार्थीलाई निष्कासन गर्ने निर्णय गरेको थियो ।
विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिका अनुसार ओझालाई कालोमोसो दल्ने विद्यार्थीलाई कडा कारवाहीको माग गर्दै प्रजातन्त्रवादी प्राध्यापक सङ्घले आन्दोलन जारी राखेको छ ।
प्राध्यापकहरुले मुख्य कार्यालयमा तालाबन्दी गरेका छन् । विद्यार्थीलाई कालोमोसो दलेको भन्दै निष्काशन गरेपछि अनेरास्ववियुले विश्वविद्यालयमा तालाबन्दी गरेको थियो ।
निष्कासनमा पर्ने विद्यार्थीहरुमा गोपाल थापा, बामदेव रेग्मी, मिलन चौहान, सन्तोष खतिवडा, विभोर गौली र सुशन पौडेल रहेका थिए । उनिहरु छैटौं समेष्टरका विद्यार्थी थिए । उनिहरु ६० दिनका लागि निष्कासन भएका थिए ।
गएको असार २० गतेबाट विद्यार्थी र प्राध्यापकले आन्दोलन जारी राख्दा विश्वविद्यालय प्रभावित बनेको छ । यसै क्रममा कालोमोसो प्रकरण थपिएपछि विश्वविद्यालय अस्तव्यस्त बनेको हो । विगत एक वर्षमा आधा समय पनि विश्वविद्यालय नखुलेको जनाइएको छ ।